क्रियाशील अद्यावधिक नगर्नेलाई सम्मान गर्छौं तर पार्टी सदस्यका रूपमा चिन्दैनौं- गगन थापा
setopati.com · Tue Jun 23 09:25:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीले सदस्यका रूपमा नचिन्ने बताएका छन्।
पार्टीले क्रियाशील सदस्यहरूको विवरण डिजिटल बनाएको बताउँदै उनले सिस्टमले नै अब अद्यावधिक नगर्नेलाई पार्टी सदस्यका रूपमा नचिन्ने बताएका हुन्।
‘तपाईंहरूमध्ये कसैले क्रियाशील अद्यावधिक गर्नुभएको छैन भने मलाई क्षमा गर्नुहोला- अद्यावधिक नभएको कोही पनि साथीलाई नेपाली कांग्रेसले सम्मान गर्छ, माया गर्छ तर पार्टी सदस्यका रूपमा चिन्दैन। अब मैले के गर्ने? मैले व्यक्तिगत रूपमा चिन्छु, जय नेपाल भन्छु तर अब सिस्टमले नै चिन्दैन, भोट हाल्ने बेला नाम वडामा आउँदैन।’
उनले अब छिट्टै वडा अधिवेशन सुरू हुने बताए।
‘अद्यावधिक नगरेका साथीहरूको नाम अब वडा अधिवेशनका क्रममा आउँदैन, सिस्टमले नै चिन्दैन,’ उनले भने, ‘हामी लचिलो भएका पनि हौं, गएका ८/१० वर्षमा पार्टीलाई छियाछिया बनाइएको थियो, पार्टीलाई सुधार्छु भनेर संकल्प लिएर आएको बेलामा यो संकल्पको यात्रालाई ठेस पुर्याउने गरी आएका प्रस्तावहरूलाई नमानेर अघि बढ्ने हो।’
निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका कतिपय नेताहरूले क्रियाशील अद्यावधिक गरेका थिएनन्। कांग्रेसले निवेदन दिएर असार २० भित्र अद्यावधिक गर्न सक्ने समय पनि दिएको छ।
सभापति थापाले पार्टीको प्रतिष्ठालाई केन्द्रमा राखेर पार्टीलाई मिलाएर लैजाने पनि बताए। तर भागबन्डा नहुने उनको भनाइ छ।
‘दसौं लाख मानिस कांग्रेसलाई मत हाल्दै आएका छन्, उनीहरूको भरोसा जित्नुपर्दैन? तिनले भरोसा गर्ने पार्टी बनाउने हो कांग्रेसलाई,’ उनले भने, ‘साथ दिनुस् न, एक वर्षभित्र भरोसायोग्य पार्टी बनाउँछौं। घरघरमा जानुपर्छ, हामीहामी बसेर हुँदैन।’
उनले संस्थापनइतर पक्षले नमिल्दो माग राखेको संकेत गरेका थिए। १४ औं महाधिवेशनबाट आएको र विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई मर्ज गर्ने कुरा विधानविपरीत हुने र त्यो काम आफूले गर्न नसक्ने सभापति थापाले बताए।
१५ औं महाधिवेशन निष्पक्ष र पारदर्शी बनाउन सबै पक्षलाई समेटेर जान आफूहरू तयार रहेको सभापति थापाको भनाइ छ।
‘१४ औं महाधिवेशनका सबैलाई ल्याएर यहाँ मिसाउनुपर्छ भनेर नेताहरूले भन्नुहुन्छ भने क्षमा गर्नुहोला, त्यो म गर्न सक्दिनँ, मैले त्यो काम गरेँ भने मैले विधान मिचेको हुन्छ,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)