शान्ति मिश्रको तस्बिर अंकित हुलाक टिकटमा टाँचा
nepalnews.com · Tue Jun 23 08:33:09 GMT 2026

काठमाडौँ। हुलाक सेवा विभागले नेपालको पहिलो आधुनिक पुस्तकालय तथा स्थापनाकर्ता शान्ति मिश्रको तस्बिर अंकित हुलाक टिकट प्रचलनमा ल्याएको छ।
विभागमा मंगलबार आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले नयाँ हुलाक टिकटमा टाँचा लगाइन्। नेपालको प्रथम महिला प्राध्यापकसमेत रहेकी मिश्रले आफ्नो पद छाडी विश्वविद्यालयको आवश्यकताअनुसार अन्तर्राष्ट्रिय स्तरमै ख्याति हुने गरी आधुनिक पुस्तकालय निर्माण गरेकी थिइन्। उनको यही योगदानको कदरस्वरूप हुलाक टिकट प्रकाशन गरिएको विभागले जनाएको छ।
कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सचिव बस्नेतले पुस्तकालय विज्ञानमा एमए गर्ने प्रथम नारी तथा प्रथम महिला लाइब्रेरियनका रूपमा मिश्रको योगदानको चर्चा गरिन्। साथै उनले हुलाक सेवा विभागलाई आवश्यक बजेटको कमी हुन नदिन आफूले पहल गर्ने पनि प्रतिबद्धता जनाइन्।
त्यसैगरी हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले त्रिभुवन विश्वविद्यालयमा रहेको आधुनिक पुस्तकालयको सुरुवातका लागि मिश्रले गरेको भूमिका प्रशंसनीय रहेकाले कदरस्वरूप टिकट प्रकाशन गरिएको बताइन्।
उनले मिश्रको तस्बिर अंकित हुलाक टिकट प्रकाशनसँगै उनको योगदानको निरन्तर स्मरण हुने धारणा राखिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)