कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना
lokaantar.com

देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव सक्रिय रहँदा आज केही स्थानमा वर्षाको सम्भावना रहेको छ । यस्तै तराईका केही क्षेत्रमा तातो लहरको अवस्था कायम रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग तथा लुम्बिनी प्रदेशको पूर्वी भू-भागका थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य भू-भागमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भू-भागका साथै कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। यस्तै, कोशी प्रदेशका तराईका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने जनाइएको छ।
तराईका केही क्षेत्रमा गर्मीको प्रभाव भने कायमै रहने देखिएको छ। महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहर चल्ने सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि तातो दिन रहने अनुमान गरिएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। मधेश प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भाग र बागमती तथा गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
रातिको समयमा कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका तराईका थोरै स्थान तथा मधेश प्रदेशका तराईका एक-दुई स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
मधेस प्रदेश
मौसम