२८ वर्षपछि विश्वकप फर्किएको नर्वे सेनेगलमाथि जित निकाल्दै नकआउट चरणमा
nepalviews.com · Tue Jun 23 02:24:54 GMT 2026

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मङ्गलवार बिहान सम्पन्न रोमान्चक खेलमा सेनेगललाई ३-२ गोल अन्तरले पराजित गर्दै नर्वे प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ। अमेरिकाको न्यूयोर्क न्यू जर्सी स्टेडियममा भएको जितसँगै २८ वर्षपछि विश्वकपको मञ्चमा फर्किएको नर्वेले एक खेल अगावै अघिल्लो चरणको यात्रा सुरक्षित गरेको हो।
नर्वेको जितमा स्टार स्ट्राइकर एर्लिङ हाल्यान्डले दुई तथा मार्कस होल्मग्रेन पेडरसनले एक गोल गरे। सेनेगलका तर्फबाट इस्माइला सारले दुई गोल फर्काए पनि टोलीको हार टार्न त्यो पर्याप्त हुन सकेन।
खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले आक्रामक रणनीति अपनाएका थिए। खेलको ४३औं मिनेटमा मार्कस होल्मग्रेन पेडरसनले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० को अग्रता बनाएको नर्वेका लागि दोस्रो हाफको सुरुवातमै अर्थात् ४८औं मिनेटमा एर्लिङ हाल्यान्डले गोल गर्दै टोलीको अग्रतालाई २-० मा पुर्याए।
दुई गोलले पछि परेको सेनेगलले निकै मिहिनेतका साथ खेलमा फर्कने प्रयास गर्यो। खेलको ५३औं मिनेटमा इस्माइला सारले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए र सेनेगलको आशा जीवितै राखे। तर, त्यसको पाँच मिनेटपछि नै अर्थात् ५८औं मिनेटमा हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि नर्वेले खेलमा ३-१ को बलियो अग्रता लियो। दोस्रो हाफको इन्जुरी समयमा सेनेगलका इस्माइला सारले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३-२ को स्थितिमा पुर्याए पनि त्यसपछि थप समय अभावका कारण सेनेगल खेलमा फर्कन असफल भयो र नर्वेले बाजी मार्यो
नर्वेका लागि यो विश्वकप यात्रा र नकआउट चरणको प्रवेश निकै ठूलो उपलब्धि हो। यसअघि नर्वेले पछिल्लोपटक सन् १९९८ मा भएको विश्वकप खेलेको थियो। त्यसयता लगातार छनोट हुन नसकेको नर्वेले झण्डै तीन दशकपछिको पुनरागमनमै उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा स्थान पक्का गरेको छ।
यस जितसँगै नर्वे दुई खेलबाट ६ अङ्क जोड्दै समूह ‘आई’ को दोस्रो स्थानमा रहेको छ। समान ६ अङ्क नै रहेको बलियो टोली फ्रान्स गोलअन्तरका आधारमा समूहको शीर्ष स्थानमा छ। समूहका दुई-दुई खेल सकिँदा नर्वे र फ्रान्स दुवैले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। अर्कोतर्फ, लगातार दुवै खेलमा पराजय भोगेका सेनेगल र इराक भने अङ्कविहीन रहँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरिने निश्चित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ
फिफा