अस्पताल निर्माण अन्तिम चरणमा
gorkhapatraonline.com · Tue Jun 23 04:15:22 GMT 2026

दाङको गढवामा अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको सहयोगमा गढवा गाउँपालिका–६, गढवामा चार वर्षअघि निर्माण सुरु भएको १५ शय्याको आधारभूत अस्पताल भवन निर्माणको करिब ८५ प्रतिशत काम पूरा भएको छ ।
गढवा गाउँपालिकाका इन्जिनियर विनयकुमार यादवले चालु आव २०८२/८३ मा अस्पताल भवन निर्माणको काम सम्पन्न गरी आधारभूत अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य अनुसार निर्माणको काम गरिए पनि बजेट अभावका कारण १५ प्रतिशत काम बाँकी रहेको बताउनुभयो । इन्जिनियर यादवका अनुसार अस्पताल भवन, पोस्टमार्टम भवन, प्लास्टरको काम भए पनि रङरोगन, झ्यालढोका जडान, विद्युत् वायरिङ तथा अन्य सजावटका काम बाँकी छन् ।
बाँकी काम २०८३ कात्तिकसम्म सक्ने गरी ठेकेदारलाई म्याद थप गरिएको इन्जिनियर यादवले बताउनुभयो । अस्पताल भवन निर्माणका लागि २०८१ चैतभित्र निर्माणको काम सक्ने गरी २०७९ फागुनमा श्याम सुन्दर–एनबी जेभी, बुटवलसँग मूल्य अभिवृद्धि कर (भ्याट) सहित १३ करोड ४९ लाख ६८ हजार नौ सय रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)