मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अदालत पुग्यो राहदानी खरिद प्रकरण, पौडेल पक्राउपछि ओलीको आपत्ति

lokaantar.com

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझै आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-

लियोनेल मेस्सीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोसको कीर्तिमान तोडेको खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई २-० गोल अन्तरले पराजित गरेको छ।

अमेरिकाको डालास रंगशालामा सोमबार मध्यराति ७० हजारभन्दा बढी दर्शकमाझ भएको समूह 'जे' को रोमान्चक खेलमा मेस्सीले दुई गोल गर्दै नयाँ इतिहास रचेका हुन्। यससँगै अर्जेन्टिना नक आउट चरणमा पुगेको छ ।

००००

फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'आई' को खेलमा फ्रान्सले इराकलाई ३–० को फराकिलो अन्तरले पराजित गरेको छ।

फिलाडेल्फिया स्टेडियममा मंगलबार बिहान सम्पन्न लमा जित हात पारेसँगै फ्रान्स लगातार दोस्रो जित दर्ता गर्दै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्ने निश्चित भएको छ। अर्जेन्टिना साविक विश्वविजेता हो भने फ्रान्स उपविजेता हो ।

००००

सरकारले नेपालबाट भारतमा हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्नका लागि कार्यदल गठन गरेको छ ।

चिया निर्यातमा देखिएको समस्याको अध्ययन गरी दुई साताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गरिएको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

००००

बेलायती प्रधानमन्त्री कीर स्टारमरले राजीनामा घोषणा गरेको केही घण्टाभित्रै 'मेकरफिल्ड' उपनिर्वाचनमा विजयी भएका एन्डी बर्न्हमले संसदको तल्लो सदन 'हाउस अफ कमन्स' मा सांसदको रूपमा शपथ ग्रहण गरेका छन्।

स्टारमरले डाउनिङ स्ट्रिट बाहिर आफ्नो परिवार र सहयोगीहरूलाई धन्यवाद दिँदै सेप्टेम्बरसम्म वा नयाँ उत्तराधिकारी चयन नभएसम्म पदमा रहने स्पष्ट पारेका छन्।

स्टारमरको राजीनामा लगत्तै लेबर पार्टीभित्र नयाँ नेतृत्वको खोजी तीव्र भएको छ, जसमा एन्डी बर्न्हम सबैभन्दा बलियो उम्मेदवारका रूपमा अगाडि आएका छन्।

००००

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमूना सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।

समितिका अनुसार लालीगुराँस सहकारीका थप ७० जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने आइडियल यमूना सहकारीका १२ जनाले बचत फिर्ता पाएका हुन् । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।

००००

नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतबाट गिरफ्तार गरिएको घटनाप्रति आपत्ति प्रकट गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको यो कदमलाई ‘गैरकानुनी’, ‘अलोकतान्त्रिक’ र ‘अपहरणको शैली’ को संज्ञा दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, 'पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका उपाध्यक्ष पौडेललाई सरकारले गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार गरेको छ, यसप्रति हाम्रो पार्टी घोर निन्दा र भर्त्सना गर्दछ।' पौडेललाई प्रहरीले सोमबार सुर्खेतबाट पक्राउ गरेको थियो ।

सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि पौडेल पक्राउ परेका विषयमा एमालेका अन्य नेताहरूले पनि आपत्ति जनाउँदै निष्पक्ष अनुसन्धान र कानूनी प्रक्रियाको पालना गर्न माग गरेका छन् ।

००००

प्रतिनिधि छनोट विवादका कारण रास्वपाको महाधिवेशन कार्यतालिका प्रभावित भएको छ ।

महाधिवेशन प्रतिनिधिको नामावली सच्याउनका लागि समय लागेका कारण सोमबारबार लागि तय भएको बन्द सत्र स्थगित गरिएको छ । बन्दसत्र मंगलबार बिहान सुरु हुने केन्द्रिय निर्वाचन आयोगले जनाएको छ । बन्दसत्र प्रभावित हुँदा निर्वाचन कार्यतालिका समेत प्रभावित भएको छ ।

००००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

इलेक्ट्रोनिक मेसिन रिडेबल ट्राभल डकुमेन्ट अर्थात् ई-एमआरटीडी प्रणाली र बुकलेट खरिदसम्बन्धी कार्यमा गम्भीर अनियमितता तथा भ्रष्टाचार भएको ठहर गर्दै आयोगले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विभागका महानिर्देशक अर्यालसहित कर्मचारी र ठेकेदार कम्पनीका प्रतिनिधिलाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको छ ।

राहदानी विभागका महानिर्देशक अर्यालसहित निर्देशक (सूचना प्रविधि) सुनिल कुमार केसी, तत्कालीन निर्देशक शत्रुघ्न प्रसाद शर्मा पोखरेल, तत्कालीन निर्देशक रविन्द्र राजभण्डारी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य र कम्प्युटर इन्जिनियर विपिन प्रसाईंलाई प्रतिवादी बनाइएको छ ।

००००

५ महिना अगाडि पार्टी प्रवेश गरेका डा. अमरेशकुमार सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन बहिष्कार गरेका छन् ।

सरकारका काम कारबाहीप्रति सार्वजनिक रूपमै असन्तुष्टि जनाएका अमरेश रास्वपा महाधिवेशनमा अनुपस्थित भएको विषयलाई चासोका साथ हेरिएको छ ।

चितवनमा जारी रास्वपाको महाधिवेशनमा अमरेशको अनुपस्थितिलाई प्रतिनिधिहरूले सोधीखोजी गरिरहेका छन् । खासगरी मधेश प्रदेशका प्रतिनिधिले उनको अनुपस्थितिप्रति चासो र जिज्ञासा राखिरहेका छन् ।

सम्भावित राजनीतिक घटनाक्रमको आँकलन गरेरै उनी रास्वपा महाधिवेशनमा सहभागी नभएको अमरेश निकट स्रोतले जानकारी दियो ।

००००

पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी केही वर्षदेखि ‘दम’ रोगबाट पीडित थिए ।

काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररतका अवस्थामा सोमबार राति उनको निधन उनका छोरा महेश खरेलले जानकारी दिए ।

००००

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरामा सोमबार साँझ भएको भयानक सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका एक पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)