तीन प्रदेशका एक्ला ह्विलचेयर निर्माता
gorkhapatraonline.com · Tue Jun 23 03:15:53 GMT 2026

नयाँ ह्विलचेयर बनाउनु परेमा वा पुराना मर्मत गर्नु परेमा प्रदेशमा सबैका लागि सहयोगी हात भनेर सुर्खेतका नरेन्द्रराज रानालाई चिनिन्छ ।
कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अपाङ्गता भएकाका लागि हिँडडुल गर्न सक्ने सहायता सामग्री ह्विलचेयर बनाउनका लागि तीन वटा प्रदेशमा राना मात्रै ‘ह्विलचियर एसेम्बरल’ का रूपमा परिचित हुनुहुन्छ । सुर्खेतको चिङ्गाड गाउँपालिका–५, अवलचिङ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१२ मा बस्दै आउनुभएका ५५ वर्षीय राना मेरुदण्ड भाँचिएर शारीरिक रूपमा आफैँ अशक्त हुनुहुन्छ । उहाँ ह्विलचेयर सहायता सामग्री बनाउनेदेखि मर्मत गर्नेसम्मको काम आफैँ गर्नुहुन्छ । त्यति मात्र होइन, उहाँले पहिलो पटक ह्विलचेयर कसरी बस्ने, हिँडडुल कसरी गर्ने भनेर प्रशिक्षण पनि दिनुहुन्छ ।
उहाँ २०६६ सालदेखि साइनिङ अस्पताल आइएनएफ नेपाल सुर्खेतमा ह्विलचेयर एसेम्बलरका रूपमा कार्यरत हुनुहुन्छ । तीनमहिने ह्विलचेयर बनाउने तालिम लिएर गाउँघरमा सेवा दिँदै आउनुभएका रानाले भारतको बैङ्गलोरमा गएर पनि तालिम लिइसक्नुभएको छ । उहाँले सुर्खेतमा ह्विलचेयर मात्र होइन, बैसाखी, कृतिम खुट्टालगायतका सामग्री बनाउने र मर्मत गर्ने काम गर्दै आउनुभएको छ ।
साइनिङ अस्पताल आइएनएफ नेपाल सुर्खेतमा र अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक सम्पूर्ण सहायता सामग्री निर्माण गर्ने गरिन्छ । पश्चिम नेपालमा सुर्खेतमा मात्रै यी सामग्री निर्माण हुने गर्छ । राना अहिले यही केन्द्रको मुख्य प्रशिक्षक हुनुहुन्छ ।
रानाका अनुसार यस्ता सामग्रीमा पहिलो पटक बस्न र हिँडडुल गर्न नजान्दा लडेर घाइते हुने र नजान्दा जोखिम पनि भएकाले कसरी चढ्ने, कसरी सुरक्षित तरिकाले बाटोमा हिँडडुल गर्ने भनेर सिकाउनुपर्ने हुन्छ । उहाँ भन्नुहुन्छ, “हातमा सिप सिकेपछि कहिल्यै भोकै हुन पर्दैन । समाजमा यसै पनि अपाङ्गता भएकालाई जीवनयापन सहज छैन । म ह्विलचेयरमै बसेर सबै काम गरिरहेको छु ।” कम्मरभन्दा मुनिको भाग चल्दैन तर हरेस खाएर कहिल्यै नबसेको पनि उहाँले बताउनुभयो । ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र लिनु भएका रानाले मासिक २१ सय रुपियाँ सरकारबाट प्राप्त गर्न‘हुन्छ । सरकारी सेवा लिन जाँदा लाइनमा बस्नु पर्दैन तर भौतिक पूर्वाधार अपाङ्गमैत्री नहुँदा ह्विलचेयर प्रयोगकर्तालाई गाह्रो भएको उहाँको गुनासो थियो ।
साइनिङ अस्पताल आइएनएफ नेपाल सुर्खेतका प्रमुख ललितबहादुर सारूका अनुसार संस्थाको केन्द्रमा निर्माण हुने अपाङ्गता सहायता सामग्री रानाकै अगुवाइमा निर्माण
हुने गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)