नवलपुरका किसानलाई मकै भित्र्याउने चटारो
gorkhapatraonline.com · Tue Jun 23 08:56:50 GMT 2026

नवलपुरका किसानहरू यतिबेला मकै भित्र्याउने चटारोमा छन् । व्यावसायिक रूपमा मकै खेती गरेका यहाँका किसानहरू मकै छोडाउने तथा सुकाउने काममा व्यस्त छन् ।
केही वर्षअघिसम्म घरायसी प्रयोगका लागि मकै खेती गर्दैआएका यहाँका किसानहरू अहिले व्यावसायिक रूपमा मकै खेती गर्न थालेका छन् । कृषि विकास कार्यालयअन्तर्गत सञ्चालित मकै बिउ उत्पादन तथा मकै बाली प्रवर्धन आयोजना र खाद्यान्न बाली प्रवर्धन कार्यक्रममार्फत मकै खेती गर्ने किसानलाई विभिन्न प्रकारका सहयोग तथा अनुदान उपलब्ध गराउन थालिएपछि मकै खेतीप्रति किसानको आकर्षण बढ्दै गएको हो ।
जिल्लाको कावासोती, गैंडाकोट, मध्यविन्दु र देवचुली नगरपालिकामा बढी मात्रामा व्यावसायिक रूपमा मकै खेती गर्ने गरिएको छ । यहाँ वर्षमा दुई सिजन मकै खेती हुने गरेको छ ।
यस वर्ष मकै खेतीका लागि मौसमले पनि साथ दिएका कारण उत्पादन राम्रो भएको किसानहरूको भनाइ छ । पानी आवश्यक पर्ने समयमा वर्षा हुनु र मकै भित्र्याउने बेलामा वर्षा नहुँदा मकै भित्र्याउन सहज भएको मध्यविन्दु –१, गुडचरीका किसान शेरबहादुर पुरीले बताउनुभयो ।
उहाँले डेढ बिघा क्षेत्रफलमा मकै खेती गर्दै आउनुभएको छ । कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदानमा सीपी जातको मकै खेती गर्नुभएका पुरीले एक कठ्ठामा डेढ क्विन्टल उत्पादन भएको बताउनुभयो । विगतमा हातैले मकै छोडाएर थन्क्याउनुपर्ने बाध्यता सम्झँदै उहाँले अहिले मेसिन भित्रिएपछि किसानलाई काममा धेरै सहज भएको बताउनुभयो । मेसिनको प्रयोग गर्न थालेपछि मकै छोडाउन निकै सजिलो भएको उहाँको भनाइ छ ।
मकै खेती गर्ने किसानका लागि कृषि विकास कार्यालयले विभिन्न सहयोगसमेत गर्दै आएको छ । कार्यालयले अनुदानमा बिउबिजन, कृषियन्त्र तथा प्राविधिक सहयोग प्रदान गरेको छ । अनुदानमा बिउबिजन पाउँदा आफ्नो लगानी घटेको र किसानलाई धेरै राहत भएको किसान माधव भुसालले बताउनुभयो ।
कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ सञ्जय ढकालका अनुसार जिल्लामा यस वर्ष मकै उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । गत वर्ष स्थानीय जातको मकै प्रतिहेक्टर ३.२ मेट्रिक टन र वर्णसंकर (हाइब्रिड) जातको ५.७ मेट्रिक टन उत्पादन भएको थियो ।
यस वर्ष स्थानीय जातको मकै प्रतिहेक्टर ३.३१ मेट्रिक टन र वर्णसंकर (हाइब्रिड) जातको ५.७८ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको ढकालले जानकारी दिनुभयो । यस वर्ष मौसमले साथ दिएका कारण पनि मकै उत्पादन राम्रो भएको उहाँले बताउनुभयो ।
कार्यालयले बिउबिजनबाहेक यान्त्रीकरण अन्तर्गत मकै रोप्ने तथा छोडाउने मेसिन, कुटानी–पिसानी मिल, हाते ट्याक्टर, विषादी छर्ने स्प्रेयरलगायतका सामग्री अनुदानमा उपलब्ध गराएको कार्यालयका वरिष्ठ प्राविधिक सहायक रत्नमणि ढकालले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)