विश्वकपमा लियोनल मेसीको ऐतिहासिक कीर्तिमान, १८ गोलसहित बने सर्वाधिक गोलकर्ता
arthasansar.com

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। अष्ट्रियाविरुद्धको समूह ‘जे’ अन्तर्गतको खेलमा दुई गोल गर्दै उनले विश्वकपमा आफ्नो कुल गोल संख्या १८ पुर्याएका हुन्।
अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा सोमबार भएको खेलमा मेसीले पहिलो हाफको ३८औं मिनेटमा गोल गर्दै नयाँ कीर्तिमान कायम गरेका थिए। त्यसपछि इन्जुरी समयमा थप एक गोल गर्दै उनले पुरुष तथा महिला दुवै विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ताको स्थान समेत कब्जा गरेका छन्।
यसअघि उक्त कीर्तिमान ब्राजिलकी महिला फुटबल स्टार मार्टाको नाममा रहेको थियो। मार्टाले महिला विश्वकपमा १७ गोल गरेकी थिइन् भने मेसीले अब १८ गोलसहित नयाँ इतिहास रचेका छन्।
३८ वर्षीय मेसीले गत साता अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजेको १६ गोलको विश्वकप रेकर्ड बराबरी गरेका थिए। अष्ट्रियाविरुद्ध थप दुई गोल गरेसँगै उनले क्लोजेलाई पछि पार्दै एकल रूपमा शीर्ष स्थानमा उक्लिएका हुन्।
सन् २००६ मा पहिलो पटक विश्वकप खेलेका मेसी अहिले आफ्नो छैटौं विश्वकप खेलिरहेका छन्। राष्ट्रिय टोलीका लागि उनले हालसम्म २०१ खेलमा १२१ गोल गरिसकेका छन्। साथै लगातार ६ वटा विश्वकपमा गोल गर्ने विश्वकै तेस्रो खेलाडी समेत बनेका छन्।
मेसीको उत्कृष्ट प्रदर्शनसँगै अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा बलियो देखिएको छ। अर्जेन्टिनाले अष्ट्रियामाथि जित हात पारेपछि नकआउट चरण पुग्ने सम्भावना थप बलियो बनेको छ।
विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीहरूको सूचीमा मेसीपछि मिरोस्लाभ क्लोजे (१६), ब्राजिलका रोनाल्डो (१५), जर्मनीका गर्ड मुलर (१४) तथा फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पे रहेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)
फिफा