धनकुटामा समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक तालिम सुरु
gorkhapatraonline.com · Tue Jun 23 08:17:47 GMT 2026

सन्तोष सुवेदी
धनकुटास्थित सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेडक्वाटर छिन्ताङमा समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक समूह निर्माणका लागि तालिम सुरु गरिएको छ। कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालय पकली (सुनसरी) र सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेडक्वाटर छिन्ताङ (धनकुटा) को संयुक्त आयोजनामा तालिम सुरु भएको हो।
तालिममा १३ जना पुरुष र सात जना महिला गरी जम्मा २० जना प्रशिक्षार्थी सहभागी छन्। तीमध्ये १३ जना विपद् सूचक तथा स्थानीय बासिन्दा र सात जना नगर प्रहरी छन्। मङ्गलवारदेखि सुरु भएको तालिम सात दिनसम्म सञ्चालन हुने सशस्त्र प्रहरी बल नं. ६ गुल्मले जनाएको छ। तालिममा विपद्को परिचय, बाढीपहिरो तथा पानीजन्य विपद् खोज तथा उद्धार, भूकम्प, आगलागी नियन्त्रण तथा सुरक्षा, भत्केका संरचनामा खोज तथा उद्धार, प्राथमिक उपचार, गाँठोको प्रकार तथा प्रयोग विधिसम्बन्धी विषयमा प्रशिक्षण दिइने छ।
तालिम उद्घाटन गर्दै धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विपद्का घटनामा स्वयंसेवकको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। विपद्जन्य घटना भइहाले उद्धार कार्यमा चाँडोभन्दा चाँडो खटिनुपर्ने बताउँदै उहाँले समुदायमै दक्ष स्वयंसेवक तयार भएमा विपद्को प्रभाव न्यूनीकरण गर्न ठूलो सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो।
उहाँले विपद् व्यवस्थापन सरकारी निकायको एकल प्रयासले मात्र सम्भव नहुने भएकाले समुदायस्तरबाट पनि सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उद्घाटन कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको समेत उपस्थिति थियो। विपद्का बेला तत्काल प्रतिकार्य गर्न सक्ने क्षमता विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेडक्वाटर छिन्ताङका गुल्मपति, सशस्त्र प्रहरी नायब उपरीक्षक (सप्रनाउ) प्रेमप्रसाद सिग्देलले जानकारी दिनुभयो।
यो तालिमले सशस्त्र प्रहरी बलले समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै विपद् प्रतिकार्यका कार्यलाई थप प्रभावकारी बनाउने उहाँले बताउनुभयो। विपद्को समयमा जनधनको क्षति न्यूनीकरण गर्न स्थानीय समुदाय र सुरक्षा निकायबिचको समन्वय अपरिहार्य रहेको उहाँको भनाइ थियो। तालिमबाट समुदायस्तरमा दक्ष स्वयंसेवक समूह तयार भई विपद्का घटनामा तत्काल उद्धार तथा राहत कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)