विश्वकप फुटबल : फ्रान्स–इराकबीचको खेल अनिश्चितकालका लागि किन स्थगित भयो ?
nepalpress.com · Mon Jun 22 23:24:40 GMT 2026

काठमाडौं। फिलाडेल्फियास्थित लिंकन फाइनान्सियल फिल्डमा सोमबार भएको विश्वकप समूह ‘आई’ अन्तर्गतको फ्रान्स र इराकबीचको महत्त्वपूर्ण खेल दोस्रो हाफ सुरु हुनुअघि नै मौसमका कारण रोकिएको छ।
पहिलो हाफ सकिँदा फ्रान्स १–० ले अगाडि थियो। फ्रान्सका कप्तान किलियन एम्बाप्पेले १४औँ मिनेटमा गरेको गोल नै खेलको एकमात्र गोल बनेको थियो।
खेलाडीहरू विश्रामका लागि ड्रेसिङ रुममा फर्किएलगत्तै रंगशाला प्रशासनले दक्षिण फिलाडेल्फिया क्षेत्रमा भीषण आँधी र चट्याङ सक्रिय रहेकाले दोस्रो हाफको सुरुआत अनिश्चितकालका लागि स्थगित गरिएको घोषणा गरेको थियो।
सुरक्षा नियमअनुसार रंगशालाको आठ माइलभित्र चट्याङ देखिएमा खेल तत्काल रोक्नुपर्ने व्यवस्था छ। यसका कारण खेलाडीहरूलाई ड्रेसिङ रुममै बस्न निर्देशन दिइएको छ भने दर्शकहरूलाई पनि सुरक्षित आश्रयस्थलतर्फ जान भनिएको छ।
प्रत्येक नयाँ चट्याङपछि कम्तीमा ३० मिनेटको प्रतिक्षा अवधि पुनः सुरु हुने नियम रहेको छ।
पहिलो हाफको अन्त्यतिर नै भारी वर्षा सुरु भएपछि दर्शकहरू सुरक्षित स्थान खोज्दै दौडिन बाध्य भएका थिए।
लगातार परेको पानीले मैदान चिप्लो बनेको थियो। रेफ्री टोलीले पहिलो हाफमा केवल तीन मिनेट अतिरिक्त समय थपेर खेलाडीहरूलाई सुरक्षित रूपमा मैदानबाट बाहिर पठाउन हाफटाइमको सिटी बजाएका थिए।
आयोजकहरूले प्रारम्भिक रूपमा स्थानीय समयअनुसार साँझ ७ बजे खेल पुनः सुरु गर्ने लक्ष्य राखेका थिए। तर मौसम अझै प्रतिकूल रहेकाले खेल अनिश्चित समयसम्मका लागि स्थगित गरिएको हो।
रंगशाला क्षेत्रमा पुनः चट्याङ परेकाले खेल कम्तीमा राति ८ः३० (स्थानीय समय) बजेसम्म सुरु हुन नसक्ने अवस्था बनेको छ।
यद्यपि केही दर्शकहरू पुनः रंगशालाको आसन क्षेत्रमा फर्किन थालेका छन्, मैदान भने अझै खाली छ। दुवै टोलीका खेलाडीहरू ड्रेसिङ रुमबाट बाहिर नआएकाले दोस्रो हाफ कहिले सुरु हुन्छ भन्नेबारे आधिकारिक घोषणा आउन बाँकी रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ
फिफा
मौसम