५ दिनभित्र कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम
setopati.com · Tue Jun 23 07:50:04 GMT 2026

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूलाई ५ दिनभित्र भवन खाली गर्न सूचना टाँसेको छ।
सोमबारदेखि शुक्रबारसम्म स्व: व्यवस्थापन गरी कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न भन्दै समितिले सूचना टाँसेको हो।
यस अवधिमा कीर्तिपुर होल्डिङ सेन्टरमा ६८ परिवारका २०३ जना बस्दै आएका छन्। प्रत्येक परिवारलाई स्व: व्यवस्थापनका लागि २५ हजार रूपैयाँ दिएर खाली गर्न भनेको बागमती सभ्यताका सूचना अधिकारी टोपबहादुर बानियाँले जानकारी दिए।
उनका अनुसार उनीहरूलाई त्यहाँबाट हट्न भन्दा पहिला उनीहरूको खातामा स्व: व्यवस्थापनका लागि पैसा हालिदिइन्छ। स्व: व्यवस्थापन गर्न ५ दिन समय दिइएको छ।
'राहत प्राप्त गर्न खाता नम्बर सहितको निवेदन पेस गर्न भनिसकेका छौं, खाता प्राप्त हुनसाथ स्व: व्यवस्थापनका लागि २५ हजार दिन्छौं,' उनले भने, 'त्यसपछि आगामी दिनमा वास्तविक सुकुम्बासी प्रमाणित भएमा मासिक १५ हजार पाउँछन्।'
२०८३ वैशाख १२, १३, १८, १९ र २० गते काठमाडौं उपत्यका नदीका किनाराका विभिन्न जोखिमयुक्त बस्तीहरू हटाइएको थियो। उक्त बस्तीहरू हटाइएपछि २ हजार ६०८ जनाले नाम दर्ता गराएका छन्।
उनीहरूलाई सरकारको निर्णयअनुसार विभिन्न होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई स्व: व्यवस्थापन गर्न मासिक २५ हजार रूपैयाँ दिने भनिएको छ। सोही रकम दिएर हटाउन थालिएको हो।
'सुरूमा कीर्तिपुर होल्डिङ सेन्टरबाट हटाउन सूचना जारी गरेका छौं,' उनले भने,'हट्न नमानेकाहरूको हकमा सरकारले अन्त व्यवस्थापन गर्ने कि के गर्ने भनेर छलफल हुँदैछ।'
सुरूआती चरणमा विभिन्न होल्डिङ सेन्टरहमा बसेकालाई स्व: व्यवस्थापन गराउने योजना छ। त्यही अनुसारले काम भइरहेको उनले सेतोपाटीलाई जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
काठमाडौँ