मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विष्णु पौडेल पक्राउबारे ओलीले भने- सत्ताको उन्मादमा अधिनायकवादी कदम

setopati.com · Tue Jun 23 03:54:07 GMT 2026

नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतमा रहेका बेला पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाउँदै सरकारमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार जारी गरेको प्रेस वक्तव्यमा पौडेललाई 'गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार गरिएको' बताउँदै त्यसको घोर निन्दा र भर्त्सना गरेका छन्।

ओलीले वर्तमान सत्तापक्षले विपक्षी दलप्रति अराजनीतिक, अलोकतान्त्रिक र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको आरोप लगाएका छन्।

'वर्तमान सत्तापक्षले विपक्षी दलहरूप्रति अख्तियार गरेको अराजनीतिक, अलोकतान्त्रिक र नांगो प्रतिशोधको यो अर्को पराकाष्ठा हो,' वक्तव्यमा भनिएको छ, 'यो दमनकारी कदम र हाम्रो पार्टीमाथि लगातार भइरहेका षड्यन्त्रबद्ध प्रहार तथा राजनीतिक पूर्वाग्रहको निरन्तरता हो।'

एमालेका अनुसार पौडेल सुर्खेतमा पार्टीको सांगठनिक कार्यक्रममा सहभागी भएका थिए र कार्यक्रम सकेर सोमबार काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यतालिका थियो।

पार्टीले सामान्य कानुनी प्रक्रियाबाट पनि अनुसन्धान गर्न सकिने अवस्था हुँदाहुँदै पक्राउ गरिएको भन्दै त्यसलाई 'सस्तो राजनीतिक स्टन्ट' को संज्ञा दिएको छ।

'सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सधैं सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो स्टन्ट र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको छ,' वक्तव्यमा उल्लेख छ।

एमालेले सरकार अलोकतान्त्रिक र अधिनायकवादी दिशातर्फ उन्मुख भएको आरोप लगाउँदै विपक्षी नेतामाथि लक्षित यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिएको छ।

'विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गरियोस्,' ओलीले भनेका छन्।

सरकारले लोकतन्त्रविरोधी गतिविधि गरिरहेको आरोप लगाउँदै एमालेले देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिलाई एकजुट भएर प्रतिवाद गर्न आह्वान समेत गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)