चियाका पारखी प्रधानमन्त्रीलाई खुला पत्र !
ratopati.com · Tue Jun 23 04:33:38 GMT 2026

श्रीमान् बालेन्द्र शाह (बालेन शाह) ज्यू
सम्माननीय प्रधानमन्त्री, नेपाल सरकार ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
सामाजिक सञ्जालको फिडमा हजुर चियाको निम्ति बानेश्वर पुग्नुभएको र क्याफेमा गफिनुभएको तस्बिरले मनमा बेग्लै तरङ्ग र उमङ्ग ल्यायो । मेरो देशको प्रधानमन्त्रीलाई आज मैले यो खुला पत्र प्रेषित गर्दै गर्दा सायद हजुर बिदामा हुनुहुन्छ वा बजेट छलफल, रास्वपा महाधिवेशन वा नेपाल राष्ट्र र हामी नेपालीको कुनै महत्त्वपूर्ण काम वा अन्य कुनै व्यस्ततामा हुनुहुन्छ होला । मेरो अनुमान छ, सम्माननीय प्रधानमन्त्री देश बनाउने टोलीसँगै हुनुहुन्छ र त्यही विश्वासमा पत्र कोरेको छु ।
कुनै राष्ट्र कानुन र सिमानाले मात्र बाँचेको हुँदैन । राष्ट्र बाँचिरहेको हुन्छ आफ्ना सम्झना, श्रम र आत्मसम्मानमा । र, कहिलेकाहीँ त्यो आत्मसम्मान कुनै ठूलो स्मारकमा भेटिँदैन, एउटा सानो पातमा भेटिन्छ । नेपालको हकमा त्यो पात चियाको हो ।
म जब चियाको कप हेर्छु, मलाई इलामको कुनै किसानको सम्झना आउँछ, जो अझै उज्यालो नहुँदै बगानतिर लाग्छ । मलाई ती आमाको सम्झना आउँछ, जसले दिनभरि पात टिपेर साँझ छोराछोरीको स्कुले फी जोड्छिन् । यो दृश्य कुनै नारामा आउँदैन, तर यही दृश्यले देश बोकेको छ । यति भन्दै गर्दा चियाको कपमा तुफान ल्याउन भने पक्कै खोजेको होइन ।
यथार्थ भन्नैपर्छ र कर्तव्यबोध गर्दै भन्नुपर्दा मलाई अहिले त्यो दृश्य चिसिँदै गएको जस्तो लाग्छ ।
इलाम, झापा, पाँचथर, धनकुटा, ताप्लेजुङलगायतका बगानमा पात अझै फुटिरहेका छन्, तर त्यो पातसँगै फुटेको आशा भने ओइलाउँदै गएको छ । गोदाममा थन्किएका चियाका बोरा भनेका केवल बिक्न नसकेको माल नभएर रोकिएका सपना हुन् । बन्द हुने अवस्थामा पुगेका कारखाना भनेका इँटा–सिमेन्टको संरचना होइनन्, ती हुन् एक पुस्ताको श्रम र भरोसाले बनाएको ठाउँ ।
अहिले धेरै किसानको मनमा एउटै कुरा खेलिरहेको छ, त्यो के भने– हाम्रो पसिनाको भाउ अब कसले तय गर्ने ?
प्रधानमन्त्रीज्यू,
कुनै देशको आर्थिक मेरुदण्ड ठूला जलविद्युत् आयोजना, बैंक वा विदेशबाट आउने रेमिट्यान्सले मात्र बलियो हुँदैन । त्यो मेरुदण्ड त्यहाँ हुन्छ, जहाँ माटो, श्रम र उत्पादन एकसाथ जोडिन्छन् । चिया त्यही जोडिएको ठाउँमा छ ।
यो फगत खेतीपातीको विषय होइन । यसले विदेशी मुद्रा ल्याउँछ, रोजगारी दिन्छ, गाउँको अर्थतन्त्र चलाउँछ । यो नेपालको पहिचान पनि हो, र विदेशसँगको हाम्रो सम्बन्धको एउटा माध्यम पनि हो । तर सबैभन्दा बढी, यो हाम्रो आर्थिक स्वतन्त्रताको जाँच हो, परख हो ।
जुन देशले आफ्नो उत्पादनको भाउ आफैँ तय गर्न सक्दैन, त्यो देश पूरै स्वतन्त्र भएको मान्न सकिँदैन ।
हालै भारतले ल्याएको नयाँ नियमले यही कडा सत्य हाम्रो अगाडि राखिदिएको छ । नब्बे प्रतिशतभन्दा बढी बजार एउटै ठाउँमा थुपार्नु जोखिम त थियो नै, अब त्यो जोखिम सङ्कटमा परिणत भएको छ ।
तर सङ्कटलाई हेर्ने दृष्टिले नै राष्ट्रको भविष्य तय गर्छ । कमजोर नेतृत्वले सङ्कटमा समस्या मात्र देख्छ, टाढा हेर्न सक्ने नेतृत्वले त्यही सङ्कटमा सुधारको ढोका देख्छ ।
मेरो विचारमा यो चियाको सङ्कट चियाको मात्र होइन । यो हाम्रो नीति, कूटनीति र दूरगामी सोचको परीक्षा हो ।
हामीले आफैँलाई केही गाह्रा प्रश्न सोध्नैपर्छ जस्तो लाग्छ । हाम्रो चिया विश्वमा प्रशंसा पाउँछ, तर बजारमा किन कमजोर छ ? हामीले ब्रान्ड बनायौँ, तर किन सौदाबाजी गर्ने शक्ति बनाउन सकेनौँ ? उत्पादन बढायौँ, तर किन त्यसलाई जोगाउने उपाय बनाउन भुल्यौँ ?
यी प्रश्न चियाका मात्र होइनन् । यी प्रश्न नेपालकै हुन् ।
चियाको अर्को अर्थ पनि छ । यो हाम्रो निम्ति व्यापार मात्रै होइन । हाम्रो साहित्य, हाम्रो पर्यटन, हाम्रो कृषि, हाम्रो सभ्यता र परम्परा अनि विरासत हो । पहिचान हो । अनेकतामा एकता बनाएर जोडेर राख्ने कडी हो । स्वाद र संवादको द्वार हो ।
अपरिचित मानिस चियामा परिचित बन्छन् । झगडा परेका मानिस पनि चियाको गिलासमा फेरि बोल्न थाल्छन् । थकाइमा चिया छ, भेटमा चिया छ, गफमा चिया छ, राजनीतिमा पनि चिया नै छ ।
"एक कप चिया खाएर कुरा गरौँ" भन्ने वाक्य हाम्रो समाजमा सामान्य निम्तो होइन । यो रिस मेटाउने, सम्बन्ध जोड्ने एउटा तरिका हो ।
त्यसैले चिया उद्योग कमजोर हुनु निर्यातको तथ्याङ्क घट्नुमा सीमित हुनु कदापि होइन । यो हाम्रो एउटा साझा न्यानोपना घट्नु पनि हो । र, जब त्यो न्यानोपना घट्छ, पहिले उद्योग चिसिन्छ, त्यसपछि बिस्तारै मनको आत्मविश्वास पनि चिसिन्छ ।
प्रधानमन्त्रीज्यू,
म यो पत्र दोष लगाउनलाई लेखेको होइन । म यो सम्झाउनलाई लेखेको हुँ कि राज्यको काम घटनापछि प्रतिक्रिया दिनु मात्र होइन, बाटो देखाउनु पनि हो ।
अहिले आवश्यक के छ भन्ने निर्धारण गर्ने काम राज्य र सरकारको हो, तर मलाई के लाग्छ भने हामीले भारतसँग तुरुन्त छलफल, अन्तर्राष्ट्रिय स्तरको जाँच प्रयोगशाला, अरू बजार खोज्ने प्रयास, राम्रो ब्रान्डिङ, चिया पर्यटनको सम्भावना खोज्ने काम, र भित्रैबाट चिया खपत बढाउने अभियान चलाउनुपर्छ ।
तर यी सबभन्दा माथि, राज्यको स्पष्ट इच्छाशक्ति चाहिन्छ ।
किसानले आफैँ बजार खोज्न सक्दैनन्, यदि राज्यले बाटो खोलिदिएन भने । उद्योगीले एक्लै लामो समय लड्न सक्दैनन्, यदि नीति मौन रह्यो भने । उत्पादनले मात्र भविष्य बनाउँदैन, त्यसपछाडि दृष्टिकोण पनि चाहिन्छ ।
इतिहासमा कहिलेकाहीँ ठूला परिवर्तन साना निर्णयबाट सुरु हुन्छन् । सायद यो पनि त्यस्तै एक मौका हो ।
आज चियाको बाफ कमजोर देखिएको होला, तर त्यही बाफमा भविष्य पनि लुकेको छ । यदि हामीले यो उद्योग जोगायौँ भने, हामीले उद्योग मात्रै बचाउने छैनौँ, बरु हामीले गाउँको इज्जत बचाउनेछौँ, राष्ट्रको आत्मविश्वास बचाउनेछौँ, र आफ्नो आर्थिक स्वतन्त्रता पनि बचाउनेछौँ ।
अन्त्यमा एउटा कुरा भन्न चाहन्छु, देशले आशाले हेरिरहेका प्रधानमन्त्रीलाई–
राष्ट्र अचानक कमजोर बन्दैन, साना-साना बेवास्ताबाट कमजोर हुँदै जान्छ । र, राष्ट्र अचानक महान् पनि बन्दैन, साना-साना ठीक निर्णयले महान् बन्दै जान्छ ।
सायद नेपाल महान् बन्ने एउटा मौका आज इलामको कुनै चियापातमा लुकेको छ ।
प्रधानमन्त्रीज्यू, त्यो पात ओइलाउन नदिनुहोस् । किनकि त्यो पातसँगै किसानको पसिना, परिवारको आशा र राष्ट्रको स्वाभिमान पनि जोडिएको छ ।
चियाको बाफ जोगाउनु भनेकै नेपालको न्यानोपना जोगाउनु हो । बजेटमा छलफल चलेकै छ । छिमेकीसँग कूटनीतिक संवाद प्रारम्भ गर्ने प्रस्थानविन्दु खुलिसकेको छ । पूर्व नेपालमा रहेका हाम्रा आदरणीय नेपालीको यो पीडालाई राष्ट्रिय चिन्ता, चासो र चिन्तनको विषय बनाएर समाधानको निम्ति अग्रसरता लिन हार्दिक अनुरोध छ ।
शब्द सापट लिएको स्वीकार गर्दै,
गरिबको चमेली बोल्दिने कोही छैन ।
सम्मानसहित,
एक सचेत नेपाली नागरिक
डा. नरेश भट्ट
मिति: २०८३ असार ६
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
बालेन शाह