चिया निर्यातका अवरोध अध्ययन गर्न विशेष समिति गठन
barnanmedia.com · Tue Jun 23 05:46:00 GMT 2026

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको माग बढ्दै गए पनि निर्यात प्रक्रियामा देखिएका प्राविधिक तथा व्यापारिक अवरोधले उद्योग क्षेत्रलाई चुनौती थपिरहेको छ। यही समस्याको समाधान खोज्न सरकारले उच्चस्तरीय विशेष समिति गठन गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको समितिलाई नेपाली चिया निर्यातमा देखिएका सबैखाले अवरोधहरूको अध्ययन गरी सुधारका उपाय सिफारिस गर्ने जिम्मेवारी दिइएको छ। मन्त्रालयका अनुसार समितिले दुई साताभित्र विस्तृत प्रतिवेदन सरकारसमक्ष बुझाउनेछ।
चिया व्यवसायीहरूका अनुसार विभिन्न मुलुकले लागू गरेका कडा गुणस्तर मापदण्ड, प्राविधिक परीक्षण, प्रमाणिकरण प्रक्रिया तथा भन्सार सम्बन्धी जटिलताले निर्यातमा ढिलाइ र अतिरिक्त लागत बढाइरहेको छ। यिनै कारण नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक बन्न संघर्षरत रहेको उद्योगीहरूको भनाइ छ।
सरकारले गठन गरेको समितिले तत्काल समाधान गर्न सकिने व्यवस्थागत सुधारदेखि दीर्घकालीन व्यापार रणनीतिसम्मका विषयमा सुझाव दिनेछ। प्रतिवेदनका आधारमा नीतिगत सुधार, व्यापार सहजीकरण र कूटनीतिक पहल अघि बढाउने तयारी गरिएको छ।
समितिको नेतृत्व द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सह–सचिवले गर्नेछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ, गृह, परराष्ट्र, कृषि, वन तथा वातावरण मन्त्रालयका प्रतिनिधिहरूका साथै भन्सार विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अधिकारीहरू पनि समितिमा सहभागी छन्।
सरकारको अपेक्षा छ कि समितिको सिफारिसले निर्यात प्रक्रियामा रहेका अवरोध हटाउन सहयोग पुर्याउनेछ। यसले नेपाली चियाको अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार हुनुका साथै उत्पादनदेखि निर्यातसम्मको सम्पूर्ण मूल्य शृंखलामा सकारात्मक प्रभाव पार्न सक्ने विश्वास गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)