आयल निगमको पार्किङबाटै २० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर चोरी, सुनसरीमा फेला पर्दा तेल कम !
barnanmedia.com · Tue Jun 23 07:52:12 GMT 2026

विराटनगर । नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय, विराटनगरको पार्किङ क्षेत्रबाट २० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर चोरी भएको घटना सार्वजनिक भएको छ। चोरी भएको ट्याङ्कर सोमबार सुनसरीको बर्जु गाउँपालिकास्थित हुलाकी सडक खण्डमा फेला परेको प्रहरीले जनाएको छ।
नवीन ढुवानी सेवाको को १ ख ६१९० नम्बरको ट्याङ्कर भारतको सिलीगुढीबाट पेट्रोल लिएर आइतबार साँझ निगमको पार्किङ क्षेत्रमा राखिएको थियो। ट्याङ्कर धनी नवीन कर्णका अनुसार चालकसहितका कर्मचारी निगममा सञ्चालन भइरहेको तालिममा सहभागी भएका बेला ट्याङ्कर हराएको थाहा भएको हो।
खोजीका क्रममा सुनसरीबाट फेला परेको ट्याङ्कर हाल प्रहरीको नियन्त्रणमा छ। प्रारम्भिक जाँचमा ट्याङ्करमा रहेको पेट्रोलमध्ये करिब १ हजारदेखि १ हजार २ सय लिटर कम देखिएको भन्दै तेल चोरी भएको आशंका गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङ, ढुवानी कम्पनीका प्रतिनिधि तथा निगमका अधिकारीहरूको उपस्थितिमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी ट्याङ्करलाई पुनः डिपोमा ल्याउने तयारी गरिएको छ।
नेपाल आयल निगम कोशी प्रादेशिक कार्यालयका प्रमुख पुष्कर कार्कीले पनि ट्याङ्कर चोरी भएको घटनाको पुष्टि गर्दै दोषीको खोजी र घटनाको वास्तविकता पत्ता लगाउन अनुसन्धान तीव्र बनाइएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)