लागुऔषध कारोबारीमाथि बढ्दो गोली प्रहार: ‘अन्तिम विकल्प’ कि प्रहरीको आक्रामक नीति ?
lokaantar.com
नेपालमा पछिल्ला वर्षहरू लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाउने घटना बढेका छन् ।
२०८१ वैशाखदेखि जेठसम्म झापा, बाँके, मोरङ, सुनसरी, सिरहा र ललितपुरमा भएका घटनाले लागुऔषध नियन्त्रणका नाममा प्रहरीको बल प्रयोग ‘अन्तिम विकल्प’मै सीमित छ कि नयाँ आक्रामक रणनीतिका रूपमा विस्तार हुँदैछ भन्ने प्रश्न उठाएको छ ।
पछिल्ला केही महिनाको घटनाक्रम हेर्दा लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी) र नेपाल प्रहरीका विभिन्न इकाइले पक्राउ अपरेसनमा पटक–पटक गोली चलाएका छन् ।
प्रहरीको दाबी प्राय: उस्तै छ— संदिग्धले भाग्न खोज्यो, नियन्त्रणमा आउन मानेन, प्रहरीमाथि आक्रमणको प्रयास गर्यो वा ढुंगामुढा गर्यो । तर, यिनै घटनाको पुनरावृत्तिले अब बहसलाई अर्को ठाउँमा पुर्याएको छ :के लागुऔषध कारोबारीविरुद्ध प्रहरीले ‘जिरो टोलरेन्स’ शैलीमा कडाइ बढाएको हो ?
२०८१ जेठ ३ गते एनसीबीले सप्तरीको सप्तकोशी नगरपालिका–५ का ३५ वर्षीय श्यामसुन्दर मण्डल र सुनसरीको इटहरी–५ का ४० वर्षीय श्याम निरौलालाई पक्राउ गर्यो ।
सुनसरीको शान्तिनगर चोकबाट पक्राउ गरिएका मण्डललाई नियन्त्रणमा लिन प्रहरीले खुट्टामा गोली प्रहार गरेको थियो । प्रहरीका अनुसार उनले आक्रमणको प्रयास गरेका थिए ।
त्यसको दुई दिनअघि, २०८१ जेठ १ गते, मोरङको रतुवामाईमा भारतको बिहार, किसनगञ्ज घर भएका भागिरथ हरिजन पक्राउ परे । प्रहरीले उनको खुट्टामा दुई राउन्ड गोली प्रहार गरेको थियो । हरिजनबाट १४९ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीको दाबी छ । ब्यूरोका अनुसार उनी पूर्वी तराईमा लागुऔषध सप्लाइ गर्ने मुख्य व्यक्तिमध्ये एक थिए र तीन महिनादेखि निगरानीमा थिए ।
त्यसअघि २०८१ वैशाख २७ गते बाँकेको कोहलपुरमा ब्यूरोले गोली चलाएर तीन जनालाई पक्राउ गरेको थियो । सुशील परियारमाथि गोली प्रहार गरिएको थियो भने प्रमोद कार्की र पार्वती थापा पनि पक्राउ परेका थिए । उनीहरूबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको थियो ।
त्यसअघि २०८१ वैशाख १७ गते झापाको कामाटोलीमा भारतीय नागरिक अब्दुल सरिफुल पक्राउ पर्दा पनि प्रहरीले गोली चलाएको थियो ।
प्रहरीका अनुसार घरभित्रबाट पक्राउ गर्न खोज्दा उनले खुकुरी लिएर आक्रमण गर्न खोजेपछि गोली प्रहार गरिएको थियो । सरिफुलबाट ११६ ग्राम खैरो हेरोइन बरामद भएको दाबी छ ।
प्रहरीले लागुऔषध कारोबारीमाथि यसअघि पनि गोली चलाउने गरेको थियो । तर, अघिल्ला धेरैजसो घटनामा ‘हतियारधारी प्रतिरोध’ वा ‘तत्काल सुरक्षा जोखिम’ बल प्रयोगको मुख्य औचित्यका रूपमा प्रस्तुत हुन्थ्यो ।
२०८० मंसिर २६ गते ललितपुरको झम्सिखेलमा अविनाश राईलाई पक्राउ पर्दा प्रहरीले खुट्टामा गोली हानेको थियो । उनको साथबाट ४८५ ग्राम एम्फेटामाइन बरामद भएको थियो । प्रहरीका अनुसार उनले पेस्तोल निकालेर फायर गर्न खोजेपछि गोली चलाइएको थियो ।
यस्तै, २०८० कात्तिक १४ गते अपराध अनुसन्धान कार्यालयले एक भारतीय र एक नेपाली नागरिकलाई गोली चलाएर पक्राउ गरेको थियो । उनीहरूको साथबाट पेस्तोल, गोली, खैरो हेरोइन, तराजु र नगद बरामद भएको प्रहरीले जनाएको थियो ।
यहीँबाट अहिलेको तस्वीर किन फरक देखिन्छ भन्ने प्रश्न उठ्छ । पहिलेका धेरै घटनामा प्रहरीले ‘हतियार’ देखाएर बल प्रयोगको औचित्य पुष्टि गर्ने गरेको थियो । अहिले भने ‘भाग्न खोज्यो’, ‘ढुंगामुढा गर्यो’, ‘नियन्त्रणमा आएन’ वा ‘आक्रमणको प्रयास गर्यो’ भन्ने आधारमा गोली चलाइएका घटना बढेका छन् । लागुऔषध कारोबारीविरुद्ध बल प्रयोगको मापदण्ड बदलिँदै गएको हो कि भन्ने आशंका बलियो बनेको छ ।
त्यसअघि गत शनिबार मात्रै ललितपुरको बालकुमारीमा प्रहरीले गोली चलाएर किशोरप्रसाद ओझैयालाई नियन्त्रणमा लिएको थियो ।
प्रहरी स्रोतका अनुसार उनी तीन सय ४० ग्राम खैरो हेरोइन लिन बालकुमारी पुगेका थिए । घटनास्थलमा दुई राउन्ड हवाइ फायरपछि उनीहरू भाग्न खोजे र त्यसपछि गोली प्रहार गरिएको प्रहरीको दाबी छ ।
गत आइतबार मात्रै सिरहामा प्रहरीले गोली प्रहार गरेर भारत मधुवनीका रञ्जितकुमार पासवान उर्फ छोटु र एक नाबालकलाई नियन्त्रणमा लियो । पासवानको पिँडुलामा गोली लागेको थियो । उनीहरूबाट ९२ ग्राम ३० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार पक्राउ गर्न खोज्दा उनले ढुंगामुढा गर्दै भारततर्फ भाग्ने प्रयास गरेका थिए ।
यी घटनाक्रमले सुरक्षा वृत्तमा लागुऔषध कारोबारीप्रति कडा र आक्रामक पुलिसिङ गर्नुपर्ने संकेत माथिल्लो तहबाट गएको बुझाइ छ । प्रहरी अधिकारीहरूको तर्क पनि उस्तै छ ।
नेपालमा लागुऔषधको समस्या अब साना कारोबारी वा प्रयोगकर्तामा मात्र सीमित छैन । यो सीमापार तस्करी, संगठित आपूर्ति सञ्जाल, शहरी दुर्व्यसन बजार, नाबालकको प्रयोग र गाउँसम्म फैलिएको आर्थिक–सामाजिक संकटसँग जोडिएको छ ।
लागुऔषधका कारण परिवार टुट्ने, स्थानीय समाज अस्थिर हुने, चोरी–लुटपाट र हिंसात्मक अपराध बढ्ने भएकाले कडाइ अपरिहार्य भएको उनीहरूको दाबी छ ।
तर, यहीँबाट बहसको संवेदनशील पक्ष शुरू हुन्छ । के प्रत्येक भाग्न खोज्ने संदिग्धमाथि गोली चलाउन मिल्छ ? के प्रहरीले गैरघातक नियन्त्रणका अन्य उपाय पर्याप्त प्रयोग गरिरहेको छ ? गोली चलाउनु साँच्चै अन्तिम विकल्प हो कि क्रमश: सामान्य विकल्प बन्दै गएको हो ? यदि हतियार नभएको व्यक्तिमाथि पनि गोली चल्न थाल्यो भने त्यसको स्पष्ट मापदण्ड के हो ? यी प्रश्न केवल अपराध नियन्त्रणका मात्रै होइनन्, कानूनी राज्य र मानवअधिकारका पनि हुन् ।
लागुऔषध कारोबारीविरुद्ध राज्य कडा हुनुपर्नेमा विवाद छैन । तर, बल प्रयोग संविधान, कानून र स्थापित कार्यविधिको सीमाभित्र हुनुपर्छ ।
लागुऔषध नियन्त्रणको समाधान केवल गोली, पक्राउ र अपरेसनमा सीमित हुँदा माथिल्लो तहका आपूर्तिकर्ता उम्किने, तल्लो तहका भरिया र प्रयोगकर्ता समातिने तथा समस्या ज्यूँकात्यूँ रहने जोखिम पनि रहन्छ ।
त्यसैले पछिल्ला घटनाले देखाएको मुख्य कुरा के हो भने, नेपालमा लागुऔषध कारोबारीविरुद्ध प्रहरीले बढी आक्रामक र दण्डात्मक शैली अपनाइरहेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख एवं एसएसपी सुवास बोहराले कुख्यात लागुऔषध कारोबारीलाई पक्राउ गर्न खोज्दा प्रहरी नै असुरक्षित हुने देखिएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताए ।
‘कतिपय अवस्थामा कारोबारी प्रहरीलाई नै आक्रमण गरेर भाग्न खोजेको अवस्था छ, केही घटनामा प्रहरी घाइते पनि भएका छन्,’ बोहराले लोकान्तरसँग भने, ‘गोली चलाउनुपर्ने कारण स्थापित भएरै चलाइएको हो ।’
हेर्नुहोस्, भिडियो:
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
नेपाल प्रहरी