मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आणविक ऊर्जा एजेन्सीका निरीक्षकलाई प्रवेश दिन इरान सहमत भएको दाबी

baahrakhari.com · Tue Jun 23 00:51:16 GMT 2026

काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरान संयुक्त राष्ट्रसंघको आणविक ऊर्जा नियामक निकाय ‘अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी’ (आईएईए)का निरीक्षकहरूलाई आफ्नो देशमा काम गर्न अनुमति दिन सहमत भएको दाबी गरेका छन् ।

स्विट्जरल्यान्डको बर्गनस्टक रिसोर्टमा सोमबार पत्रकारहरूसँग भान्सले भने, “इरानीहरू आईएईएका निरीक्षकहरूलाई आफ्नो देशमा फिर्ता बोलाउन सहमत भएका छन् ।”

उनले यसलाई अमेरिकी जनताका लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै भने, “यो इरानको आणविक हतियार कार्यक्रमलाई स्थायी रूपमा अन्त्य गर्ने वा पूर्ण रूपमा निशस्त्रीकरण गर्ने दिशातर्फको पहिलो कदम हो ।”

भान्सका अनुसार निरीक्षकहरू इरान फर्किने विषयमा चाँडै नै औपचारिक छलफल सुरु हुनेछ ।

“मलाई लाग्छ यो प्रक्रिया कम्तीमा यसै हप्ताभित्र सुरु हुनेछ । निरीक्षकहरू र आईएईएका अधिकारीहरूसँगको प्रारम्भिक संवाद त आजैदेखि पनि सुरु हुन सक्छ,” उनले भने ।

अमेरिकी पक्षका अनुसार यो प्रक्रिया सम्भवतः आईएईएको निगरानीमा इरानकै आणविक केन्द्रहरूमा युरेनियमको संवर्धन स्तर घटाउने प्रक्रियामार्फत सम्पन्न गरिनेछ ।

आईएईएको पछिल्लो अनुमानअनुसार इरानसँग ६० प्रतिशतसम्म संवर्धन गरिएको करिब ४४० किलोग्राम युरेनियम मौज्दात छ । सामान्यतया आणविक हतियार निर्माणका लागि ९० प्रतिशत वा सोभन्दा माथिको संवर्धन आवश्यक मानिन्छ ।

यद्यपि, इरानले भने वार्ताका क्रममा आईएईए निरीक्षकहरूलाई पुनः अनुमति दिने विषयमा कुनै सहमति भएको पुष्टि गरेको छैन ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले सोमबार सरकारी समाचार एजेन्सी ‘इर्ना’सँग आणविक मुद्दाबारे अत्यन्त संक्षिप्त छलफल मात्र भएको र इरानले कुनै पनि नयाँ प्रतिबद्धता स्वीकार नगरेको स्पष्ट पारे ।

‘अन्तिम सम्झौताका लागि राम्रो आधार तयार भयो’

वरिष्ठ इरानी अधिकारीहरूसँगको लामो वार्तापछि पत्रकारहरूसँग उपराष्ट्रपति भान्सले समग्र वार्ताको अवस्थाप्रति आशावादी धारणा व्यक्त गरे ।

इरानका संसदीय सभामुख मोहम्मद बाकर कालीबाफसँग भएको प्रारम्भिक वार्ताबारे उनले भने, “अन्तिम सम्झौता भनेको एउटा घरजस्तै हो । हामीले त्यसको जग बसाइसकेका छौँ । घर पूर्ण रूपमा तयार भइसकेको छैन, तर, सफल सम्झौताका लागि आवश्यक बलियो आधार भने निर्माण भएको छ,” उनले थपे ।

अर्कोतर्फ, इरानले लेबनानमा जारी संघर्ष अन्त्य गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको दाबी गरेको छ । इरानले यस विषयलाई अमेरिका–इरान वार्ताको पहिलो वास्तविक परीक्षणका रूपमा चित्रण गरेको छ । डीडब्ल्यू

#आईएईए

#आणविक ऊर्जा

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय