मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

२८ वर्षपछि नर्वे विश्वकपको नकआउट चरणमा प्रवेश, सेनेगलमाथि रोमाञ्चक जित

lokaantar.com

शुरूआती चरणको केही सुस्त खेलपछि दोस्रो हाफमा भएको आक्रामक प्रतिस्पर्धाबीच नर्वेले सेनेगललाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम ३२ (नकआउट चरण) मा आफ्नो स्थान सुरक्षित गरेको छ।

नर्वेका लागि यो जित ऐतिहासिक बनेको छ, किनकि टोली सन् १९९८ को फ्रान्स विश्वकपपछि पहिलो पटक विश्वकपको समूह चरण पार गर्न सफल भएको हो।

खेलको पहिलो ४० मिनेट दुवै टोलीले निकै रक्षात्मक र सतर्कतापूर्वक खेलेका थिए। तर, पहिलो हाफ सकिनु ठीकअघि खेलले नाटकीय रूपमा गति लियो। खेलको ४३औँ मिनेटमा एम. पेडर्सनले उत्कृष्ट गोल गर्दै नर्वेलाई १–० को शुरूआती अग्रता दिलाए। पहिलो हाफमा एक गोलको अग्रता बनाएको नर्वेले दोस्रो हाफको शुरूआतमा झनै आक्रामक रूप लियो। खेलको ४८औँ मिनेटमा स्टार स्ट्राइकर अर्लिङ हालान्डले सानदार गोल गर्दै नर्वेको अग्रता दोब्बर बनाए।

दुई गोलले पछि परेको सेनेगलले खेलमा फर्किने कडा संघर्ष गर्‍यो। खेलको ५३औँ मिनेटमा सेनेगलका आई. सारले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएर टोलीमा उत्साह भरेका थिए। तर, सेनेगलले खेललाई आफ्नो नियन्त्रणमा लिन नपाउँदै त्यसको पाँच मिनेटपछि अर्थात् ५८औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल थपेपछि नर्वे ३–१ को बलियो स्थितिमा पुग्यो। खेलको इन्जुरी समय अर्थात् ९०'+३ मिनेटमा सेनेगलका आई. सारले व्यक्तिगत दोस्रो गोल गरे पनि त्यो टोलीलाई हारबाट जोगाउन पर्याप्त हुन सकेन र अन्ततः नर्वे ३–२ को नतिजासहित विजयी भयो।

खेलको अन्तिम ५० मिनेट दुवै टोलीका लागि निकै रोमाञ्चक र संघर्षपूर्ण बनेको थियो। नर्वेका प्रशिक्षक स्टाले सोल्बाकेनको टोलीले खेलको अन्तिम समयमा बलियो रक्षापंक्ति कायम राख्न केही संघर्ष गर्नु परे पनि अन्ततः जित निकाल्दै अन्तिम ३२ मा स्थान पक्का गर्‍यो। अब समूह 'आई'को शीर्ष स्थानका लागि नर्वेले फ्रान्सको सामना गर्नेछ। हाल फ्रान्स गोल अन्तरका आधारमा नर्वेभन्दा केही अगाडि रहँदै समूहको शीर्ष स्थानमा छ।

अर्कोतर्फ, खेल सकिएपछि सेनेगलका खेलाडीहरू मैदानमा स्तब्ध र अविश्वासको स्थितिमा देखिएका थिए। प्रतियोगितामा निकै अघिसम्म पुग्ने अपेक्षा गरिएको सेनेगल लगातार दुई खेलमा पराजित हुँदै शून्य अंकका साथ समूह चरणबाटै बाहिरिने सङ्घारमा पुगेको छ। नकआउट चरणको झिनो आशा जीवितै राख्नका लागि सेनेगलले समूह चरणको आफ्नो अन्तिम खेलमा इराकविरुद्ध निकै ठुलो अन्तरको जित निकाल्नुपर्ने दबाब सिर्जना भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय