मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

संन्यास घोषणा गरेका मेस्सी बने विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता, अर्जेन्टिनालाई फेरि दिलाए गौरव

barnanmedia.com · Tue Jun 23 08:02:16 GMT 2026

ब्युनस आयर्स । सन् २०१६ मा कोपा अमेरिका फाइनलमा चिलीसँगको हारपछि राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेका लियोनल मेस्सी आज विश्व फुटबलको इतिहासमै अर्को स्वर्णिम अध्याय लेख्न सफल भएका छन्। एक समय ‘मेरो लागि राष्ट्रिय टोली सकियो’ भनेका मेस्सी अहिले विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन्।

लगातार ठूला प्रतियोगितामा हार र उपाधिविहीन यात्राबाट निराश बनेका मेस्सीले संन्यास घोषणा गरेका थिए। तर समर्थक, सहकर्मी र फुटबलप्रेमीहरूको आग्रहपछि राष्ट्रिय टोलीमा फर्किएका उनले त्यसयता अर्जेन्टिनालाई इतिहासकै सफल युगतर्फ डोर्याए।

मेस्सीको पुनरागमनपछि अर्जेन्टिनाले लगातार दुई कोपा अमेरिका उपाधि जित्यो भने सन् २०२२ मा ३६ वर्षपछि विश्वकप ट्रफी उचाल्न सफल भयो। उक्त प्रतियोगितामा कप्तान मेस्सीले सात गोल गर्दै टोलीलाई विश्व च्याम्पियन बनाएका थिए।

सन् २०२६ को विश्वकपमा पनि मेस्सीको जादु जारी छ। अष्ट्रियाविरुद्ध २–० को जितमा दुवै गोल गरेका उनले विश्वकपमा आफ्नो गोल संख्या १८ पुर्‍याउँदै जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान तोडे। यससँगै उनी विश्वकप इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने।

खेलको सुरुमै पेनाल्टी गुमाएका मेस्सीले त्यसपछि शानदार पुनरागमन गर्दै पहिलो गोलबाट कीर्तिमान बराबरी गरे भने इन्जुरी समयमा दोस्रो गोल गर्दै नयाँ इतिहास रचे। उनका १८ विश्वकप गोलमध्ये १२ गोल ३५ वर्षको उमेरपछि आएका छन्, जसले उनको निरन्तरता र उत्कृष्टता झन् प्रमाणित गरेको छ।

खेलपछि मेस्सीले समर्थकप्रति आभार व्यक्त गर्दै भने, "मलाई मैदानमा खेल्न र रमाउन मनपर्छ। समर्थकहरू यसरी खुसी भएको देख्दा हामीलाई अझ धेरै आनन्द मिल्छ।"

एक समय राष्ट्रिय टोलीबाट विदा लिने घोषणा गरेका मेस्सी आज विश्व फुटबलका अमर कीर्तिमानधारी बनेका छन्। उनको यात्राले हारपछि पनि पुनरागमन सम्भव हुन्छ भन्ने सन्देश विश्वभरका खेलप्रेमीलाई दिएको छ। ⚽🏆🐐

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)