मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तुलसीपुर र घोराहीको बजेट सार्वजनिक

gorkhapatraonline.com · Tue Jun 23 04:09:30 GMT 2026

दाङका दुई उपमहानगरपालिका तुलसीपुर र घोराहीले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन् । दुवै स्थानीय तहले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, सामाजिक विकास तथा सुशासनलाई प्राथमिकतामा राख्दै बजेट ल्याएका हुन् ।

तुलसीपुर उपमहानगरपालिकाले दुई अर्ब ४४ करोड ९५ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ भने घोराही उपमहानगरपालिकाले दुई अर्ब ३७ करोड ९५ लाख २२ हजार रुपियाँको बजेट ल्याएको छ । तुलसीपुर उपमहानगरपालिकाले चालु आवको तुलनामा आगामी वर्षका लागि करिब ३८ करोड रुपियाँ बढी बजेट विनियोजन गरेको छ । उपमहानगरपालिकाको नगर सभामा उपप्रमुख स्यानी चौधरीले बजेट प्रस्तुत गर्नुभएको हो ।

तुलसीपुरले आन्तरिक स्रोतबाट ५४ करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । यसबाहेक स्थानीय तह राजस्व बाँडफाँट तथा मालपोत रजिस्ट्रेसन शुल्कबाट २४ करोड, ढुङ्गा, गिटी बिक्रीबाट चार करोड तथा विज्ञापन करबाट १५ लाख रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ ।

सङ्घीय सरकारबाट समानीकरण अनुदानतर्फ २८ करोड ७७ लाख, ससर्त अनुदान ६७ करोड २३ लाख, समपूरक अनुदान ६० लाख, विशेष अनुदान ८८ लाख तथा राजस्व बाँडफाँटमार्फत २४ करोड नौ लाख ५७ हजार रुपियाँ प्राप्त हुने अपेक्षा गरिएको छ ।

त्यसै गरी प्रदेश सरकारबाट ससर्त अनुदान दुई करोड दुई लाख ५० हजार, समपूरक अनुदान एक करोड ५० लाख, विशेष अनुदान २० लाख तथा राजस्व बाँडफाँटबाट दुई करोड ४१ लाख ८६ हजार रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ । सडक बोर्डबाट एक करोड, नगर विकास कोषबाट दुई करोड १० लाख रुपियाँ प्राप्त हुने लक्ष्यसमेत बजेटमा समेटिएको छ ।

तुलसीपुरले कुल बजेटमध्ये एक अर्ब ३९ करोड ६० लाख रुपियाँ अर्थात् ५६ प्रतिशत चालु खर्चतर्फ विनियोजन गरेको छ भने एक अर्ब एक करोड ३८ लाख २८ हजार रुपियाँ अर्थात् ४२.३५ प्रतिशत पुँजीगत खर्चका लागि छुट्याएको छ ।

घोराही उपमहानगरपालिकाले आगामी आवका लागि दुई अर्ब ३७ करोड ९५ लाख २२ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । १९ औँ नगर सभामा उपप्रमुख हुमाकुमारी डिसीले बजेट प्रस्तुत गर्नुभयो । चालु आवमा घोराहीले दुई अर्ब २९ करोड २९ लाख रुपियाँको बजेट ल्याएको थियो ।

घोराहीले कुल बजेटमध्ये एक अर्ब ३५ करोड ४५ लाख ४५ हजार रुपियाँ अर्थात् ५६.९३ प्रतिशत चालु खर्चतर्फ तथा एक अर्ब दुई करोड ४९ लाख ७७ हजार रुपियाँ अर्थात् ४३.०७ प्रतिशत पुँजीगत खर्चतर्फ विनियोजन गरेको छ । घोराही उपमहानगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै यस शीर्षकमा ५४ करोड १७ लाख ६२ हजार रुपियाँ विनियोजन गरेको छ । सामाजिक विकास अन्तर्गत शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, महिला, बालबालिका, सामाजिक समावेशीकरण तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमका लागि १२ करोड ९८ लाख २६ हजार रुपियाँ छुट्याइएको छ ।

कृषि, सिँचाइ, पर्यटन, सहकारी तथा रोजगार प्रवर्धनलगायत आर्थिक विकासका कार्यक्रमका लागि चार करोड तीन लाख २२ हजार रुपियाँ विनियोजन गरिएको छ । वातावरण संरक्षण, सरसफाइ तथा विपत् व्यवस्थापनका लागि दुई करोड चार लाख रुपियाँ, सूचना प्रविधि तथा सञ्चार व्यवस्थापनका लागि ५९ लाख रुपियाँ तथा कर्मचारी क्षमता अभिवृद्धि र नेतृत्व विकासका कार्यक्रमका लागि ११ लाख रुपियाँ बजेट छुट्याइएको छ ।

घोराहीले वडा तहमा समेत उल्लेख्य बजेट विनियोजन गरेको छ । १९ वटै वडा कार्यालयमार्फत पूर्वाधार विकासका लागि पाँच करोड ३२ लाख रुपियाँ तथा सामाजिक विकास र प्रशासनिक सञ्चालनका लागि चार करोड १८ लाख रुपियाँ गरी कुल नौ करोड ५० लाख रुपियाँ बजेट छुट्याइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)