पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटाइए, सुकुम्वासी बस्ती व्यवस्थापनको पखाईमा
lokaantar.com

पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्र रहेका सबै व्यापारिक संरचनाहरू हटाएको छ। सुविधासम्पन्न बसपार्क निर्माण गर्ने योजनाअनुसार महानगरले बसपार्कभित्रको बास्तोला कम्प्लेक्ससहित उत्तरतर्फको पेट्रोलपम्प लाइनमा रहेका सटर तथा कबलहरू हटाएर उक्त क्षेत्र सफा गरी सम्याउने काम गरेको हो ।
विसं २०३० मा बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको आधा शताब्दीपछि महानगरले बसपार्क निर्माणका लागि ‘साइट क्लियर’ अर्थात् जग्गा खाली गराउने काम शुरू गरेको हो।
महानगरपालिकाले आफ्नो लालपूर्जाभित्र पर्ने व्यापारिक संरचनाहरू हटाए पनि मुख्य चासोको रूपमा रहेको सुकुम्वासी बस्ती खाली गराउन भने अझै बाँकी छ। प्रस्तावित बसपार्क क्षेत्रभित्र तीनवटा सुकुम्वासी बस्ती रहेका छन्, जहाँ ५७२ घरपरिवारले जग्गा अतिक्रमण गरेर बसोबास गरिरहेका छन्।
महानगरले सुकुम्वासीहरूलाई अन्यत्र बस्ने व्यवस्था गरेपछि मात्र उनीहरूका घरटहरामा डोजर चलाउने जनाएको छ।
पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले सुकुम्वासी बस्तीको उचित व्यवस्थापन नगरी उनीहरूलाई त्यहाँबाट नहटाइने प्रतिबद्धता जनाएका छन् । हाल सुकुम्वासीहरूको कागजात र विवरण छानबिन गर्ने काम भइरहेको उनले बताए ।
छानबिनका क्रममा केही व्यक्तिहरूले आफ्नो तीनपुस्ते सही विवरण नलुकाएको र झुटा विवरण दिएको पाइएकाले त्यस्ता व्यक्तिहरूलाई कानुनअनुसार कारबाही गरिने मेयर आचार्यले स्पष्ट पारे। विवरण प्रमाणित गर्ने काम सकिएलगत्तै सुकुम्वासी बस्तीलाई अर्को ठाउँमा सार्ने प्रक्रिया शुरू हुने उनको भनाइ छ।
साथै, बस्तीभित्र केही गैरसुकुम्वासी र असम्बन्धित व्यक्तिहरू पसेर भ्रम फैलाउने र भड्काउने काम गरिरहेकाले कसैलाई पनि भ्रममा नपर्न उनले अनुरोध गरेका छन् ।
महानगरले हाल डोजर लगाएर खाली गराएको बास्तोला कम्प्लेक्स र पेट्रोलपम्प लाइनको जग्गा व्यक्तिको स्वामित्वमा रहेको छ। विसं २०३० मा बसपार्कका लागि अधिग्रहण गरिएको भए तापनि पछि पोखरा उपत्यका नगर विकास समितिले उक्त जग्गाभित्र सट्टाभर्ना दिने र घडेरी वितरण गर्ने निर्णय गरेको थियो।
जग्गा सट्टाभर्ना गर्ने सोही निर्णयका बारेमा छानबिन गर्न महानगरपालिकाले पछिल्लो समय एकजना पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक समिति गठन गरेको छ। यद्यपि, उक्त समितिको प्रतिवेदन अझै आइसकेको छैन।
बसपार्कभित्र बस्दै आएका सुकुम्वासीहरूले सरकारले आफूहरूलाई बस्ने अर्को विकल्प दिनेबित्तिकै सो ठाउँ खाली गर्न तयार रहेको बताएका छन्।
सुकुम्वासी सरोकार समितिका अध्यक्ष प्रेम गुरुङले आफूहरू विकासको बाधक नभएको स्पष्ट पार्दै भने, 'बसपार्क निकै पुरानो योजना हो, तर हामीलाई देखाएर यो बन्न सकेको छैन। हामी विकासविरोधी होइनौँ। महानगरले हामीलाई बस्ने ठाउँ देखाइदियोस्, हामी तत्कालै यो ठाउँ छाडेर जान तयार छौँ।'
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
पोखरा महानगरपालिका
धनराज आचार्य