पोखराको पृथ्वीचोक क्षेत्रमा महानगरको डोजर, भग्नावशेष सफा गरिँदै
ratopati.com · Sat May 30 08:57:28 GMT 2026

पोखरा । पोखरा महानगरपालिकाले पर्यटकीय सहर पोखरालाई सुन्दर र व्यवस्थित बनाउने अभियान अन्तर्गत पृथ्वीचोक क्षेत्रमा रहेका अवैध तथा अतिक्रमित संरचनाहरू भत्काएपछि अहिले त्यहाँको भग्नावशेष हटाउने कार्य तीव्र पारेको छ ।
महानगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरू हटाउने क्रममा पृथ्वीचोक क्षेत्रमा डोजर चलाएको हो ।
विशेष चासोका साथ हेरिएको पृथ्वीचोकस्थित हङकङ बजार अगाडिका अतिक्रमित संरचनाहरूमा महानगरपालिकाले गत जेठ १४ गते डोजर चलाएर भत्काएको थियो । लामो समयदेखि सार्वजनिक बाटो तथा जग्गा अतिक्रमण गरी सञ्चालन भइरहेका ती संरचनाहरू हटाउन महानगरले यसअघि नै आग्रह गरेको थियो । महानगरको आग्रहलाई बेवास्ता गरेपछि स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा महानगरको डोजर टोलीले ती अवैध संरचनाहरू पूर्ण रूपमा ध्वस्त पारेको हो ।
अतिक्रमित संरचनाहरू भत्काइएपछि सडक र आसपासको क्षेत्रमा थुप्रिएको ढुङ्गा, इँटा, फलामे डन्डी तथा अन्य फोहोरका भग्नावशेषहरू हटाउन महानगरले अहिले आफ्ना डोजर तथा ट्रिपरहरू परिचालन गरेको छ । व्यस्त सडक किनारमा रहेका यी भग्नावशेषहरूले गर्दा सवारी आवागमन र पैदलयात्रीलाई समस्या परिरहेकाले महानगरले यसलाई तत्काल सफा गर्न लागेको हो ।
तस्बिर : अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)