मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुनै उम्मेदवारको प्रस्तावक वा समर्थक बनेको व्यक्ति उम्मेदवार बन्न नपाउने

nepalviews.com · Tue Jun 23 04:34:52 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले आगामी राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवार बन्न आवश्यक पर्ने प्रस्तावक र समर्थक सम्बन्धी नियमहरू सार्वजनिक गरेको छ। आयोगका प्रमुख भुवन केसीद्वारा जारी गरिएको सूचना अनुसार पार्टीका विभिन्न पदमा उम्मेदवारी दर्ता गर्दा प्रस्तावक र समर्थकको संख्या र योग्यता तोकिएको हो।

सूचनामा आयोगले महाधिवेशनअन्तर्गत कार्यतालिका अनुसारको निर्वाचन प्रक्रियामा पार्टी सभापति, पार्टी पदाधिकारी र केन्द्रीय सदस्यसमेत सबै पदका लागि उम्मेदवारी मनोनयन फारम दर्ता गर्ने क्रममा पालना गर्नुपर्ने नियमहरू उल्लेख गरिएको छ ।

सूचनाअनुसार पार्टी सभापति पदका उम्मेदवारले मनोनयन फारम दाखिला गर्दा १ (एक) जना प्रस्तावक र ५१ (एकाउन्न) जना समर्थकको अनिवार्य रूपमा नाम, सम्पर्क नम्बर र हस्ताक्षर बुझाउनुपर्नेछ।

पार्टी पदाधिकारी र पार्टी केन्द्रीय सदस्यका उम्मेदवारहरूले मनोनयन फारम दाखिला गर्दा १ (एक) जना प्रस्तावक र २१ (एककाइस) जना समर्थकको अनिवार्य रूपमा नाम, सम्पर्क नम्बर र हस्ताक्षर बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

कुनै पनि पदका उम्मेदवारका एक प्रस्तावकले कुनै एकभन्दा बढी उम्मेदवारको उम्मेदवारी फारममा प्रस्तावकको रूपमा हस्ताक्षर गर्न पाउने छैनन्। प्रस्तावकलाई एक जनामा मात्र सीमित गरिए पनि कुनै पनि पदका उम्मेदवारका एक समर्थकले भने एकभन्दा बढी उम्मेदवारको उम्मेदवारी फारममा हस्ताक्षर गर्न पाउनेछन्।

उम्मेदवारको प्रस्तावक वा समर्थकका रूपमा हस्ताक्षर गर्ने पार्टी सदस्यको नाम महाधिवेशन प्रतिनिधिको सूचीमा अनिवार्य रूपमा समावेश भएको हुनुपर्नेछ। साथै, कुनै उम्मेदवारको प्रस्तावक वा समर्थक बनेको व्यक्ति आफू स्वयं सो निर्वाचनमा उम्मेदवार बन्न पाउने छैन।

केन्द्रीय निर्वाचन आयोगले माथि उल्लेखित नियम विपरीत उम्मेदवार मनोनयन फारम दाखिला हुन आएमा त्यस्ता उम्मेदवारी फारमहरू स्वतः अमान्य (रद्द) हुने स्पष्ट पारेको छ। आयोगले यस नियमको पूर्ण पालना गर्न सम्बन्धित सबै उम्मेदवार तथा महाधिवेशन प्रतिनिधिहरूलाई जानकारी गराएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय