मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लालझाँडी गाउँपालिकाद्धारा ४६ करोड बढीको बजेट पारित

gorkhapatraonline.com · Tue Jun 23 03:46:14 GMT 2026

कञ्चनपुरको लालझाँडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । सोमबार सम्पन्न २० औँ गाउँ सभाको दोस्रो बैठकले ४६ करोड ५ लाख ९ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक सँगै पारित गरेको हो ।

गाउँपालिकाका अध्यक्ष निर्मल रानाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएसँगै उपाध्यक्ष सपना चौधरी रानाले आगामी आर्थिक वर्ष २०८३/०८४का लागि उक्त बजेट गाउँ सभामा प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष रानाले प्रस्तुत गर्नुभएको बजेटमा सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९ करोड ५३ लाख, सशर्त अनुदान तर्फ १५ करोड ४२ लाख, विशेष अनुदान २ करोड २० लाख, समपूरक अनुदानतर्फ २ करोड २९ लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यसै गरी, सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान तर्फ ८५ लाख ६९ हजार, समपूरक अनुदान तर्फ ९५ लाख ४१ हजार, विशेष अनुदानतर्फ ६६ लाख ५० हजार रुपियाँ र प्रदेश सरकार शसर्त अनुदान तर्फ ७५ लाख रुपियाँको बजेट प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै सङ्घीय सरकारको राजश्व बाँडफाँड तर्फ ९ करोड ९९ लाख ४० हजार, प्रदेश राजश्व फाँडाफाँडबाट ३१ लाख ९ हजार, आगामी आर्थिक वर्षका लागि आन्तरिक राजश्व तर्फ एक करोड रुपियाँ अनुमान गरिएको छ ।

प्रस्तुत बजेट अनुसार चालु खर्चतर्फ २५ करोड ७२ लाख ४९ हजार रुपियाँ र पुँजीगत खर्चतर्फ २० करोड ३२ लाख ६० हजार रुपियाँ विनियोजन गरिएको छ । कुल बजेटमध्ये विषयगत शाखा तर्फ जम्मा व्यय तीन करोड ५६ लाख ६० हजार रुपियाँ हुने अनुमान गरिएको छ । जसमध्ये अध्यक्ष विशेष पूर्वाधार विकास कार्यक्रम अन्तरगत एक करोड ५० लाख, स्वास्थ्य शाखाका लागि ७६ लाख तीन हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

६ वडा रहेका गाउँपालिकामा वडा नम्बर १ का लागि आगामी आवमा ४९ लाख, वडा नम्बर २ का लागि ३५ लाख ९१ हजार, वडा ३ का लागि ३५ लाख ६७ हजार, वडा ४ का लागि ४६ लाख २३ हजार, वडा ५ का लागि ३३ लाख ५९ हजार र वडा ६ का लागि २९ लाख ६० हजार रुपियाँ छुट्टाइएको छ ।

शिक्षा, स्वास्थ्य, कृषि र ग्रामीण सडकलाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याइएको गाउँपालिकााक प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले बताउनुभयो । उहाँका अनुसार, सामाजिक सुरक्षा रकम बाहेकको ६ करोड ५ लाख ९ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक सँगै पारित भएको हो । लालझाँडी गाउँपालिका जिल्ला भर नीति तथा कार्यक्रम सार्वजनिकसँगै पारित गर्ने पहिलो भएको प्रमुख प्रशासकीय अधिकृत सार्कीको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय