"हनुमानझुलाबासीलाई कानुनमन्त्रीको आश्वासन: 'पिर नगर्नुस्, 'लालपूर्जा हाम्रै पालामा दिन्छौँ'"
barnanmedia.com · Tue Jun 23 08:36:43 GMT 2026

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले माडी नगरपालिका–९ हनुमानझुलाका बासिन्दाले लालपूर्जा पाउने आश्वासन दिनुभएको छ। सोमबार भौतिक पूर्वाधार मन्त्री इन्जिनियर सुनिल लम्सालसहित हनुमानझुला क्षेत्रको स्थलगत अवलोकनका क्रममा उहाँले स्थानीयवासीलाई यस्तो आश्वासन दिनुभएको हो।
स्थानीयवासीहरूले लामो समयदेखि उठाउँदै आएको लालपूर्जा वितरण, विद्युत् विस्तार, सडक निर्माण तथा अन्य आधारभूत पूर्वाधार विकासका विषयमा मन्त्रीद्वयको ध्यानाकर्षण गराएका थिए। त्यसक्रममा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएकी मन्त्री गौतमले स्थानीयका समस्या र मागबारे आफू जानकार रहेको बताउँदै आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“तपाईंहरूले चुनावका बेला राख्नुभएका कुरा मलाई सम्झना छ। अहिले सबै कुरा भन्नैपर्छ भन्ने छैन, आवश्यक कुरा साथीहरूमार्फत पठाउन सक्नुहुन्छ,” मन्त्री गौतमले भन्नुभयो, “पिर नगर्नुस्, काम बन्दैछ, हाम्रै पालामा बन्छ।”
उहाँले स्थानीयको दीर्घकालीन समस्या समाधानका लागि सरकार सकारात्मक रहेको र आवश्यक समन्वय तथा पहल गरिने बताउनुभयो।
यसैबीच भौतिक पूर्वाधार मन्त्री इन्जिनियर सुनिल लम्सालले माडी क्षेत्रको विकासका लागि आफ्नो मन्त्रालयबाट आवश्यक सहयोग उपलब्ध गराइने जानकारी दिनुभयो। उहाँले सडक, खानेपानी, भवन तथा सहरी पूर्वाधारसँग सम्बन्धित समस्या समाधानका लागि सम्बन्धित निकायलाई सक्रिय बनाइने उल्लेख गर्नुभयो।
“यहाँका समस्या प्रत्यक्ष हेरेर समाधान गर्ने उद्देश्यले आएका हौँ। सडक, खानेपानी र अन्य पूर्वाधारका विषयमा आवश्यक पहल हुन्छ,” मन्त्री लम्सालले भन्नुभयो।
मन्त्रीद्वयको स्थलगत भ्रमणपछि स्थानीयवासीले वर्षौँदेखि उठाउँदै आएको लालपूर्जा र पूर्वाधार विकासको माग सम्बोधन हुने अपेक्षा व्यक्त गरेका छन्। हनुमानझुला क्षेत्रमा जग्गाधनी प्रमाणपत्रको अभाव, सडक पहुँच र विद्युत् विस्तारजस्ता समस्या लामो समयदेखि स्थानीयका प्रमुख सरोकारका विषय बनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)