समाचार छिटो छरितो सम्प्रेषण गर्न आग्रह
gorkhapatraonline.com · Tue Jun 23 03:53:53 GMT 2026

नारायणगढ, असार ९ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आफ्नो मन्त्रालयमातहतका दुई कार्यालयको निरीक्षण गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन आएका मन्त्री तिमिल्सिनाले राष्ट्रिय समाचार समितिको भरतपुर कार्यालय र नेपाल टेलिकमको भरतपुर शाखा सोमबार निरीक्षण गर्नुभएको हो ।
राससको निरीक्षण गर्दै उहाँले समाचार सेवालाई छिटोछरितो रूपमा सम्प्रेषण गर्न आग्रह गर्नुभयो । “समाचार सेवालाई छिटोछरितो रूपमा सम्प्रेषण गर्नुहोला । तपार्इंहरूको काम प्रभावकारी हुनु पर्छ,” निरीक्षणका व्रmममा राससका प्रतिनिधहरूलाई निर्देशन दिँदै उहाँले भन्नुभयो । उहाँले राससको नवनिर्मित भवनको निरीक्षणपछि यो भवनलाई जतिसक्दो चाँडो सञ्चालन गर्न पनि निर्देशन दिनुभयो । राससले भरतपुरमा आफ्नो भवनसँगै तालिम भवनसमेत निर्माण गरेको छ । सो अवसरमा उहाँले समाचारको विश्वसनीयतामा पनि जोड दिनुभयो । “नवनिर्मित भवन छिटो सञ्चालन गर्नु पर्छ,” उहाँले भन्नुभयो । उहाँले राससमा कार्यरत कर्मचारी तथा स्ट्रिन्जरका बारेमा आवश्यक जानकारीसमेत लिनुभयो ।
सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले भरखर मात्रै निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको त्यो भवन सुविधासम्पन्न तालिम हल हो । भरतपुर महानगरपालिका–१० स्थित सो भवन निर्माणका लागि पाँच करोड ७६ लाख ७१ हजार रुपियाँ खर्च भएको छ । भवनमा २० वटा कोठा र सभाकक्ष छन् । भवनमा भूमिगत पार्किङ र चमेनागृहसमेत छ । मन्त्री तिमिल्सिनाले सबै क्षेत्रको अवलोकन गर्नुभयो ।
यस्तै सूचना तथा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपाल टेलिकमको पनि भरतपुर शाखा भवन निरीक्षण गर्दै सेवाग्राहीलाई खुसी बनाएर आफू पनि खुसी हुन निर्देशन दिनुभयो । “सेवाग्राहीलाई खुसी बनाउनुस,” उहाँले भन्नुभयो, “तपाईं भनेको सरकार हो । सेवाग्राही जो आउँछन्, ती हँसिलो मुख लिएर जाऊन् ।”
विगतमा कर्मचारीले बोल्नै अल्छी माने जस्तो, वास्ता नगरेको, ध्यान नदिएको जस्ता गतिविधिका कारण सामान्य नागरिक सरकारी कार्यालय जानै मन नलाग्ने अवस्थामा पुग्ने गरेको भन्दै उहाँले त्यो अवस्था हटाउन कर्मचारीसँग आग्रह गर्नुभयो ।
“जवाफ दिँदा पनि छुच्चो किसिमको दिएको जस्तो सेवाग्राहीले अनुभव नगनरून्,” उहाँको भनाइ थियो ।
“तपाईंहरूको सबैको जिन्दगीको आधार भनेको म होइन, सरकार होइन; त्यही पब्लिक हो । त्यही पब्लिकले तिरेको पैसाले तपाईंको जिन्दगी चल्ने हो । तपाईंको सबैभन्दा ठुलो जवाफदेही दायित्व भनेको पब्लिकलाई खुसी बनाउनु हो,” उहाँले भन्नुभयो ।
मन्त्री डा. तिमिल्सिनाले कर्मचारीलाई ऊर्जाशील ढङ्गले काम गर्न आग्रह गर्नुभयो । सो अवसरमा नेपाल टेलिकम भरतपुर शाखा कार्यालयका प्रमुख राकेश चौधरीले कर्मचारीको वृत्तिविकास, आवश्यक उपकरण र अन्य समस्याबारे मन्त्रीसमक्ष जानकारी गराउनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)