अल्जेरियाको कमब्याक जीत, डेब्युट्यान्ट जोर्डन प्रतियोगिताबाट बाहिरियो
lokaantar.com

पहिलो हाफमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै अल्जेरियाले फिफा विश्वकप २०२६ मा आफ्नो पहिलो जित दर्ता गरेको छ । मंगलबार बिहान लेभिस स्टेडियममा भएको समूह ‘जे’ को रोमाञ्चक खेलमा अल्जेरियाले विश्वकपमा डेब्यु गरिरहेको जोर्डनलाई २–१ ले पराजित गरेको हो ।
पराजयसँगै लगातार दोस्रो हार बेहोरेको जोर्डन समूह चरणको एक खेल बाँकी छँदै प्रतियोगिताको नकआउट चरणको दौडबाट बाहिरिएको छ ।
फुटबलको महाकुम्भमा पहिलो पटक सहभागिता जनाएको जोर्डनले खेलको शुरूआतमै आक्रामक खेल प्रदर्शन गर्दै सबैलाई सरप्राइज दिएको थियो । खेलको ३६औँ मिनेटमा निजार अल रशदानले सानदार गोल गर्दै जोर्डनलाई १–० को अग्रता दिलाएका थिए । विश्वकपको इतिहासमा जोर्डनले कुनै खेलमा अग्रता लिएको यो नै पहिलो पटक थियो । तर, पहिलो हाफमा अग्रता लिएको जोर्डनले दोस्रो हाफमा अल्जेरियाको लगातारको दबाबलाई झेल्न सकेन ।
दोस्रो हाफमा अल्जेरियाले कर्नर किकमार्फत दुई गोल गर्दै खेलमा उत्कृष्ट पुनरागमन गर्यो । खेलको ६९औँ मिनेटमा रियाद महरेजले प्रहार गरेको कर्नर किकलाई बक्सको बीचमा रहेका दोस्रो हाफका सब्सिच्युट खेलाडी नाधिर बेनबोआलीले हेडमार्फत उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
बराबरी गोलपछि खेलको मोमेन्टम पूर्ण रूपमा अल्जेरियातर्फ मोडियो । खेलको ८२औँ मिनेटमा अमिन गुइरीले बक्सभित्र बललाई टच गर्दै प्रहार गरे, जुन जोर्डनका गोलकिपर अबुलेउलालाई डिफ्लेक्ट हुँदै जाली चुम्न पुग्यो र अल्जेरियाले २–१ को निर्णायक अग्रता लियो ।
अल्जेरियाका लागि यो जित धेरै अर्थमा ऐतिहासिक बनेको छ । सन् २०१४ पछि विश्वकपमा अल्जेरियाको यो पहिलो जित हो । यसका साथै, विश्वकपको इतिहासमा पहिलो गोल खाएपछि पनि पुनरागमन गर्दै खेल जितेको अल्जेरियाको यो नै पहिलो रेकर्ड हो ।
आफ्नो पहिलो खेलमा अर्जेन्टिनासँग ३–० को पराजय भोगेको अल्जेरियाले जितसँगै नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । आगामी शनिबार अस्ट्रियाविरुद्ध हुने खेलमा जित निकाल्न सकेमा अल्जेरिया समूह ‘जे’ मा दोस्रो स्थान हासिल गर्दै अन्तिम ३२ मा पुग्नेछ ।
फुटबलको सबैभन्दा ठुलो मञ्चमा पहिलो पटक उत्रिएको जोर्डनले आफ्नो खेलमार्फत कडा मिहिनेत र राम्रो छाप छोडे पनि लगातार दोस्रो हारसँगै उसको यात्रा टुङ्गिएको छ । आफ्नो पहिलो खेलमा अस्ट्रियासँग ३–१ ले पराजित भएको जोर्डन अब समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनासँग खेल्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
फिफा