इराकलाई हराउँदै फ्रान्स नकआउट चरणमा, आज पनि चम्किए एम्बाप्पे
corporatenepal.com · Tue Jun 23 02:28:49 GMT 2026

काठमाडौं । फ्रान्सले फिफा विश्वकपको समूह चरणमा लगातार दोस्रो जित हासिल गर्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ। समूह ‘आई’ अन्तर्गत भएको खेलमा फ्रान्सले इराकलाई ३–० गोलअन्तरले पराजित गरेको हो।
फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पे चम्किए। उनले खेलको १४औँ र ५४औँ मिनेटमा गोल गर्दै टोलीलाई मजबुत अवस्थामा पुर्याए। यससँगै एम्बाप्पेले विश्वकप इतिहासमा जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजले बनाएको १६ गोलको कीर्तिमानसँग बराबरी गरेका छन्। अर्जेन्टिनाका स्टार खेलाडी लियोन मेस्सीको विश्वकप गोल रेकर्डलाई उछिन्न उनी अब केवल तीन गोल टाढा छन्।
Advertisement
खेलको पहिलो हाफपछि परेको भारी वर्षाले प्रतिस्पर्धा केही समय रोकिएको थियो, जसका कारण दोस्रो हाफ निर्धारित समयभन्दा ढिलो सुरु भएको थियो। त्यसपछि ६६औँ मिनेटमा उस्मान डेम्बेलेले अर्को गोल थप्दै फ्रान्सको जितलाई सुनिश्चित गरे।
यसअघि पहिलो खेलमा सेनेगललाई ३–१ ले हराएको फ्रान्सले इराकमाथिको जितसँगै ६ अंक बटुल्दै समूहको शीर्ष स्थानमा आफूलाई बलियो बनाएको छ। लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको फ्रान्स प्रतियोगिताको उपाधि दाबेदार टोलीका रूपमा थप मजबुत देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ
फिफा