इरानमाथिको अमेरिकी प्रतिबन्ध फुकुवा, सम्झौता उल्लंघन गरे आक्रमण गर्ने चेतावनी
bishowkhabar.com · Tue Jun 23 06:46:12 GMT 2026

काठमाडौं– स्विट्जरल्यान्डको बुएर्गेनस्टकमा सम्पन्न पहिलो चरणको उच्चस्तरीय वार्तापछि अमेरिकाले सोमबारदेखि ६० दिनका लागि इरानमाथि लगाइएका केही आर्थिक प्रतिबन्धहरू फकुवा गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौताअनुसार व्यवहार नगरे आफूले आवश्यक कदम चाल्ने चेतावनी दिएका छन् ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले स्विट्जरल्यान्डमा इरानी अधिकारीहरूसँग भएको वार्ताले स्थायी शान्ति सम्झौताका लागि बलियो आधार तयार गरेको बताएका छन् ।
यद्यपि इरानले भने आफ्नो आणविक कार्यक्रमबारे कुनै औपचारिक छलफल सुरु नभएको दाबी गरेको छ ।
गत साता भएको अन्तरिम शान्ति सम्झौतालाई स्थायी रूप दिन दुवै पक्षले आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोडम्याप तयार गरेका छन् ।
वार्ताका मध्यस्थकर्ता पाकिस्तान र कतारका अनुसार उक्त सहमतिमा लेबनानमा इजरायल र इरान समर्थित हिजबुल्लाहबीचको संघर्ष अन्त्य गर्ने संयन्त्र तथा होर्मुज जलडमरूमध्यमा व्यापारिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने व्यवस्था पनि समावेश छ ।
तेल बिक्रीमा छुट
इरानलाई आर्थिक राहत दिने प्रारम्भिक कदमस्वरूप अमेरिकी वित्त मन्त्रालयले अगस्ट २१ सम्मका लागि प्रतिबन्ध छुटको घोषणा गरेको छ ।
यसअन्तर्गत इरानले तेल तथा सम्बन्धित उत्पादनहरू निर्यात गर्न र त्यसको भुक्तानी प्राप्त गर्न सक्नेछ ।
यसैबीच, लेबनानमा युद्धविराम लागू भएपछि हिंसात्मक गतिविधि उल्लेखनीय रूपमा घटेको अधिकारीहरूले बताएका छन् ।
यद्यपि इजरायलले दक्षिणी लेबनानमा आफ्नो सुरक्षा क्षेत्र कायम राख्ने र आफ्ना नागरिक तथा सैनिकमाथि सम्भावित खतरालाई निष्क्रिय पार्न कारबाही जारी राख्ने जनाएको छ ।
होर्मुज जलडमरूमध्यमा जहाज आवागमन बढ्यो
होर्मुज जलडमरूमध्य हुँदै जाने तेल ट्यांकरहरूको आवागमन सोमबारदेखि बढ्न थालेको छ ।
ओमानका विदेशमन्त्रीले वार्ताका क्रममा अन्तर्राष्ट्रिय कानुनअनुसार शुल्करहित र सुरक्षित आवागमन सुनिश्चित गर्न आफ्नो देश प्रतिबद्ध रहेको बताएका छन् ।
गत वर्ष अमेरिका र इजरायलले इरानमाथि गरेका आक्रमण तथा लेबनानमा भएका इजरायली हवाई हमलाका कारण हजारौं मानिसको मृत्यु भएको थियो भने लाखौं विस्थापित भएका थिए ।
युद्धले विश्व अर्थतन्त्र र ऊर्जा बजारलाई समेत प्रभावित बनाएको थियो ।
सोमबार कच्चा तेलको मूल्य ३ प्रतिशतले घटेपछि मंगलबार पनि गिरावट जारी रह्यो ।
आणविक निरीक्षणमा विवाद
उपराष्ट्रपति भान्सले इरानले अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई आफ्नो देशमा प्रवेश गर्न दिने, विदेशमा रोक्का गरिएका सम्पत्तिको व्यवस्थापन गर्ने तथा युद्धविराम कार्यान्वयन गर्ने संयन्त्रमा सहमति जनाएको बताएका छन् ।
उनले पत्रकारहरूसँग भने, ‘हामीले सफल अन्तिम सम्झौताका लागि अत्यन्त राम्रो आधार तयार गरेका छौं ।’
तर, इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाएले सरकारी समाचार संस्था आईआरएनएसँग कुरा गर्दै इरानले हालसम्म आणविक मुद्दामा कुनै नयाँ प्रतिबद्धता नगरेको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन् कि इरानले आणविक पारदर्शिता सुनिश्चित गर्न हतियार निरीक्षण स्वीकार गर्नेछ ।
उनले पत्रकारहरूलाई भने, ‘यदि इरानले सम्झौता पालना गरेन वा उचित व्यवहार गरेन भने, म आवश्यक कदम चाल्नेछु ।’
इरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ ।
गत वर्ष अमेरिका र इजरायलले आक्रमण सुरु गरेपछि उसले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आइएइएका निरीक्षणहरू सीमित गरेको थियो भने फेब्रुअरीमा युद्ध सुरु भएपछि पूर्ण रूपमा रोकिएको थियो ।
रोक्का सम्पत्ति फुकुवा गर्ने सहमति
इरानका विदेशमन्त्री अब्बास अराग्चीले सामाजिक सञ्जालमार्फत इरानले तेल तथा पेट्रोकेमिकल निर्यातमा छुट, विदेशमा रोक्का गरिएका केही सम्पत्ति फुकुवा तथा पुनर्निर्माण र विकास कार्यक्रम सुरु गर्ने सहमति हासिल गरेको बताएका छन् ।
उपराष्ट्रपति भान्सका अनुसार ट्रम्पका ज्वाइँ तथा ह्वाइट हाउसका विशेष दूत जारेड कुशनरले इरानका फुकुवा गरिएका कोषको व्यवस्थापन अमेरिका र कतारको नियन्त्रणमा रहने व्यवस्था प्रस्ताव गरेका छन् ।
उक्त रकम अमेरिकी मकै, सोयाबिन र गहुँ खरिद गर्न प्रयोग गर्न सकिने उनले बताएका छन् ।
राष्ट्रपति ट्रम्पले भने, ‘हामीले फुकुवा गर्ने पैसा अन्ततः अमेरिकी किसानहरूकहाँ पुग्नेछ ।’
तर इरानका केन्द्रीय बैंकका गभर्नर अब्दोलनासेर हेम्मातीले त्यस्तो कुनै बाध्यता नभएको बताएका छन् ।
उनका अनुसार फुकुवा गरिएका रकममध्ये केही अन्य प्रतिबन्धरहित वस्तु खरिदमा पनि प्रयोग गर्न सकिनेछ ।
दुवै पक्षबीच प्राविधिक तहका वार्ता यसै साता जारी रहने बताइएको छ । –रोयटर्स
प्रतिक्रिया दिनुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
डोनाल्ड ट्रम्प
काठमाडौँ