मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानी तेलमाथिको प्रतिबन्ध खुकुलो, १२ अर्ब डलरको रोक्का सम्पत्ति फुकुवा गर्ने सहमति

barnanmedia.com · Tue Jun 23 04:54:12 GMT 2026

काठमाडौं । इरानी संसद्का सभामुख मोहम्मद बाकर कालीबाफले अमेरिकासँग रोक्का रहेको १२ अर्ब अमेरिकी डलर बराबरको इरानी सम्पत्ति फुकुवा गर्ने विषयमा सहमति भएको बताएका छन् ।

अमेरिकी वित्त मन्त्रालयले इरानी कच्चा तेल, पेट्रोकेमिकल तथा पेट्रोलियमजन्य उत्पादनहरूको बिक्रीमा लगाउँदै आएको प्रतिबन्ध आगामी अगस्ट २१ सम्मका लागि स्थगित गरेको छ ।

यसैबीच, इरानका उप–विदेशमन्त्रीले अमेरिकासँग अन्तिम सम्झौतामा पुग्ने उद्देश्यका साथ स्विट्जरल्यान्डमा सम्पन्न प्राविधिक वार्ता सफल भएको बताएका छन् । अब वार्ताको अर्को चरण मध्यस्थता गर्ने उच्चस्तरीय समितिको मातहतमा सञ्चालन हुने जनाइएको छ ।

इरानी समाचार एजेन्सी ‘इर्ना’का अनुसार इरानको प्राविधिक वार्ता टोलीका प्रमुख काजेम गारीबाबादीले आगामी चरणका लागि चारवटा कार्यदल गठन गरिएको जानकारी दिएका छन् ।

गारीबाबादीका अनुसार प्रत्येक कार्यदलले छुट्टाछुट्टै विषयमा काम गर्नेछ । ती विषयहरूमा प्रतिबन्धहरूमा सहुलियत, इरानको आणविक कार्यक्रम, देशको पुनर्निर्माण तथा आर्थिक विकास र दुवै पक्षले सम्झौताको पालना सुनिश्चित गर्ने संयन्त्र समावेश छन् ।

उनले आगामी वार्ताहरू उच्चस्तरीय समितिको निगरानीमा हुने बताए । उक्त समितिमा इरानको संसद्का सभामुख, विदेशमन्त्री, अमेरिकाका उपराष्ट्रपति तथा मध्यस्थकर्ता मुलुक पाकिस्तान र कतारका प्रधानमन्त्रीहरू सहभागी रहनेछन् । अलजजिरा

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय