गणेश चतुर्थीमा कुमार पूजा
barnanmedia.com · Tue Sep 15 06:45:01 GMT 2026

गणेश चतुर्थीको अवसरमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित गुप्तेश्वर मन्दिरको प्राङ्गणमा मङ्गलबार ३०८ कुमारको पूजा गरिएको छ । पनौती बोलबम परिवार सङ्घको आयोजनामा भएको कार्यक्रममा काभ्रे, ललितपुर, भक्तपुर र काठमाडौँका कुमारलाई देवस्वरूप मानी पूजा गरिएको हो । भाद्र शुक्ल चतुर्थीका दिन गणेशको पूजा गर्ने परम्परासँगै कुमारलाई देवस्वरूप मानी पूजा गर्ने चलन रहेको छ ।
कुमार पूजाले बालकको सुख, शान्ति, स्वास्थ्य तथा दीर्घायुको कामना गर्नुका साथै समाजमा सुख–समृद्धि र शान्तिको कामना गर्ने धार्मिक तथा सांस्कृतिक मान्यता रहेको छ । कार्यक्रममा कुमारको पूजा गर्न आउने महिलाको उल्लेख्य भीड लागेको थियो । पनौती बोलबम परिवार सङ्घले विसं २०६८ देखि प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन कुमार पूजा गर्दै आएको सङ्घका अध्यक्ष महेश धाजुले बताउनुभयो । उहाँका अनुसार एक वर्षदेखि पाँच वर्षसम्मका बालकलाई कुमारका रूपमा पूजा गर्ने गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)