मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धवलागिरी गाउँपालिकाले कृषि क्रान्ति गर्ने

gorkhapatraonline.com · Tue Jun 23 08:08:17 GMT 2026

म्याग्दी धवलागिरी गाउँपालिका एक स्थानीय तह मात्र नभएर प्राकृतिक सम्पदा, कृषि सम्भावना, जैविक विविधता र ग्रामीण सभ्यताको पनि संगम मानिन्छ ।

विश्वको सातौँ अग्लो हिमाल धवलागिरीको काखमा फैलिएको यो भूगोलले वर्षौंदेखि यहाँका बासिन्दालाई जीविकोपार्जनको आधार दिएको छ । कठिन भौगोलिक अवस्था, सीमित पूर्वाधार र दुर्गम बस्तीका बाबजुद यहाँका नागरिकले कृषिलाई जीवनको अभिन्न अङ्ग बनाएका छन् ।

नेपालले कृषि आत्मनिर्भरता, खाद्य सुरक्षा र ग्रामीण अर्थतन्त्रको सुदृढीकरणको बहस गरिरहेको छ । त्यही समयमा धवलागिरी गाउँपालिका कृषि विकासको एउटा महत्वपूर्ण मोडमा उभिएको छ । यहाँका खेतबारीमा फल्ने मकै, कोदो, आलु, फापर, रायो, अकबरे खुर्सानी, सुन्तला र विभिन्न जडीबुटीहरू केवल उत्पादन मात्र होइनन्, सम्भावित समृद्धिका आधार पनि हुन् ।

यसको उचित व्यवस्थापन र उचित रेखदेखसँगै स्तरीकरणका साथै उचित परीक्षणसहित बजारीकरण गर्न सक्ने सम्भावना धेरै छ । स्थानीय सरकार, किसान, कृषि प्राविधिक तथा सरोकारवालाहरूको संयुक्त प्रयासले धवलागिरीलाई कृषिको नयाँ केन्द्र बनाउने संकेत देखिन थालेको धवलागिरी गाउँपालिकाका कृषि प्राविधिक कुलबहादुर खत्रीको भनाइ छ ।

सम्भावनासँगै उत्पादन छ, तर बजारको समस्या पनि छ । बैदेशिक रोजगारी तथा अध्ययनका लागि बाहिरीनेहरुका कारणले जमिन छ, श्रमिक अभाव छ । जडीबुटी छ तर अनुसन्धानको कमी छ । उत्पादन बढ्दैछ, तर प्रशोधन उद्योगको अभाव रहेको धवलागिरी गाउँपालिका –३ मुनाका मदन मल्लको भनाइ छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने विभिन्न बहुमूल्य जडीबुटीहरूले यस क्षेत्रलाई विशेष बनाएका छन् । मल्लका अनुसार गाउँपालिकाले जडीबुटीको सम्भावना पहिचान गर्दै अनुसन्धान र प्रवर्धनका लागि पहल गर्ने तथा जडीबुटी केवल संकलन गरेर बेच्ने वस्तु मात्रै नठानेर यसको प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ र निर्यातमार्फत ठूलो आर्थिक लाभ लिन सकिन्छ ।

यदि स्थानीयस्तरमै प्रशोधन उद्योग स्थापना गर्न सकियो भने किसानको आम्दानी उल्लेखनीय रूपमा बढ्न सक्छ । धवलागिरी गाउँपालिकामा ढकायो, बाँको, सतुवा, यार्सागुम्बाजस्ता बनस्पती पर्याप्त पाइन्छ । यसलाई उचित तबरले व्यवस्थित गर्दै बजारीकरण गर्नु आजको आवश्यकता हो ।

गाउँपालिकाको सबैभन्दा ठूलो शक्ति यसको विविध भौगोलिक बनावट हो । एउटै गाउँपालिकाभित्र तल्लो पहाडदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएको भूगोल पाइन्छ । यही कारणले यहाँ विभिन्न प्रकारका बाली, फलफूल, तरकारी र जडीबुटी उत्पादन गर्न सकिने वातावरण बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माको भनाइ छ ।

शर्माका अनुसार गाउँपालिकाको तल्लो भेगमा मकै, कोदो, गहुँ, धान, सुन्तला र तरकारी राम्रो उत्पादन हुन्छ । मध्यम पहाडी क्षेत्रमा फलफूल र नगदे बालीको सम्भावना छ भने माथिल्लो भेगमा आलु, फापर, अकबरे खुर्सानी, रायोको बिउ तथा शितोष्ण तरकारी उत्पादनका लागि उपयुक्त वातावरण छ ।

नेपालका धेरै स्थानीय तहमा एउटा वा दुईवटा कृषि उत्पादन मात्र प्रमुख हुने अवस्था छ । तर धवलागिरीमा उत्पादनको विविधता नै यसको विशेषता हो । यही विविधताले भविष्यमा कृषि अर्थतन्त्रलाई मजबुत बनाउन सक्छ । ताकममो तल्लो फाँटमा धान तथा सुन्तला उत्पादन हुने क्षेत्र छ भने गुर्जामा स्याउ खेती गर्न सकिन्छ ।

गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरका अनुसार धवलागिरीका अधिकांश परिवारको मुख्य पेशा परम्परागत रूपमा कृषि नै रहँदैआएको छ । विगतमा यहाँको कृषि प्रणाली आत्मनिर्भर जीवनशैलीमा आधारित थियो । परिवारलाई वर्षभरि पुग्ने अन्न उत्पादन गर्ने उद्देश्यले मकै, कोदो, गहुँ, फापर तथा आलु खेती, पशुपालन कृषि प्रणालीसँग जोडिएको थियो ।

पुनका अनुसार स्थानीय बिउ, गोठेमल र परम्परागत ज्ञानका आधारमा खेती गर्दा विगतमा उत्पादन धेरै नहुने भए पनि खाद्य सुरक्षा कायम रहने अवस्था थियो । तर समयसँगै बसाइँसराइ, वैदेशिक रोजगार, उपभोग शैलीमा परिवर्तन तथा बजार अर्थतन्त्रको प्रभावले कृषि प्रणाली पनि फेरिएको छ ।

कृषि केवल जीविकोपार्जनको माध्यम मात्र नभएर धेरै किसानले यसलाई आम्दानीको स्रोतका रूपमा लिनु पर्ने र त्यसका लागि स्थानीय सरकारले अपनत्व लिएको उहाँको भनाइ छ । उपाध्यक्ष पुनका अनुसार स्थानीय सरकारले व्यावसायिक कृषिलाई प्राथमिकतामा राखेपछि किसानहरूमा पनि उत्साह थपिएको छ । गुर्जा, लुलाङ, मराङ क्षेत्र आलु पकेट बनाइएको छ भने ताकमको कल्लेनी तथा ४ नम्बर वडाको नाउरा लगायतका क्षेत्रमा सुन्तला पकेट गरिएको छ । उन्नत मकै तथा आलुलाई पनि हामीले थप व्यवस्थित गरेर अगाडि बढ्दैछौं ।

धवलागिरी गाउँपालिकामा उत्पादन हुने फापरबाट बन्ने ढिँडो, रोटी, पिठो तथा अन्य परिकार बजारमा महँगो मूल्यमा बिक्री भइरहेका छन् । धवलागिरीको फापरलाई ब्रान्डिङ गर्न सकिए यो नयाँ आर्थिक अवसर बन्न सक्ने ताकमका स्थानीय प्रगति कार्कीको भनाइ छ ।

कृषि सम्भावनाबारे चर्चा गर्दा स्थानीय रूपमा पाइने “बनबडे” को चर्चा नगरी अपूर्ण हुने मदन मल्लको भनाइ छ । ठाउँअनुसार फरक नामले चिनिने यो तरकारीका लागि प्रयोग हुने बनस्पतीलाई कतिपय ठाउँहरुमा भँडभँडे, बनबाडे, बनमारेजस्ता नामले चिनिन्छ ।

गाउँपालिकाका धेरैजसो कान्ला र वन क्षेत्रमा बनबडे प्रशस्त मात्रामा पाइन्छ । तर यसको वैज्ञानिक अध्ययन हुन सकेको छैन । यदि यसको पोषण तत्व, औषधीय गुण र व्यावसायिक सम्भावनाबारे अनुसन्धान गर्न सकियो भने यो स्थानीय अर्थतन्त्रको नयाँ आधार बन्न सक्छ । नेपालमा धेरै वनस्पति अनुसन्धानपछि करोडौँको व्यवसाय बनेका उदाहरण छन् । बनबडे पनि त्यस्तै सम्भावना बोकेको स्थानीय सम्पदा हुन सक्ने स्थानीयको धारणा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय