होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमबासीलाई ५ दिनभित्र स्थान खाली गर्न निर्देशन
kalakarmi.com · Tue Jun 23 09:22:11 GMT 2026

काठमाडौं- कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा अस्थायी रूपमा आश्रय लिइरहेका सुकुमबासी तथा भूमिहीन परिवारलाई पाँच दिनभित्र स्थान खाली गर्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्देशन दिएको छ ।
समितिले सूचना जारी गर्दै आगामी शुक्रवार भित्र स्व–व्यवस्थापनमार्फत होल्डिङ सेन्टर खाली गर्न आग्रह गरेको हो । मनसुन प्रारम्भ भइसकेको र होल्डिङ सेन्टर खोला किनारमा रहेकाले बाढी तथा डुबानको जोखिम बढेको भन्दै यस्तो निर्णय गरिएको समितिले जनाएको छ ।
समितिका आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार होल्डिङ सेन्टर अस्थायी व्यवस्थापनका लागि मात्र निर्माण गरिएको हो । लामो समयसम्म त्यहाँ बस्दा आश्रित परिवारको दैनिक जीवन प्रभावित भएको तथा वर्षायाममा थप जोखिम बढ्न सक्ने भएकाले सुरक्षित स्थानमा सार्ने प्रक्रिया अघि बढाइएको उनले बताए ।
यसैबीच, सरकारले विस्थापित परिवारका लागि राहत तथा पुनर्स्थापना प्याकेजसमेत लागू गरेको छ । प्याकेजअनुसार प्रत्येक परिवारलाई कोठा खोज्न र प्रारम्भिक व्यवस्थापनका लागि एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराइनेछ ।
त्यस्तै, वास्तविक सुकुमबासी तथा घरबारविहीन प्रमाणित परिवारलाई मासिक १५ हजार रुपैयाँ घरभाडा सहयोग पनि प्रदान गरिने व्यवस्था गरिएको छ । भूमि आयोगमार्फत स्थायी व्यवस्थापन नहुँदासम्म उक्त सहयोग निरन्तर उपलब्ध गराइने समितिको भनाइ छ ।
समितिका अनुसार हाल काठमाडौं उपत्यकाका विभिन्न ६ वटा होल्डिङ सेन्टरमा ३८८ परिवार बसोबास गरिरहेका छन् । राहत रकम वितरणका लागि विशेष टोली परिचालन गरिएको र आवश्यक प्रक्रिया पूरा गरेपछि रकम बैंक खातामार्फत उपलब्ध गराइने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ