बाँदर व्यवस्थापनमा नयाँ सोच : खाद्य बाली र खाद्य संस्कृतिको रूपान्तरण
shilapatra.com · Tue Jun 23 02:23:00 GMT 2026

अहिले राजधानी काठमाडौंको बहस–पैरवीमा बाँदर आतंकको चर्चाले राम्रै स्थान पाएको छ । आतंक निराकरणका धेरै उपायहरू आएका छन् । किसान र राजनीतिक नेतृत्वको तहबाट बाँदर मार्ने कुरा नै आएको छ भने जनावर अधिकारकर्मीहरू मार्ने कुराको चर्को विरोध गरिरहेका छन् । यसले सामाजिक सञ्जालमा पक्ष र विपक्षमा प्रतिक्रिया निर्माण गरेको छ । तर, जस्ता बहस–पैरवी भए पनि समस्या अहिले मात्र होइन, विगत केही वर्षदेखि किसानले बाँदरको समस्या र दुःख भोग्दै आएका छन् ।
कतिपय पहाडी तथा ग्रामीण क्षेत्रमा बाँदरका कारण कृषिको निरन्तरता र बसोबासमा प्रभाव पारेको देखिन्छ । यसले किसान र गाउँको अर्थतन्त्र नै खलबाल्याएको छ । अर्को शहरी सुविधा, सुलभ सार्वजनिक सेवा र कृषिभन्दा पर आर्थिक समृद्धि खोज्न हिँड्नेका कारण रित्तिँदै गएको गाउँलाई थप रित्तिन मद्दत मिलेको छ ।
यो समस्यालाई राजनीतिक रूपमा बढी केन्द्रित गरिएको हो कि जस्तो देखिएको परिवेशमा कारण र समाधानबारेमा भने बाँदर मारेर सक्ने भन्नेबाहेक अन्य उपाय आएको कमै देखिन्छ । यसअगाडि पनि लेखकले बाँदर नियन्त्रण होइन, व्यवस्थापन गर्नुपर्छ भन्ने कुरामा आधारित लेख प्रकाशित गरिसकेको छ, जहाँ बाँदर व्यवस्थापनका दोहोरो नीति अवलम्बनबारे सुझाएको थियो ।
यस लेखमा उक्त दोहोरो नीतिमध्ये कृषि र किसानको पक्षबाट अपनाउन सकिने विधि र कम आकर्षण क्षेत्र निर्माणबारे विस्तृत उल्लेख गर्ने प्रयास गरिएको छ । यसमा कसरी खाद्य उत्पादन र खाद्यान्न उपभोग प्रणालीमा रुपान्तरण गरेर अवधारणाको प्रयोगमार्फत बाँदरलाई खेती क्षति गर्नबाट रोक्न सकिन्छ भन्नेबारे वस्तुगत विवेचना गरिएको छ ।
समस्या कहाँ थियो ?
नेपालले २०४६ सालपछि आर्थिक विकासका आधारहरू कृषिको व्यवसायीकरण र गैरकृषि क्षेत्रको औद्योगिकीकरणमार्फत खोज्यो । जुन स्थायी र बलियो आर्थिक वृद्धि, बढ्दो जनसंख्याका लागि रोजगारी व्यवस्थापनको मूल आधार पनि थियो । यसले मूलतः साना मिश्रित र परम्परागत कृषि प्रणालीको सुधार र कृषि वस्तुको बृहत् उत्पादनमा जोड दियो, जहाँ एकल बाली प्रणालीले प्राथमिकता पायो । यसबाट विभिन्न प्रभाव र असरहरू पनि ल्यायो, समृद्धि र आर्थिक विकाससँगै ।
पहिलो, एकल प्रणालीको व्यावसायिक खेतीबाट धेरैले मनग्य आर्थिक सफलता प्राप्त गरे । यी वर्गका किसानमा धेरै जमिन हुने, बाली विकास र उत्पादनका लागि आवश्यक पर्ने मल–खाद, बिउबीजन अनि बजारमा पहुँच राख्न सक्ने थिए । यसरी आम्दानी गर्न सक्ने किसानहरूले उब्जाउ हुने, घरनजिक भएको, खेती गर्न सजिलो सिँचाइ र भू–बनोट मिलेको जमिन मात्र उपयोग गर्ने, एकल बालीमा नगदे बाली मात्र खेती गर्ने, जंगलनजिकको जमिन बाँझो राख्ने र अन्नमा धानखेती मात्र गर्ने ग्रामीण कृषि अभ्यासको विस्तार गर्दै लग्यो ।
दोस्रो, साना किसान जोसँग थोरै जमिन थियो, उसले पनि व्यावसायिक खेतीमा समृद्धि खोज्न जमिन भाडामा लिने र खेती गर्ने प्रचलन बढायो । यसले राम्रो आम्दानी दिने किसानलाई आफ्नो कम उब्जाउ हुने र थोरै क्षेत्रफलको जमिन बाँझो राख्ने प्रचलन बसाल्न सहयोग गर्याे ।
अर्कोतर्फ, यसै प्रणालीमा खेती गर्न जमिन भाडामा लिएर वा आफ्नै जमिनमा नगदे बालीको खेती गर्ने किसानले खेतीबाट घाटा व्यहोर्नुपर्ने अवस्था ल्यायो । ती किसानले उक्त आर्थिक क्षति र घाटालाई पूर्ति गर्न नसक्दा खेतीबाट गैरकृषि क्षेत्रमा आर्थिक सुरक्षाका लागि जोडिन बाध्य हुँदा उसले र परिवारले खेती गर्दै आएको जमिन क्रमश: बाँझो हुन थाल्यो ।
तेस्रो, व्यावसायिक कृषिबाट आर्थिक सम्पन्नता हासिल गरेको किसान र परिवारले शहर र सुविधायुक्त क्षेत्रमा जमिन किन्ने, बसाइँ सर्ने, आफ्ना सन्तानलाई आधुनिक शिक्षा दिने र यसरी शिक्षा पाएको नयाँ सन्तानले कृषिमा इच्छा नराख्ने, राख्न खोजे पनि अविभावकले नै खेती प्रणालीमा जोडिएको हेर्न नचाहने, कृषिप्रति गलत बुझाइ विकास हुँदै जाने, कृषि श्रमशक्ति घट्ने, संयुक्त परिवारबाट एकल परिवारमा रुपान्तरण हुने संस्कृतिको विस्तार हुनेजस्ता प्रक्रियाले पनि कृषिको क्षेत्रफल घटाउन सहयोग गर्याे ।
चौथो, वन क्षेत्रको विस्तार अर्को कारण थियो । नेपालले २०४६ सालयता अपनाएको वन संरक्षण नीति, यसको आवश्यकता र उपयोगिताको दीर्घकालीन आधारको अध्ययनको वस्तुगत अभाव आदि कारणले वनको क्षेत्रफल बढायो भने कृषि अभ्यास र समाजमा आएको परिवर्तित सोचका कारण बाँझो रहेको जमिनमा क्रमश: हुर्कंदै गएको रूख र बिरुवाले जंगलको रूप लिन पुग्दा थप वन क्षेत्र बढ्यो ।
पाँचौँ, आधुनिक पशुपालनले पनि जंगलको क्षेत्रफल बढाउन मद्दत गर्याे, पछिल्लो समय गाउँमा दूध र मासुजन्य आधुनिक पशुपालनको अभ्यास निकै फस्टाएको छ । उक्त पशुपालनका लागि आवश्यक पर्ने डाले घाँसको खेती मजाले फस्टाएको छ गाउँमा । जुन गुणस्तर पशुपालनका लागि आवश्यक पनि छ । तर, यसले खेती गर्ने जमिननजिक जंगल विस्तारमा सहयोग पुग्यो ।
छैटौँ, जलवायु परिवर्तन र वर्षाको चक्रमा आएको परिवर्तनका कारण छिट्टै फल तथा मुना पालुवा दिने बिरुवामा संकट सिर्जना गर्यो, जुन बाँदरले आफ्नो आहाराको रूपमा प्रयोग गर्थ्यो । उक्त बोटबिरुवा, बुट्यान र साना रुखको जरा धेरै तलसम्म नफैलिने हुनाले जमिनको माथिल्लो सतहमा सुक्खापन वृद्धि भएसँगै मासिन सुरु भयो । यसले बाँदरको जङ्गली आहारामा संकुचन ल्याइदियो । र, बाँदरलाई छिटोछिटो खेतीमा आफ्नो आहाराका लागि आउन मद्दत गर्यो ।
यो सबै कारणले एकातिर क्षेत्रफलका हिसाबले वन क्षेत्र बढ्ने, अर्कोतिर कृषि क्षेत्र घट्ने, बालीको विविधीकरण हराउँदै जाने, जंगली आहार स्रोत घट्दो हुनेजस्ता कारणले बाँदर सिधै किसानको खेतबारीसम्म आइपुग्ने अवस्था निर्माण भयो ।
बाँदर चेतना र सक्रियताको पक्षले अन्य जनावरभन्दा चलाख हुने हुनाले उसलाई आउने समयका लागि कहाँकहाँ बाली छ भन्ने पहिचान गर्न सजिलो बनाउँदै लग्यो, जसको परिणाम आज मानव र बाँदरबीच चर्को द्वन्द्व चलिरहेको छ ।
बाँदरले दुःख दिएको र बालीबाट सम्भव नभएका क्षेत्रमा वैकल्पिक ग्रामीण अर्थतन्त्रको रूपमा आधुनिक पशुपालनको अवधारणालाई व्यापक रूपमा अगाडि लैजान सकिन्छ, जहाँ डाले घाँस हुने रुखको व्यवस्थापन गर्न सकिन्छ । पशुपालनबाट प्राप्त हुने आर्थिक लाभले खाद्यान्नको सुरक्षा र व्यवस्थापन गर्न सकिन्छ ।
यसको पछाडि हाम्रो राजनीतिक दृष्टिकोण, नीतिगत अवधारणा, सामाजिक बुझाइ, पारिवारिक रोजाइ र सोच, हाम्रो विकास अभ्यास जोडिएको छ । त्यसैले यसको सुधार पनि यिनै कुराको सुधार र गाउँबाट खोज्नु पर्ने देखिन्छ ।
त्यसका लागि हामीले हाम्रो कृषि प्रणाली मात्र होइन, खाद्यान्न उत्पादन प्रणाली र खाद्यान्न उपभोग संस्कृतिमा रुपान्तरण गर्न जरुरी छ । त्यसका लागि कुनै थप वैज्ञानिक आधार खोजिरहनुपर्ने पनि देखिँदैन । केवल त्यसका लागि बालीको छनोट र खेती गर्ने तरिका विकास गरेर किसानसमक्ष पुर्याए पुग्छ । त्यसका लागि पाँचौँ वर्ष कुर्न र लामो दीर्घकालीन योजना आवश्यक पर्ने पनि देखिँदैन ।
कसरी गर्न सकिन्छ त रुपान्तरण ?
नेपालमा मच्चिएको बाँदर आतंकबाट कृषि बाली जोगाउन र किसानले व्यहोर्नुपरेको क्षति रोक्न खाद्य बाली र खाद्य संस्कृतिमा रुपान्तरण गर्न सके धेरै राहत मिल्न सक्छ । कृषि र किसानको तर्फबाट गर्न सकिने खेती प्रणालीमा नै यो उपाय खोज्न सकिन्छ । त्यसका लागि तहगत बालीलाई खाद्य बाली रुपान्तरणको रूपमा विकास गर्न सकिन्छ ।
ती बालीहरूमा जमिनमुनि गरिने खेती पिँडालु, सक्खरखण्ड, सिमल तरुल, तरुल, जमिनमाथि हुने लहरे फल गिट्ठा, भ्याकुर, काउसो खेती हुन सक्छन् । जुन बाँदरले क्षति गर्दैन भने यसलाई जंगलबाट खेतीमा पस्न सुरु गर्नबाट रोक्ने पहिलो घेराको रूपमा प्रयोग गरेर ती उत्पादन हुने कृषि वस्तुलाई विभिन्न खाद्य परिकारको रूपमा विकास गरी थप नयाँ खाद्य प्रणाली र संस्कृतिको विकास गर्न सकिन्छ ।
अर्को, अहिले अभ्यास गरिरहेको खाने अन्नको रूपमा प्रयोग गरिने मकै, कोदो, धान, गहुँ, जौ, फाफरजस्ता बाली जुन बाँदरले सिधै खेती गरेको ठाउँमा नै पसेर खान सक्छ, त्यस्ता बालीलाई चाहिँ ती बाँदरले सिधै खान नसक्ने गरेर दोस्रो घेरामा लगाउने खेती प्रणाली अपनाउन सकिन्छ ।
यसका लागि जंगलको नजिक खेत र बारी भएको किसानलाई यो खेतीमा प्रोत्साहित गर्ने र त्यसभित्र पर्ने किसानलाई अहिले हुँदै आएको खेती गर्न लगाउन सकिन्छ ।
यसो गर्दा जंगल नजिक लगाइएका ती जमिनमुनि र माथि लगाइएको खेती जुन सिधै फल खान मिल्दैन, त्यसबाट खेती जोगाउन सहज बनाउन सकिन्छ भने उक्त खेती गरेको क्षेत्रफलदेखि बाँदर सिधै खेती गरेको बालीसम्म आइपुग्दा बाँदर धपाउन पनि सजिलो हुन सक्छ भने कम क्षति हुने सम्भावना बढेर जान्छ ।
यसले बाँदर व्यवस्थापन गर्न अपनाउन सकिने दोहोरो नीतिअन्तर्गत पर्ने कम आकर्षक क्षेत्र (non–attractive zone) विकासमा मद्दत पुग्न सक्छ, जुन कृषि प्रणालीमार्फत बाँदर व्यवस्थापन गर्न अपनाउन सकिने विधिभित्रको उपाय नै हो । यसबाट अन्न खेती गर्ने र अन्य बाली खेती गर्न किसानबीच खाद्यान्न सटही संस्कृतिलाई पनि विकास गर्न सकिन्छ ।
त्यस्तै गरेर बाँदरले दुःख दिएको र बालीबाट सम्भव नभएका क्षेत्रमा वैकल्पिक ग्रामीण अर्थतन्त्रको रूपमा आधुनिक पशुपालनको अवधारणालाई व्यापक रूपमा अगाडि लैजान सकिन्छ, जहाँ डाले घाँस हुने रुखको व्यवस्थापन गर्न सकिन्छ । पशुपालनबाट प्राप्त हुने आर्थिक लाभले खाद्यान्नको सुरक्षा र व्यवस्थापन गर्न सकिन्छ ।
यो किन गर्न सकिन्छ भने अबको समाज सापेक्षित र एक्लो रूपमा छैन । ग्लोबल भिलेजको अवधारणा र आर्थिक सञ्जालले छोएको छ । यसमा विश्वको सम्पूर्ण व्यापार सम्बन्ध जोडिएको छ भने कृषि परिवारलाई आवश्यक पर्ने खाद्यान्न जोहो बजार संयन्त्रबाट आपूर्ति गरेर गराउन सकिन्छ । जुन नौलो होइन, किनभने अहिले हाम्रो अधिकांश ग्रामीण घरधुरीले आफ्नो वार्षिक खाद्यान्नको आधार बजारलाई नै बनाएको छ भने त्यसका लागि आवश्यक पर्ने वित्तीय स्रोत तिनै बालीको बजारीकरण गरेर निर्माण गर्न सकिन्छ ।
कसरी व्यावहारिक बनाउन सकिन्छ यो प्रणालीलाई ?
पक्कै पनि नेपालमा अझै खाद्यान्न स्रोतको आधार र विश्वास अन्नमाथि नै छ । दैनिक खानामा मकै, कोदो र चामलको प्रयोग धेरै नै हुन्छ । यसमध्ये चामलको प्रयोग सबैभन्दा धेरै हुने कुरा तथ्यांकहरूले पनि देखाएका छन् । यस्तो अवस्थामा आममानिसमा यसरी जमिनमुनि फलाइएका कन्दमूलजन्य कृषि वस्तुलाई खाद्यान्नको रूपमा उपभोग गराउने संस्कृति विकास गर्नु सामाजिक र मनोवैज्ञानिक चुनौती हुन सक्छ । तर, यो असम्भव भने होइन ।
खाद्यान्न संस्कृति मूलतः सामाजिक संस्कार, समुदायगत अभ्यास, स्वास्थ्य अवस्था र चेतना, खाद्यान्नको आधुनिक सभ्यता र प्रतिष्ठा र अर्को बजारीकरणमा अपनाइने विधि आदिले भूमिका खेलेको हुन्छ । हामीले उदाहरणका लागि हेर्न सक्छौँ, अझै पनि धेरै ल्याटिन अमेरिकी र अफ्रिकी देशका नागरिकले सिमल तरुललाई सामाजिक र जातीय खानाको रूपमा उपभोग गरिरहेका छन् ।
सुपरस्टोरमा यसका पिठो र परिकार खरिद गर्न सकिन्छ । नेपालमा पनि पछिल्लो समय स्वास्थ्य, प्रतिष्ठा र सोखका कारणले कोदो, फाफर, सिस्नो, हरियो तरकारी, साग, एभोकार्डो, ड्रागन फल, जंगलमा पाइने पानी अमला, जामुन, काफल आदि खाने शहरी संस्कृति विकास भएको छ । यसमा राज्यले अपनाएको नीति, व्यक्तिमा आएको सोचको परिवर्तन, बजारीकरण प्रक्रिया र ती खानामा पाइने पोषणयुक्त तत्त्व र यसको फाइदाजस्ता कुराले भूमिका खेलेको छ ।
हो, त्यसरी नै यी जमिनमुनि फल्ने खेती जुन पहिलो घेरामा खेती गरेर उत्पादन गरिन्छ, उक्त कृषिउपजको महत्त्व र सामाजिक बुझाइ परिवर्तन गर्न सके रुपान्तरित खेती र खाद्यान्नको रूपमा उपभोक्तामाझ लैजान कठिन नहुन सक्छ ।
त्यसका लागि प्रशोधन विधिमा सुधार ल्याउने, उक्त प्रशोधनका लागि आवश्यक प्रविधि र मेसिनरी औजारको व्यवस्थापन र उपलब्धतामा राज्यले सहयोग गर्ने, प्रविधि र मेसिनरी उपकरणको पहुँच सबै तहका किसानसम्म पुग्ने अवस्था सिर्जना गर्ने, प्रशोधन उद्योग स्थानीय तहमा स्थापना गर्ने, उक्त प्रशोधित पिठो र परिकारको ब्रान्डिङ गर्ने परिस्थिति नीतिगत रूपमा गर्नु आवश्यक हुन्छ । बजारीकरण र भण्डारणमा अहिलेको खाद्यान्न बजारको व्यावसायिक अवधारणालाई नै पछ्याउनु ठीक हुन्छ ।
यी उपायअनुसार खेती गर्दा बाँदरबाट खेती जोगाउन सजिलो मात्र हुने नभई खेती लागत घटाउने, व्यवस्थापनमा सजिलो तुल्याउने, जनशक्ति कम गराउने र बजारीकरणमा पनि सहज बनाउँदा पुराना किसानको सन्दर्भमा मात्र होइन, नयाँ पुस्तालाई पनि खेतीमा आकर्षण गर्न सकिने सम्भावना बढ्न सक्छ । तर, यसरी उत्पादन भएको कृषि वस्तु स्वदेशमा मात्र खपत हुन नसक्ने अवस्था पनि आउन सक्छ । यसका लागि राज्यले आवश्यक पहल र संवाद गर्दै नीतिगत व्यवस्था र सुविधाको प्रबन्ध गर्नुपर्छ ।
अतः यो अवधारणामा जान सके मानव–बाँदरबीचको द्वन्द्व कम गर्न मात्र होइन, कृषिको विकास र सरलता निर्माण गर्न, आर्थिक वृद्धि र रोजगारी सिर्जनामा पनि टेवा पुग्न सक्छ । यसका लागि राज्य, सरोकारवाला र किसानले संयुक्त पहल गर्नुपर्छ ।
(गुरुङ कृषि विकास र अर्थशास्त्रको अध्ययन र अनुसन्धानमा आबद्ध छन् ।)
प्रकाशित मिति: मंगलबार, असार ९, २०८३
०८:०८
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
काठमाडौँ