अमेरिका र इरानबीच ऐतिहासिक सहमति: ६० दिनका लागि तेल बिक्री खुला, १२ अर्ब डलरको कोष फुकुवा
nepalviews.com · Tue Jun 23 01:33:20 GMT 2026

काठमाडौं । लामो समयदेखि चरम तनावमा रहेका अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा १८ घण्टा लामो गहन वार्तापछि एक ऐतिहासिक सहमति भएको छ। यस कूटनीतिक विकासक्रम अन्तर्गत अमेरिकाले इरानी तेल बिक्रीमा लगाएको प्रतिबन्ध अस्थायी रूपमा हटाउने निर्णय गरेको छ भने रोक्का राखिएको १२ अर्ब अमेरिकी डलर बराबरको कोष समेत फुकुवा गरिदिएको छ। यो कदमलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध सुधार र जारी क्षेत्रीय तनाव कम गर्ने एउटा ठूलो र सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि वार्तामा उल्लेखनीय प्रगति भएको पुष्टि गरेका छन् ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सामाजिक सञ्जाल 'एक्स' मार्फत अमेरिकी अर्थ मन्त्रालयले इरानी तेलको उत्पादन, आपूर्ति र बिक्रीका लागि ६० दिने अस्थायी लाइसेन्स जारी गरेको जानकारी दिएका छन् । यस निर्णयसँगै आगामी २१ अगस्टसम्म इरानले आफ्नो तेल र पेट्रोलियमजन्य उत्पादन विश्व बजारमा खुला रूपमा बिक्री गर्न पाउनेछ। यस अवधिमा अमेरिकी कम्पनीहरूले समेत इरानी तेल खरिद गर्न सक्नेछन् र त्यसको भुक्तानी अमेरिकी डलरमै प्राप्त हुनेछ। आवश्यकता हेरेर यो व्यवस्था २१ अगस्टपछि पुनः नवीकरण समेत हुन सक्ने बताइएको छ।
अमेरिकाले तेल प्रतिबन्ध खुकुलो पार्ने निर्णय गरेसँगै इरानले पनि केही महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू जनाएको छ। इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरूलाई पुनः आफ्नो देशमा प्रवेश गर्न दिने र आणविक केन्द्रहरूको निरीक्षण गर्न अनुमति दिने सहमति जनाएको छ। यसका साथै, इरानले 'स्ट्रेट अफ होर्मुज' बाट व्यापारिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
पछिल्लो समय क्षेत्रीय द्वन्द्वका कारण सुरक्षा चिन्ता बढेपछि 'स्ट्रेट अफ होर्मुज भएर हिँड्ने तेल ट्यांकरहरूको संख्या व्यापक घटेको थियो। विश्वको कुल निर्यातको करिब २० प्रतिशत कच्चा तेल यही मार्ग हुँदै जाने भएकाले यहाँको स्थिरताले विश्वव्यापी तेल र ग्यास बजारलाई ठूलो राहत मिल्ने अनुमान गरिएको छ। नयाँ सहमति अनुसार आगामी ६० दिनसम्म जहाजहरूले कुनै अतिरिक्त शुल्क नतिरी यो जलमार्ग पार गर्न पाउनेछन् र त्यसपछि इरान र खाडी क्षेत्रका देशहरूले यस मार्गको दीर्घकालीन व्यवस्थापनबारे थप छलफल गर्नेछन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार अमेरिकाले इरानको रोक्का रहेको १२ अर्ब अमेरिकी डलर बराबरको कोष फुकुवा गर्ने सहमति गरे पनि उक्त रकमको प्रयोगलाई लिएर दुवै देशबीच विवाद सुरु भइसकेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फुकुवा गरिएको उक्त रकम अमेरिकी कृषि उत्पादन खरिद गर्न प्रयोग गरिने बताए पनि इरानको केन्द्रीय बैंकले ट्रम्पको उक्त दाबीलाई तत्कालै अस्वीकार गरेको छ। इरानी केन्द्रीय बैंकले तेहरान अमेरिकी कृषि वस्तु खरिद गर्न कुनै पनि हालतमा बाध्य नभएको स्पष्ट पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ
डोनाल्ड ट्रम्प