मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

संन्यासको त्यो आँसुदेखि कीर्तिमानको शिखरसम्म...

lokaantar.com

सन् २०१६ को त्यो क्षण फुटबल इतिहासकै सबैभन्दा भावुक र निराशाजनक क्षणमध्ये एक थियो, जब कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएपछि अर्जेन्टिनाका महान् खेलाडी लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका थिए ।

पेनाल्टी सुटआउटमा आफैँले प्रहार गरेको बल मिस भएपछि नौ वर्षमा चौथो पटक ठुलो प्रतियोगिताको फाइनलमा अर्जेन्टिना पराजित हुँदा मेसीले त्यो पीडा सहन सकेका थिएनन् । उनले आँसु थाम्दै मेरो लागि राष्ट्रिय टोलीको यात्रा यहीँ सकियो, मैले सकेको सबै गरेँ र च्याम्पियन बन्न नसक्दा निकै चित्त दुखेको छ भन्दै मैदानबाट बिदा लिने निर्णय सुनाएका थिए ।

तर, त्यसको १० वर्षपछि आफ्नो ३९औँ जन्मदिन मनाउनुअघि, मेसी विश्वविजेता अर्जेन्टिनाको कप्तानी मात्र गरिरहेका छैनन्, बरु विश्वकप इतिहासकै ‘सर्वकालीन महान् गोलकर्ता’ बनेर फुटबलको इतिहासलाई स्वर्ण अक्षरले पुनः नयाँ ढंगले लेखिरहेका छन् ।

संन्यास फिर्ता लिने उनको त्यो ऐतिहासिक र साहसिक निर्णय नै अर्जेन्टिना र उनको खेल जीवनको स्वर्ण युगको प्रस्थानविन्दु बन्न पुग्यो, जसले टोलीलाई लगातार दुई पटक कोपा अमेरिका र सन् २०२२ को कतार विश्वकप उपाधि दिलायो, जहाँ कप्तान मेसीले फाइनलका दुई गोलसहित कुल सात गोल गर्दै देशलाई सन् १९८६ पछि पहिलो पटक विश्वविजेता बनाएका थिए ।

ठिक ४० वर्षअघि, जुन दिन डिएगो म्याराडोनाले सन् १९८६ को विश्वकपको क्वाटरफाइनलमा इङ्गल्याण्डविरुद्ध दुई ऐतिहासिक गोल गरेका थिए, सोही दिनकै अवसर पारेर मेसीले अस्ट्रियाविरुद्ध २–० को जित निकाल्दै नयाँ इतिहास रचे ।

ड्यालसको भव्य रंगशालामा खेलको आठौँ मिनेटमै मेसीले प्रहार गरेको पेनाल्टी म्याच बाहिर जाँदा प्रशंसकहरू केही निराश भएका थिए । लाउटारो मार्टिनेजलाई बक्सभित्र लडाएपछि पाएको सो पेनाल्टी मिस गरेसँगै मेसी विश्वकप इतिहासमा सबैभन्दा बढी सात पटक पेनाल्टी प्रहार गर्ने र सबैभन्दा बढी तीन पटक मिस गर्ने खेलाडी बने पनि उनले त्यसलाई लामो समय निराशामा बदल्न दिएनन् ।

खेलको ३८औँ मिनेटमा थियागो अल्माडा र फाकुन्डो मेडिनाको मिलाएको सुन्दर पासमा अस्ट्रियाका दुई डिफेन्डर र गोलकिपर अलेक्जेन्डर श्लागरलाई पूर्ण रूपमा चकित पार्दै मेसीले प्रहार गरेको लो-स्ट्राइक सटले जाली चुम्यो ।

यो ऐतिहासिक गोलसँगै उनले जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमानलाई तोड्दै विश्वकप इतिहासमा आफ्नो १७औँ गोल दर्ता गरेर इतिहास रचे । मेसीको जादु यत्तिमै रोकिएन, दोस्रो हाफको इन्जुरी समय अर्थात् ९४औँ मिनेटमा व्यक्तिगत दोस्रो विश्वकप गोल पूरा गरेर अर्जेन्टिनाको २–० को सानदार जित निश्चित गरे ।

लियोनेल मेसीका कीर्तिमानहरू तीव्र गतिमा बनिरहेका छन् । मेसीले हालसम्म २८ विश्वकप खेलमा १८ गोल गरिसकेका छन् । उनका १८ गोलमध्ये १२ गोल उनी ३५ वर्षको उमेर पार गरेपछि भएका हुन्, जसमध्ये १४ गोल देब्रे खुट्टाले र ४ गोल डिपि बक्स बाहिरबाट भएका छन् ।

अस्ट्रियाविरुद्धको खेलसँगै फ्रान्सका जष्ट फन्टेन र ब्राजिलका जैर्जिन्होपछि विश्वकपका लगातार ६ खेलमा गोल गर्ने मेसी विश्वकै तेस्रो खेलाडी बने भने विश्वकप इतिहासमै सबैभन्दा बढी ७६ पटक गोलको अवसर सिर्जना गर्ने कीर्तिमान पनि उनकै नाममा दर्ता भएको छ ।

विश्वकपमा अर्जेन्टिनाले गरेका पाँचै वटा गोल मेसी एक्लैले गरेका छन् र उनी सर्वाधिक गोलकर्ताको सूचीमा सबैभन्दा अगाडि छन् ।

३९ वर्षको उमेरमा पनि मेसी मैदानमा युवा खेलाडी सरह दौडिरहेका छन् र खेलको अन्त्यसम्म उत्तिकै ऊर्जावान् देखिन्छन् ।

खेल विश्लेषकहरूका अनुसार मेसीलाई डिफेन्डरहरूलाई चकित पार्न अब कुनै तीव्र विस्फोटक गतिको आवश्यकता पर्दैन, उनले आफ्नो असाधारण खेल बुद्धिमत्ताका आधारमा मैदानमा खाली ठाउँ पहिल्याउँछन् र उत्कृष्ट टाइमिङका साथ खेलको दिशा बदल्छन्, जसका कारण उनलाई आगामी चार वर्षपछिको विश्वकपमा पनि देख्न सकिने अनुमान गर्न थालिएको छ ।

यद्यपि, पूर्व स्ट्राइकर क्रिस सटनले अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीका लागि अन्य खेलाडीहरूले गोल नगर्नु र टोली पूर्ण रूपमा मेसीको जादुमा मात्रै निर्भर हुनु केही चिन्ताको विषय बन्न सक्ने टिप्पणी गरेका छन् ।

ड्यालस सहरमा भएको यो खेल अर्जेन्टिनाका लागि भावनात्मक रूपमा पनि निकै महत्वपूर्ण र ऐतिहासिक म्याराडोनाको विरासतसँग जोडिएको थियो । सन् १९९४ को अमेरिका विश्वकपमा प्रतिबन्धित औषधिको परीक्षणमा असफल भएपछि डिएगो म्याराडोनाले दुःखद रूपमा विश्वकप छाड्नुपरेको यही ड्यालस सहर थियो, जहाँ मेसीले सानदार प्रदर्शन गर्दै म्याराडोनाको पुरानो पीडालाई भुलाउने प्रयास गरे ।

खेल सकिएपछि प्रतिक्रिया दिँदै मेसीले आफू मैदानमा रमाइलो गरिरहेको र समर्थकहरूलाई यस्तो खुसी दिन पाउँदा निकै आनन्द महसुस भएको बताएका थिए, साथै खेलको ८५औँ मिनेटमा उनी मैदानबाट बाहिरिँदा रंगशालाका हजारौँ दर्शकले उठेर सम्मान प्रकट गरेका थिए ।

विश्वकपको अन्तिम ३२ अर्थात् नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरिसकेको अर्जेन्टिनाले अब आफ्नो आगामी समूह चरणको अन्तिम खेल जोर्डनविरुद्ध खेल्नेछ । मेसीका लागि अब अर्को एउटा ठुलो कीर्तिमान निकै नजिक छ, जुन विश्वकपमा सबैभन्दा बढी गोलका लागि पास अर्थात् असिस्ट गर्ने कीर्तिमान हो, जहाँ उनी हाल म्याराडोनासँगै ८ असिस्टका साथ बराबरीमा छन् । बीबीसीको रिपोर्टमा आधारित

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)