आज ऋषि पञ्चमी पर्व मनाइँदै
emountaintv.com · Tue Sep 15 04:54:56 GMT 2026

काठमाडौँ ।
वैदिक सनातन हिन्दु धर्मावलम्बी नेपाली महिलाहरूले आज ऋषि पञ्चमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् । हरितालिका तीजको व्रतपछि आउने ऋषि पञ्चमीका दिन सप्तऋषि र अरुन्धतीको पूजा–आराधना गर्ने धार्मिक परम्परा छ । यस दिन महिलाहरूले बिहानै स्नान गरी शुद्ध भएर सप्तऋषिको पूजा गर्ने तथा विभिन्न धार्मिक विधि पूरा गर्ने चलन छ । विशेषगरी महिनावारीका समयमा जाने–नजाने धार्मिक मान्यता र त्यससँग जोडिएको प्रायश्चितका रूपमा ऋषि पञ्चमीको व्रत बस्ने परम्परा रहँदै आएको छ । ऋषि पञ्चमीका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पूजा तथा धार्मिक गतिविधि हुने गरेका छन् । व्रतालु महिलाहरूले पूजाका लागि विभिन्न सामग्री संकलन गरी सप्तऋषि र अरुन्धतीको विधिपूर्वक पूजा गर्ने गर्छन् । धार्मिक मान्यताअनुसार कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ गरी सप्तऋषिको पूजा गरिन्छ । ऋषि पञ्चमीलाई तीज पर्वको धार्मिक तथा सांस्कृतिक पक्षसँग जोडिएको महत्वपूर्ण दिनका रूपमा लिइन्छ । यस पर्वले नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक एकता तथा परम्परा र संस्कृतिको निरन्तरतामा महत्वपूर्ण भुमिका खेल्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)