मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

विजय मल्लका कृतिमा प्राज्ञिक मत

ratopati.com · Sat May 30 05:14:39 GMT 2026

विजय मल्ल राजनीतिज्ञ थिए । राजनीतिमा समर्पित हुँदा पनि उनले साहित्य रचना गर्न छाडेनन् । २०१७ सालमा राजा महेन्द्रको कदमपछाडि उनी राजनीतिमा कहिले घुस्रेनन् । त्यसपछि उनले साहित्यलाई मात्र आफ्नो जीवनपद्धति ठाने । त्यसै मार्गमा हिँडेर नै उनी नेपाली भाषासाहित्यका महारथी भए । महारथी मात्र नभएर उनी अमर प्राज्ञमा समेत नामाङ्कित भए । त्यसैले उनको सिर्जनात्मक कृति र व्यक्तित्वबारे सर्वत्र चर्चा पनि चलेकै थियो, चलेकै छ र चलिरहने नै पनि छ ।

विजय मल्लले नाटकको रचनामा जति प्रसिद्धि पाए पाठकका लागि उनका कथा त्यति नै सानदार मानिन्थे । उनको कथालेखनको स्तरबारे नेपाली भाषा साहित्यका जगत्गुरु मानिएका ईश्वर बरालले नै लेखेका छन्– ‘१९९९ सालदेखि वर्णनात्मक इतिवृत्तात्मक कथामा घटना संयोजन परिस्थितिजनित कार्यव्यापार संलग्न चरित्रका मानसिक द्वन्द्व तथा अन्तरमन्थनतिर लाग्ने नवीन कथाकारहरूका दलमा विजयबहादुर मल्लले विशिष्ट स्थान प्राप्त गरे ।’

यो पनि

विजय मल्लको राजकीय प्रज्ञाप्रतिष्ठानमा संलग्नता

विजय मल्लका नाटक र चलचित्र

विजय मल्लको साहित्यिक यात्रा

विजय मल्लको राजनीतिक जीवन

विजय मल्लको व्यक्तित्व

विजय मल्लको स्त्रीमोह, पत्नी र छोरीहरू

बहुमुखी विजय मल्लको जन्म, बाल्यकाल र शिक्षा

विजय मल्लका बुबाको कथा

विजय मल्ल र नरेन्द्रराज प्रसाई को–कस्ता हुन् ?

विजय मल्ल के हुन्, कुन हुन् र कस्ता लेखकसित दाँजिने स्रष्टा हुन् भन्ने बेहोराको ज्ञाता महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी पनि एक हुन् । डा. साधना पन्त ‘प्रतीक्षा’ कृत ‘नारीवादी नाटककार विजय मल्ल’ नामक समालोचनात्मक ग्रन्थ (२०८२) मा महासमालोचक प्रा. त्रिपाठीले मल्लको व्यक्तित्व र कृतित्वका बारे लेखेका छन्–

‘विजय मल्ल नेपाली साहित्यका सबैजसो प्रमुख विधाका बहुआयामिक मूर्धन्य स्रष्टा हुन् र उनका विधागत रचनाहरूमध्ये कविताका साथै विशेष गरी गद्याख्यान (कथा र उपन्यास) तथा नाटकका विधागत रचनामा उनी विशेष प्रतिष्ठित रहेको र नाटक (एकाङ्की नाटक भनिने लघु नाटकसँगै पूर्णाङ्की पनि भनिने खास नाटक) का रचनामा उनी नेपाली नाट्यसम्राट् बालकृष्ण समपछिका पुस्ताका र यथार्थवादी प्रकृतवादी नाट्यस्रष्टा गोपालप्रसाद रिमाल र गोविन्द गोठालेका अनुपुस्ताका अनि मनःसामाजिकीय र प्रतीकवादी एवं विसङ्गतिवादी अस्तित्ववादी तथा नवाधुनिक/उत्तराधुनिक नाट्यका समेत प्रयोक्ता तथा अद्वितीय स्रष्टा नाटककार हुन्– महान् समका महान् सृजनात्मक नाट्यउत्तराधिकारी भन्नुपर्ने ।’

उनी अगाडि लेख्चन्, ‘नेपाली साहित्यिक बहुविधागत समष्टि सन्दर्भमा मोटामोटी पर्यवलोकनका आधारमा भन्दा आधुनिक नेपाली साहित्यका पूर्वार्धीय स्वर्णयुगका निर्माता अनेक महान् स्रष्टाहरूमध्येका आधुनिक नेपाली साहित्यका क्रमिक प्रवर्तनकारी महान् रचयिता लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटाजस्ता सुप्रतिष्ठित त्रिरत्नपछिका पुस्ताका उत्तरवर्ती जोर त्रिरत्नमध्ये माधव घिमिरे, भवानी भिक्षु र विजय मल्ल पनि पर्छन्– विश्वेश्वरप्रसाद कोइराला, पारिजात र इन्द्रबहादुर राईसँगै । यिनैमध्येका नेपाली महान् स्रष्टा विजय मल्लका खास गरी गद्यविधाका निकै कृतिमा यथार्थपरक नारीसमस्या विषयक सन्दर्भहरूले उल्लेख्य अग्रस्थान लिएको देखिन्छ । उनका साहित्य सृजनाका जगत्अन्तर्गत कवितापछि आख्यान अनि आख्यानलाई उछिन्दै नाट्यविधा यस दृष्टिले बढी नारीपरक मनःसामाजिकी र अस्तित्वका सवालहरूतर्फ विशेष उन्मुख छ ।’

विजय मल्लको साहित्यिक योगदानको सर्वत्र मूल्याङ्कन भएको पनि छ । उनको योगदानलाई नेपाल सरकार र नेपाल प्रज्ञाप्रतिष्ठानले वास्ता नगरे तापनि प्राज्ञिक जनलहर उनैको सेरोफेरोमा घुमेको छ ।

विशिष्ट बौद्धिक स्रष्टा विजय मल्ल भन्नु नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाले जस्तै बहुआयामिक सिर्जनात्मक योगदान गर्ने अमर व्यक्तित्व हुन् । उनको लेखनकलाबारे राजनारायण प्रधानले भने– ‘विजय मल्ल नाटक, कथा र उपन्यास लेखनका नेपाली हर्कुलस हुन् ।’

विजय मल्लको साहित्यिक योगदानको सर्वत्र मूल्याङ्कन भएको पनि छ । उनको योगदानलाई नेपाल सरकार र नेपाल प्रज्ञाप्रतिष्ठानले वास्ता नगरे तापनि प्राज्ञिक जनलहर उनैको सेरोफेरोमा घुमेको छ । बहुआयामिक व्यक्तित्वका धनी विजय मल्लको नाट्यकारिताका विषयमा उनी झनै प्रसिद्धिको धुरीमा उभिएका हुन् ।

विजय मल्ल लेखनकलाका सुन थिए । उनी साँच्चैका स्रष्टा थिए । भनौँ उनको मनै सिर्जना थियो, उनको तनै सिर्जना थियो र उनको मस्तिष्क नै सिर्जना थियो । उनी लेखेर रुने गर्थे, हाँस्ने गर्थे र त्यसपछि आफ्ना रचना अरूहरूलाई पनि सुनाउने गर्थे । उनको लेखनीका बारे रत्नशमशेर थापा भन्थे– ‘विजय मल्ल आफ्ना नौला कृति या रचना या नाटक सुनाउँदा हाउभाउ अभिनयसाथ सुनाउने गर्थे । उनी मृदु मुस्कान छर्दै ठट्यौली पारामा आफ्ना रचनाहरू सुनाउने गर्थे ।

विजय मल्लका लेखनबारे धेरै समीक्षकले आफ्नो मन्तव्य राख्दै आएका छन् । उनका रचना पढेर समालोचकहरू नै आह्लादमा डुबेका हुन्छन् । त्यसै क्रममा प्रा.डा. महादेव अवस्थीले पढेका मल्ल यस्ता थिए– ‘विजय मल्ल आधुनिक नेपाली साहित्यका कविता, नाटक, लघु नाटक (एकाङ्की नाटक) तथा निबन्ध आख्यान (उपन्यास र कथा) विधाका क्षेत्रमा धारागत विविधता तथा नवीन प्रयोगशीलतासमेतले समन्वित बहुमुखी सृजनात्मक योगदान गर्ने अमर स्रष्टा हुन् ।

उनी सृजनात्मक साहित्य र साहित्यिक पत्रकारिताको सुरुचिले सम्पन्न पारिवारिक वातावरणको शारदासंस्कार प्राप्त गरी हुर्किएका त्यस्ता प्रतिभा हुन् जसले दोस्रो विश्वयुद्धोत्तर शीतयुद्धकालीन विश्वका वातावरणमा मानवसमुदायका मनमा व्याप्त आतङ्क र सन्त्रासका साथै २००७ सालको क्रान्तिभन्दा अगिपछिको र २०१७ सालयता २०५६ सालसम्मको नेपालको राष्ट्रिय वातावरणमा नागरिकका मनभित्र सङ्कुचित उच्छ्वास, उकुसमुकुस एवम् ऐँठनलाई कतै विद्रोही क्रान्तिकारी स्वर र ओजस्वी शैलीमा, कतै यथार्थदर्शी अतिकाल्पनिक बान्कीमा र व्यङ्ग्यात्मक मुद्रामा तथा समग्रमा मानवमनोविश्लेषण र युगीन अस्तित्ववादी बौद्धिक स्वरको वाहक प्रयोगशील तथा व्यञ्जनागम्य प्रतीकविधानसहितको कसिलो संरचनामा र गहन शैलीमा प्रखर ढङ्गले प्रकट गरेका छन् ।’

विजय मल्ल आफ्ना कृतिलेखनमा अत्यधिक सफल भए । उनी सफल मात्र भएनन् यस मामलामा उनले प्रसिद्धिको धुरी नै चढे ।

प्रा.डा. अवस्थी लेख्छन्, ‘शक्तिशाली राष्ट्रका बिचको अहङ्कारग्रस्त शस्त्रास्त्रको होडबाजीप्रतिको तिखो व्यङ्ग्य र विश्वनिरस्त्रीकरणप्रतिको गम्भीर चासो, विश्वशान्ति र अन्तर्राष्ट्रियतावादको ध्वनि, शारीरिक र मानसिक रूपमा स्वस्थ मनुष्यताको अपेक्षा, देशभक्तिपूर्ण नेपाली राष्ट्रवादको रन्को, सामाजिक र आर्थिक न्यायको माग अनि समाजसुधारको प्रगतिशील स्वर उनका साहित्यिक कृतिबाट व्यञ्जित हुन्छन् र यसै व्यञ्जनाशक्तिले उनलाई महान् स्रष्टाका रूपमा प्रतिष्ठित एवम् अमर तुल्याएको छ ।’

विजय मल्ल आफ्ना कृतिलेखनमा अत्यधिक सफल भए । उनी सफल मात्र भएनन् यस मामलामा उनले प्रसिद्धिको धुरी नै चढे । उनका लेखनले उनका नाउँलाई दिग्विजय नै गरायो । उनले जुनजुन विधामा कलम समाए तत्तत् विषयमा उनी शिखरै पुगे । कतिसम्म भने उनले २०१६ सालमा छापेको एउटै कवितासङ्ग्रहले उनी प्रसिद्ध कविको उपमामा दरिए । नेपाली साहित्यका ख्यातिप्राप्त विद्वान्हरूले आ–आफ्नै शैलीमा उनका कृतिको गाथा गाइरहे ।

विजय मल्ल बहुआयामिक लेखनका धनी थिए । उनको लेखनले उच्च बौद्धिक वर्गदेखि, मध्यम वर्ग र साधारण जनमानससम्म प्रभाव पारेको पाइन्छ । उनका लेखनका बारे धेरैले धेरै लेखेका पनि छन् । अनि केही साहित्यकार र समालोचकहरूले भने उनीबारे सिङ्गोसिङ्गै कृतिहरू पनि लेखेका छन् ।

वास्तवमा राजनीतिमा समेत प्रखर चेतना गाँसेका मल्लको साहित्यिक उचाइ माथिल्लो कोटिको थियो । राजनीतिमा सशक्त भएर पनि उनी साहित्यमै केन्द्रित थिए । त्यसैले उनका रचना सर्वमान्य नै पनि भए । यसै परिवेशमा उनको सिर्जनाउपर प्रसिद्ध समालोचक प्रा.डा. ज्ञानु पाण्डेले लेखिन्– ‘आफ्नो सिङ्गो जीवनकालमा मल्लले अधिकांश समय साहित्यमा नै समर्पित भएर बिताए । राजनीतिक क्षेत्रमा पनि सक्रियता देखाउनुले निश्चय नै साहित्यलेखनको उनको कतिपय समय खोसियो होला, त्यो कुरा अलग हो तर पनि उनले नेपाली साहित्यलाई जति दिए, त्यो सङ्ख्याको दृष्टिले कम छैन, त्यसमा गुणात्मकताको गरिमा त उसै पनि छँदैछ ।’

विजय मल्लको सिर्जनाले चुली टेकिसकेकै थियो । उनीबारे जसले चासो राखे पनि र नराखे पनि उनको कृतिगत ख्यातिले नेपाल भारततिर परिक्रमा गरिसकेकै थियो । त्यसैले पनि सुप्रसिद्ध साहित्यकार प्रा. राजनारायण प्रधानले २०३० सालमा नै उनीबारे लेखेकै थिए– ‘विजय मल्ल नेपाली साहित्यका महारथी हुन् ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)