नास्टद्वारा सौर्य पीभी रूफटप प्रणाली सम्बन्धी गोष्ठी सम्पन्न
newsofnepal.com · Tue Jun 23 04:21:04 GMT 2026

ललितपुर
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को प्रविधि संकायद्वारा आज खुमलटारस्थित नास्ट परिसरमा ‘सोलार पीभी रूफटप सिस्टम’ विषयकएकदिने गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन नास्टकी कायममुकायम प्रमुख डा. दीपाश्री रावल ले गर्नुभएको थियो। उद्घाटन मन्तव्यमा उहाँले नेपालमा स्वच्छ, दिगो तथानवप्रवर्तनमा आधारित ऊर्जा प्रविधिको विकास र विस्तारमा अनुसन्धान तथा ज्ञान आदानप्रदानको महत्त्वमाथि प्रकाश पार्नुभयो।
गोष्ठीमा प्रा. डा. जगन्नाथ श्रेष्ठ, पूर्व उर्जामन्त्री ई. दीपक ज्ञवाली, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल, नेपाल विद्युत्प्राधिकरणका बसन्त ढकाल, सोसाइटी अफ ईलेक्ट्रिकल इन्जिनियर्सका अध्यक्ष ई. दिली रत्न शाक्य, सुरेन्द्र भक्त माथेमा, ई. कुशल गुरुङलगायतकाविज्ञहरूले सौर्य पीभी रूफटप प्रणालीको प्राविधिक, नीतिगत, वित्तीय तथा व्यावसायिक पक्षबारे प्रस्तुति दिनुभएको थियो।
कार्यक्रमको छलफल सत्रमा सौर्य ऊर्जा, जलविद्युत् तथा राष्ट्रिय विद्युत् प्रणालीबीचको अन्तरसम्बन्धबारे व्यापक विचार-विमर्श भएको थियो।सहभागीहरूले नेपालमा सौर्य पीभी रूफटप प्रणालीलाई राष्ट्रिय ऊर्जा सुरक्षाको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै यसलाईजलविद्युत् तथा राष्ट्रिय प्रसारण प्रणालीको प्रतिस्पर्धी नभई परिपूरक प्रविधिका रूपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए। ऊर्जा मिश्रणसुदृढ बनाउँदै ऊर्जा पहुँच, विश्वसनीयता तथा दिगोपन अभिवृद्धि गर्न सौर्य र जलविद्युत् क्षेत्रबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।
सो अवसरमा पूर्व ऊर्जा मन्त्री तथा नास्टका प्राज्ञ इ. दीपक ज्ञवाली ले नेपालको ऊर्जा सुरक्षालाई थप सुदृढ बनाउन पम्प्ड स्टोरेज जलविद्युत् आयोजनार सौर्य ऊर्जाको संयोजन प्रभावकारी विकल्प हुन सक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले दिनको समयमा सौर्य ऊर्जाबाट प्राप्त विद्युत् उपयोग गरी पानीमाथिल्लो जलाशयमा पम्प गर्ने तथा उच्च माग वा रातिको समयमा सोही पानीबाट विद्युत् उत्पादन गर्न सकिने बताउँदै नेपालका लागि यस्तो एकीकृतप्रणाली उपयुक्त हुने उल्लेख गर्नुभयो। उहाँले सौर्य ऊर्जा र जलविद्युत् एकअर्काका प्रतिस्पर्धी नभई परिपूरक स्रोत भएको उल्लेख गर्दै दुवै प्रविधिकोसमन्वित विकासमार्फत ऊर्जा प्रणालीलाई थप भरपर्दो, दिगो र आत्मनिर्भर बनाउन सकिने बताउनुभयो।
सरकारी निकाय, निजी क्षेत्र, वित्तीय संस्था, ऊर्जा व्यवसायी तथा अनुसन्धानकर्ताहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा सौर्य ऊर्जाप्रवर्द्धनका लागि आवश्यक नीतिगत सुधार, प्राविधिक मापदण्ड, अनुसन्धान तथा लगानी प्रवर्द्धनका विषयमा समेत सार्थक छलफल भएको थियो।
कार्यक्रमको समापन नास्टका प्रविधि संकाय प्रमुख ई. रोशन पाण्डेयले गर्नुभएको थियो। समापन मन्तव्यमा उहाँले नेपालमा स्वच्छ ऊर्जा प्रवर्द्धन,ऊर्जा आत्मनिर्भरता तथा वैज्ञानिक अनुसन्धानलाई सुदृढ बनाउन यस्ता बहुपक्षीय संवाद र प्राविधिक गोष्ठीहरू अत्यन्त उपयोगी हुने बताउनुभयो। साथै, ऊर्जा क्षेत्रका सबै सरोकारवालाबीच सहकार्य र समन्वयलाई अझ सुदृढ बनाउँदै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)