सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन: गगन थापा
nagariknews.nagariknetwork.com · Tue Jun 23 09:41:41 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले सदस्यता अद्यावधिक नगर्ने नेताहरूलाई पार्टीले सम्मान र माया गरे पनि उनीहरूलाई पार्टी सदस्यका रूपमा भने नचिन्ने स्पष्ट पारेका छन्। झापामा आयोजित कार्यक्रममा उनले पार्टीभित्रको इतर समूहका नेताहरूलाई संकेत गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्।
पूर्वसभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहका केही नेताहरूले सदस्यता अद्यावधिक नगरेको सन्दर्भ उल्लेख गर्दै थापाले पार्टी अब प्रणालीमा आधारित ढंगले अघि बढ्ने बताए।
उनले भने, “म सबै नेताहरूलाई सम्मान गर्छु, सबैले अधिवेशनमा सहभागी हुनुपर्छ भन्ने पनि ठान्छु। तर कसैले सदस्यता अद्यावधिक गर्नुभएको छैन भने क्षमा गर्नुहोला, पार्टीले सम्मान गर्छ, माया गर्छ, तर सदस्यका रूपमा चिन्दैन। अब सिस्टमले नै चिन्दैन।”
थापाका अनुसार अब पार्टीको सदस्यता व्यवस्थापन पूर्ण रूपमा प्रणालीमा आधारित हुनेछ र अद्यावधिक नगरेका व्यक्तिहरू क्रियाशील सदस्यको सूचीमा समावेश हुने छैनन्।
उनले वडास्तरको अधिवेशन सुरु हुँदा यसको प्रत्यक्ष प्रभाव देखिने उल्लेख गर्दै भने, “निर्वाचन प्रतिनिधिले सूची बोकेर आउँदा अद्यावधिक नभएका साथीहरूको नाम आउँदैन। सिस्टममै देखिँदैन।”
सभापति थापाले कांग्रेसमा नयाँ पुस्ताको नेतृत्व उदाउँदै गएको भन्दै त्यसप्रति आफू उत्साहित रहेको पनि बताए। उनले युवा पुस्तालाई पार्टीको भविष्यका रूपमा प्रस्तुत गर्दै पुरानो शैलीमा नेतृत्वमा अड्किएर बस्ने प्रवृत्तिले पार्टी अघि बढ्न नसक्ने टिप्पणी गरे।
उनले भने, “कांग्रेस चलाउन सक्ने नयाँ पुस्ताका एक से एक साथीहरू आएका छन्। उनीहरूलाई देखेर खुसी लाग्छ। अब यिनैले कांग्रेस सम्हाल्छन् भन्ने विश्वास छ। कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन।”
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)