मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कतारको रास लाफान इन्डस्ट्रियल सिटीमा विष्फोट, १२ भारतीयको मृत्यु

annapurnapost.com · Tue Jun 23 04:59:53 GMT 2026

कतार : कतारको रास लाफान इन्डस्ट्रियल सिटीस्थित एक कारखानामा भएको विष्फोटमा १३ जनाको मृत्यु भएको छ । जसमध्ये १२ जना भारतीय नागरिक रहेका छन् । कतारका अधिकारीहरूले सोमबार यो जानकारी दिएका हुन् । दोहास्थित भारतीय दूतावासले एक्स (ट्वीटर) मा पोस्ट गर्दै आइतबार राति रास लाफानमा भएको घटनामा १२ भारतीय नागरिकको दुःखद निधन भएको पुष्टि गरेको जनाएको छ । दूतावासका अनुसार घाइते भएका सबै व्यक्तिको अवस्था हाल स्थिर छ र उनीहरूको उचित उपचार भइरहेको छ ।

कतारमा ८ लाख बढी भारतीय कामदार कार्यरत छन् । उनीहरूले प्रत्येक वर्ष करिब १.३ देखि १.९ अर्ब अमेरिकी डलर भारत पठाउने गरेका छन् । भारतीय दूतावासले प्रभावित नागरिक तथा उनीहरूका परिवारलाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन कतारका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । साथै मृतकहरूको शव यथाशीघ्र भारत पठाउने व्यवस्था मिलाउने प्रयास भइरहेको बताइएको छ । यसअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा कतारका ऊर्जा मन्त्री साद बिन श्रैदा अल–काबीले उक्त घटनामा भारतीय र पाकिस्तानी मूलका १३ जनाको मृत्यु भएको पुष्टि गरेका थिए ।

भारतीय विदेशमन्त्री एस जयशंकरले के भने ?

भारतका विदेशमन्त्री एस जयशंकरले पनि घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले एक्समा लेखेका छन्, ‘कतारको रास लाफान इन्डस्ट्रियल सिटीमा भएको विष्फोटमा भारतीय नागरिकसहित अन्य व्यक्तिहरूको मृत्यु तथा घाइते भएको खबरले अत्यन्त दुःखी बनाएको छ ।’ उनले भारतीय दूतावास कतारका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रही प्रभावित परिवारलाई आवश्यक सहयोग पुर्‍याउन सक्रिय रहेको बताएका छन् । साथै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

कतारमा भएको यस दुर्घटनाप्रति टर्कीको विदेश मन्त्रालयले पनि दुःख व्यक्त गरेको छ । भारतीय दूतावासले जारी गरेको अर्को वक्तव्यमा यो कठिन समयमा दोहास्थित भारतीय दूतावास तथा कतारस्थित सम्पूर्ण भारतीय समुदाय कतार सरकार र त्यहाँका नागरिकहरूसँग एकजुट भएर उभिएको जनाएको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र हराइरहेका व्यक्तिहरूको सुरक्षाको कामना गरिएको छ ।

के हो दुर्घटनाको कारण ?

कतारको गृह मन्त्रालयले छुट्टै वक्तव्य जारी गर्दै प्राविधिक खराबीका कारण दुर्घटना भएको जनाएको छ । घटनामा १३ जनाको मृत्यु भएको र विभिन्न देशका ६६ जना घाइते भएका छन् । मन्त्रालयका अनुसार सुरक्षा निकायहरूले आपतकालीन उद्धार टोलीसँग समन्वय गरी तत्काल घटनास्थलमा पुगेर आवश्यक सेवा उपलब्ध गराएका थिए । घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ भने खोज तथा उद्धार कार्य सम्पन्न भइसकेको छ ।

अधिकारीहरूले दुर्घटनाको वास्तविक प्राविधिक कारण र त्यससँग सम्बन्धित सबै परिस्थितिबारे विस्तृत अनुसन्धान जारी रहेको बताएका छन् । गृह मन्त्रालयले दुर्घटनापछि कुनै प्रकारको ग्यास चुहावट नभेटिएको र सार्वजनिक सुरक्षा वा वातावरणमा कुनै खतरा नरहेको पनि स्पष्ट पारेको छ । यसअघि कतार एनर्जीले आइतबार साँझ बरजान स्थानीय ग्यास आपूर्ति केन्द्र सञ्चालनका क्रममा विष्फोट र आगलागी भएको जनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)