मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जहाजमा काठमाडौं ल्याउने भनिएका विष्णु पौडेललाई राति नै किन हालियो माइक्रोमा ?

nepalpress.com · Tue Jun 23 08:40:55 GMT 2026

ललितपुर । सोमबार साँझ सुर्खेतमा आयोजित पार्टी कार्यक्रमस्थलबाटै पक्राउ परेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले हायास माइक्रोमा हालेर काठमाडौं ल्यायो । जबकी उनलाई राति नेपालगञ्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा राख्ने र बिहान (आज) हवाइमार्गबाट ल्याउने तयारी थियो ।

स्रोतका अनुसार पक्राउ पर्नासाथ सरकारका एक उच्चपदस्थ व्यक्तिले केन्द्रीय प्रहरी अधिकारीसँग सोधेका थिए, ‘काठमाडौं कसरी लैजाँदै हुनुहुन्छ ?’ प्रहरीले नेपालगञ्ज हुँदै जहाजमा ल्याइने भनेपछि गाडीबाटै ल्याउन दबाब दिइएको स्रोतको दाबी छ ।

सुर्खेतबाट पौडेललाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको गाडीमा राखिएको थियो । उनलाई नेपालगञ्जसम्म छोड्नका लागि त्यहीँका एक इन्स्पेक्टरको कमाण्डमा टोली तत्कालै हिँड्यो । छिञ्चु बजार कट्नेबित्तिकै उक्त टोलीलाई अर्को आदेश गयो, ‘राति तालिम केन्द्रमा राख्ने, फ्लाइटबाट काठमाडौं पठाउनेजस्ता काम हुनुभएन, कोहलपुरबाट पब्लिक ट्रान्सपोर्ट (सार्वजनिक यातायात) मा राखेर काठमाडौं लैजानु ।’

त्यसअघि नेपालगञ्जस्थित तालिम केन्द्रमा पौडेललाई राख्नका लागि कोठा सफा गर्ने, खाना पकाउनेलगायतका तयारीमा त्यहाँको प्रहरी टोली परिचालित भइसकेको थियो । बाटोमै आदेश फेरिएपछि प्रहरीको योजना पनि परिवर्तन भयो ।

सामान्यतया पक्राउ गर्न जसले आदेश दिएको हुन्छ, पक्राउ परेका व्यक्तिलाई लैजाने, राख्ने र खाने खर्च सोही कार्यालयले व्यहोर्नुपर्छ । प्रहरीस्रोतका अनुसार एमाले उपाध्यक्ष पौडेललाई पक्राउ गर्नुअघि कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटा र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालबीच भएको सल्लाहअनुसार उनलाई जहाजबाट काठमाडौं पठाउन लागिएको थियो । पौडेललाई पक्राउ गर्दा साँझ ५ बजिसकेको थियो । त्यसबेला सुर्खेत–काठमाडौं उडानको सम्भावना थिएन ।

एमाले कार्यकर्ताको प्रदर्शन हुनसक्ने भयका कारण राति नेपालगञ्ज लगेर राख्ने र बिहानै पहिलो उडानबाट काठमाडौं पठाउने उनीहरुबीच सल्लाह भएको थियो । उक्त खर्च सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यहोर्ने सहमति थियो । पौडेललाई ‘नेपालगञ्ज तालिम केन्द्रमा राखिने, बिहानको उडानबाट पठाइने’ जस्ता खबर पनि आउन थाले ।

यस्तो खबरलगत्तै सरकारका उच्चपदस्थ पदाधिकारीले केन्द्रीय प्रहरीका जिम्मेवार व्यक्तिलाई नै हप्कीदप्की गरेको स्रोतको दाबी छ । यदि प्रहरी र सम्पत्ति शुद्धीकरणले चाहेको भए पौडेललाई काठमाडौं लैजानका लागि स्कोरपियो गाडी भाडामा लिन सक्थे । तर, त्यस्तो गर्न पनि ‘माथिको’ निर्देशनले रोकियो ।

सुर्खेतबाट कोहलपुर पुग्दा साँझ ८ बज्न लागेको थियो । काठमाडौं जाने नाइटबसहरु बाँकेस्थित कोहलपुर र त्योभन्दा पश्चिमका सबै स्टेशनबाट छुटिसकेका थिए । कोहलपुरस्थित बसपार्कमा केही हायास माइक्रो थिए । कोहलपुर–काठमाडौं रुटमा चल्ने ती हायास माइक्रो यात्रु नपाएर बसेका थिए । प्रहरीले नै अनुरोध गरेपछि र देशका उपप्रधानमन्त्री भइकसकेका विष्णु पौडेललाई लैजानुपर्ने भएपछि हायास माइक्रोले काठमाडौं यात्राका लागि स्वीकारोक्ति दिएको थियो ।

उक्त माइक्रोमा तीनवटा सीटका लागि टिकट काटिएको थियो । उपाध्यक्ष पौडेललाई यात्राका क्रममा अन्य यात्रुले खाना खाने, शौचालय गर्ने ठाउँमै लैजान र कुनै पनि अतिरिक्त सुविधा नदिन उपल्लो तहको निर्देशन थियो । सोहीअनुसार उनलाई मङ्गलवार दिउँसो काठमाडौं ल्याइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)