मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

gorkhapatraonline.com · Tue Jun 23 04:06:30 GMT 2026

बाँकेको नरैनापुर गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पालिकाभित्रका सबै लक्षित बालबालिकालाई नियमित खोपको पहुँचमा ल्याउन सफल भएपछि गाउँपालिकालाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो।

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहका अनुसार पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा निर्देशिकाअनुसार आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी पालिकाका ६ वटै वडामा घरदैलो सर्वेक्षण सञ्चालन गरिएको थियो।

सर्वेक्षणका क्रममा १६ देखि २३ महिनासम्मका ९०२ जना बालबालिका पहिचान गरिएका थिए। तीमध्ये ६७६ जना बालबालिकाले नियमित खोप प्राप्त गरिसकेका थिए भने छुट भएका २२६ जना बालबालिकालाई समेत खोप सेवाको पहुँचमा ल्याइएपछि गाउँपालिकाले पूर्णखोप सुनिश्चितताको मापदण्ड पूरा गरेको स्वास्थ्य शाखा प्रमुख शाहले जानकारी दिनुभयो।

घोषणा समारोहमा जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष ज्ञानेन्द्र चौधरीले गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो। त्यसपछि अध्यक्ष शाहले सबै वडाका स्वास्थ्य संस्था प्रमुखहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो।

सो अवसरमा पूर्णखोप अभियानलाई सफल बनाउन योगदान पुर्‍याउने १२ जना खोप कार्यकर्तालाई सम्मान गरिएको थियो भने स्वास्थ्य सेवाबाट निवृत्त भएका तीन जनालाई बिदाइ समेत गरिएको थियो।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष चौधरी, गाउँपालिका अध्यक्ष शाह र प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले पूर्णखोप सुनिश्चितता घोषणा केवल प्रशासनिक उपलब्धि मात्र नभई बालबालिकाको स्वास्थ्य सुरक्षाप्रति पालिकाको दृढ प्रतिबद्धताको प्रमाण भएको बताउनुभयो। उहाँहरूले स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक तथा सरोकारवालाहरूको सामूहिक प्रयासबाट यो सफलता सम्भव भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख सीता कार्की, गाउँपालिका उपाध्यक्ष जयन्ती श्रीवास्तव, वडा नं. १ का अध्यक्ष इसाक जोलाहा, वडा नं. ६ का अध्यक्ष प्रेम मौर्य, प्रशासकीय अधिकृत भरत महतो, स्वास्थ्य शाखाका सहसंयोजक करम चौधरी, स्वास्थ्यकर्मी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय