आर्थिक गणनामा साढे तेह्र लाख प्रतिष्ठान सूचीकृत
gorkhapatraonline.com · Tue Jun 23 00:41:39 GMT 2026

राष्ट्रिय आर्थिक गणना, २०८२ मा साढे १३ लाखभन्दा बढी प्रतिष्ठान सूचीकृत भएका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार पत्रकार सम्मेलन गरेर दोस्रो ‘राष्ट्रिय आर्थिक गणनामा कुल १३ लाख ५१ हजार १६७ वटा व्यावसायिक प्रतिष्ठान सूचीकृत भएको जानकारी दिएको हो ।
अघिल्लो आर्थिक गणना, २०७५ को तुलनामा यस पटक प्रतिष्ठानको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएको छ । २०७५ सालको पहिलो गणनामा नौ लाख २३ हजार ३५६ प्रतिष्ठान मात्र समेटिएका थिए । यस पटक १३ लाख ४४ हजार पाँच सय प्रतिष्ठानले कागजी प्रश्नावलीमार्फत र छ हजार ६६७ ले इसेन्सस (अनलाइन) मार्फत आफ्नो विवरण उपलब्ध गराएको कार्यालयले जनाएको छ । आगामी छ महिनाभित्रमा आर्थिक गणनाको पूर्ण नतिजा सार्वजनिक गर्ने कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेले औपचारिक र अनौपचारिक क्षेत्रका प्रतिष्ठानलाई गणना गरिएको जानकारी दिनुभयो ।
कार्यालयका अनुसार गणनाको स्थलगत कार्यमा खटिएका करार सेवाका गणक र सुपरिवेक्षकको सोमबारदेखि समय सकिँदै छ । यस्तै जिल्लास्थित आर्थिक गणना कार्यालय पनि असार मसान्तसम्ममा बन्द हुने तयारीमा छन् ।
तथ्याङ्क कार्यालयले अझै पनि गणनामा छुट भएका वा आंशिक विवरण मात्र भरेका प्रतिष्ठानलाई सम्बन्धित जिल्ला कार्यालयमा सम्पर्क गरी विवरण बुझाउन आह्वान गरेको छ । राष्ट्रिय आर्थिक वर्ष वैशाख २ गतेदेखि सुरु भएको थियो ।
आर्थिक गणनाबाट उद्योग, व्यापार, सेवा क्षेत्र, निजी तथा सार्वजनिक सङ्घ संस्थाको सङ्ख्या, भौगौलिक वितरण, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण सङ्कलन गर्ने मुख्य उद्देश्य रहेको छ । आर्थिक गणनामा तीन हजार ९०७ गणक र ५२६ सुपरिवेक्षक परिचालन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)