विश्वकपमा नयाँ इतिहास: मेस्सी बने सर्वाधिक गोलकर्ता, क्लोजको बधाई
kalakarmi.com · Tue Jun 23 01:07:06 GMT 2026
काठमाडौं– अर्जेन्टिनाका कप्तान तथा स्टार फरवार्ड लियोनल मेस्सीले फिफा विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन् । अस्ट्रियाविरुद्ध दुई गोल गर्दै उनले विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्ने उपलब्धि हासिल गरेका हुन् ।
विश्वकपको समूह चरणअन्तर्गत गए राति डलासमा सम्पन्न खेलमा अर्जेन्टिनाले अष्ट्रियालाई २–० ले पराजित गर्दा मेस्सी नायक बने । यस जीतसँगै साविक विजेता अर्जेन्टिना नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ ।
यसअघि विश्वकपमा सर्वाधिक १६ गोल गर्ने कीर्तिमान जर्मनीका पूर्व स्ट्राइकर मिरास्लोभ क्लोसको नाममा रहेको थियो । अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै उक्त कीर्तिमान बराबरी गरेका मेस्सीले अस्ट्रियाविरुद्ध दुई गोल थप्दै आफ्नो विश्वकप गोल संख्या १८ पुर्याएका छन् ।
क्लोजले दिए वधाई
मेस्सीले आफ्नो कीर्तिमान तोडेपछि क्लोजले सामाजिक सञ्जालमार्फत उनलाई वधाई दिएका छन् । क्लोजले भनेद्द‘मैले सधैँ भनेको छु, मेस्सी असाधारण खेलाडी हुन् । मेरो लागि लियोनल मेस्सी नै सर्वकालीन उत्कृष्ट फुटबलर हुन् । वधाई छ, च्याम्पियन १’
सन् २०१४ को विश्वकपदेखि सर्वाधिक गोलकर्ताको स्थानमा रहेका क्लोजले आफ्नो कीर्तिमान मेस्सीले तोडेकोमा खुशी व्यक्त गरेका छन् । उनले विश्वकप प्रारम्भ हुनुअघि नै आफ्नो कीर्तिमान कुनै दिन तोडिने र त्यसका लागि मेस्सी उपयुक्त व्यक्ति हुने बताएका थिए ।
पेनाल्टी चुकाए पनि बनाए इतिहास
अस्ट्रियाविरुद्धको खेल मेस्सीका लागि सहज सुरुआत भने थिएन । खेलको नवौं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पाएको थियो, तर मेस्सीले त्यसलाई गोलमा परिणत गर्न सकेनन् ।
यद्यपि, त्यसपछि उनले उत्कृष्ट पुनरागमन गर्दै ३८औँ मिनेटमा गोल गरे र विश्वकपमा आफ्नो १७औँ गोल दर्ता गरे । खेलको अन्तिम समयमा अर्को गोल थप्दै उनले कुल गोल संख्या १८ पुर्याए ।
खेलपछि प्रतिक्रिया दिँदै मेस्सीले भने– ‘यो सबै कसरी भयो भन्ने कुरा साँच्चै विशेष छ । सुरुमा पेनाल्टी मिस गरेँ, तर त्यसले मेरो खेललाई असर गर्न दिइनँ । टोलीको प्रदर्शन र जितबाट म निकै खुशी छु ।’
अर्जेन्टिनाको लक्ष्य उपाधि रक्षा
दुई खेलबाट ६ अंक जोडेको अर्जेन्टिना नकआउट चरणमा पुगिसकेको छ । प्रशिक्षक लियोनल स्कालेनी टोली लगातार दोस्रो विश्वकप उपाधिको लक्ष्यमा अघि बढिरहेको छ ।
मेस्सीले व्यक्तिगत कीर्तिमानभन्दा टोलीको सफलतालाई प्राथमिकता दिएको बताएका छन् ।
उनले भने– ‘म व्यक्तिगत उपलब्धिभन्दा टोलीको जितबाट बढी खुशी छु । यो निकै कठिन र प्रतिस्पर्धात्मक खेल थियो। विश्वकपका हरेक खेल उत्तिकै चुनौतीपूर्ण हुन्छन्, त्यसैले हामी आगामी खेलहरूमा पनि केन्द्रित रहने छौं ।’
विश्व फुटबलका महान् खेलाडीमध्ये एक मानिने मेस्सीले आफ्नो नाममा अर्को ऐतिहासिक उपलब्धि थप्दै विश्वकप इतिहासमा नयाँ अध्याय लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ
फिफा