मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

डिजिटल युरोको दौड

gorkhapatraonline.com · Tue Jun 23 07:44:17 GMT 2026

अमेरिकी भुक्तानी प्रणालीमाथिको निर्भरता घटाउँदै आफ्नै डिजिटल भुक्तानी संरचना निर्माण गर्ने उद्देश्यसहित युरोपेली सङ्घ (इयु) ले डिजिटल युरो परियोजनालाई अगाडि बढाएको छ । भिसा, मास्टरकार्ड, एप्पल पे र गुगल पेजस्ता अमेरिकी सेवाको विकल्पका रूपमा डिजिटल युरोलाई अघि सार्दै इयुले आफ्नो आर्थिक सार्वभौमिकता बलियो बनाउने रणनीति लिएको छ ।

यसै उद्देश्यका साथ युरोपेली सांसदले मङ्गलबार डिजिटल युरोसम्बन्धी बहुप्रतीक्षित प्रस्तावमा मतदान गर्ने तयारी गरेका छन् । युरोपसँग आफ्नै साझा डिजिटल भुक्तानी प्रणालीको अभाव रहेको निष्कर्ष निकालिएको आधारमा युरोपेली केन्द्रीय बैंक (इसिबी)ले सन् २०२० मै डिजिटल युरोको अवधारणा सार्वजनिक गरेको थियो ।

डिजिटल युरो लागु गर्न युरोपेली संसद र सदस्य राष्ट्रको स्वीकृति आवश्यक पर्ने छ । यदि वर्षको अन्त्यसम्म आवश्यक कानूनी प्रक्रिया पूरा भएमा इसिबीले सन् २०२७ को मध्यतिर परीक्षण कार्यक्रम सञ्चालन गर्ने र सन् २०२९ सम्म सर्वसाधारणका लागि डिजिटल युरो उपलब्ध गराउने लक्ष्य राखेको छ ।

डिजिटल युरो बैंक खातामा रहेको सामान्य रकमभन्दा फरक हुने छ । प्रयोग कर्ताले बैंक वा हुलाक कार्यालय जस्ता संस्थामार्फत विशेष डिजिटल वालेट खोल्नुपर्ने छ, जहाँ रकम जम्मा गरेर डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिनेछ । कार्ड, मोबाइल एप, फोन वा अनलाइन प्रणालीमार्फत पसल तथा व्यक्तिबिच प्रत्यक्ष कारोबार गर्न सकिने व्यवस्था गरिने योजना छ ।

इसिबीले यस प्रणालीले प्रयोग कर्ताको गोपनीयता सुरक्षित गर्ने जनाएको छ । अधिकारीका अनुसार अफलाइन भुक्तानीको सुविधा पनि उपलब्ध हुने छ । यसले नगद कारोबार सरह गोपनीयता प्रदान गर्ने छ । डिजिटल युरोले नगद वा निजी भुक्तानी प्रणालीलाई विस्थापित नगरी थप विकल्प उपलब्ध गराउने दाबी गरिएको छ ।

इसिबीका डिजिटल युरो निर्देशकका सल्लाहकार एलेसान्ड्रो जियोभान्निनीले बैंक तथा व्यापारीलाई नयाँ प्रणालीमा अनुकूल हुन समय आवश्यक पर्ने बताउनुभयो । उहाँका अनुसार डिजिटल युरोले उपभोक्तालाई अझ डिजिटल बन्दै गएको जीवनशैलीमा भुक्तानीको विकल्प छनोट गर्ने स्वतन्त्रता प्रदान गर्ने छ ।

इयुका नीति निर्माताले भुक्तानी प्रणालीलाई आर्थिक शक्तिको साधनका रूपमा व्याख्या गरेका छन् । सांसद गिल्स बोयरले युरोपले लामो समयदेखि अमेरिकी प्रणालीमाथिको निर्भरता भोगिरहेको र अब आफ्नै सार्वभौम भुक्तानी प्रणाली निर्माण गर्ने समय आएको बताउनुभयो । युरोपेली अधिकारीले सन् २०२५ मा अमेरिकाले अन्तर्राष्ट्रिय फौजदारी अदालतका न्यायाधीशमाथि लगाएको प्रतिबन्धलाई पनि उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।

त्यस बेला एक फ्रान्सेली न्यायाधीशले आफ्नो भिसा कार्ड प्रयोग गर्न नसकेको घटना युरोपेली भुक्तानी स्वतन्त्रताको बहसमा उल्लेख हुने गरेको छ । इसिबीका अनुसार युरो क्षेत्रका झण्डै दुई तिहाइ कार्ड भुक्तानी गैर–युरोपेली कम्पनी, विशेष गरी भिसा र मास्टर कार्डमार्फत सञ्चालन हुने गरेका छन् । साथै २१ मध्ये १३ युरो जोन देशमा दैनिक भुक्तानीका लागि आफ्नै राष्ट्रिय कार्ड प्रणालीसमेत छैन ।

यद्यपि डिजिटल युरो योजना प्रति युरोपेली बैंक भने सशङ्कित छन् । बैंकिङ क्षेत्रले नयाँ प्रणालीमा रूपान्तरण गर्न ठूलो लागत लाग्ने र ग्राहकले आफ्नो निक्षेप डिजिटल युरोमा सारेमा बैंकको वित्तीय स्थिरतामा असर पर्न सक्ने चिन्ता व्यक्त गरेको छ । युरोपेली बैंकिङ महासङ्घले यसका लागि करिब १८ अर्ब युरो खर्च लाग्न सक्ने अनुमान गरेको छ भने इसिबीले वास्तविक लागत चारदेखि पाँच अर्ब ८० करोड युरोबिच रहने दाबी गरेको छ ।

इसिबीले डिजिटल युरोको संरचनाले ठूलो मात्रामा निक्षेप बाहिरिने जोखिम रोक्ने भएकाले बैंकिङ प्रणालीमा गम्भीर असर नपर्ने जनाएको छ । युरोपेली बैंक आफ्ना अनलाइन सेवाको माग घट्ने र प्यान–युरोपेली भुक्तानी प्रणाली ‘वेरो’ सँग डिजिटल युरोले प्रतिस्पर्धा गर्न सक्ने चिन्तामा समेत रहेका छन् । रासस/एएफपी

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)