होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई ५ दिनभित्र भवन खाली गर्न अल्टिमेटम, २५ हजार दिने आश्वासन
nepalviews.com · Tue Jun 23 09:37:17 GMT 2026

काठमाडौं । राजधानीका विभिन्न वस्तीबाट जबरजस्ती उठाएर कीर्तिपुरमा लगेर राखिएका सुकुम्वासीलाई सरकारले ५ दिनभित्र उक्त भवन नै खाली गर्न निर्देशन जारी गरेको छ ।
अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूलाई सोमबारदेखि शुक्रवारसम्म स्व: व्यवस्थापन गरी कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न भन्दै सूचना जारी गरेको हो ।
२०८३ वैशाख १२, १३, १८, १९ र २० गते काठमाडौं उपत्यका नदीका किनाराका वस्तीहरूबाट हटाएर उनीहरूलाई विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएको थियो । सरकारले उक्त वस्तीहरू हटाउँएपछि २ हजार ६०८ जनाले सुकुम्वासीको सूचीमा नाम दर्ता गराएका छन् ।
कीर्तिपुर होल्डिङ सेन्टरमा ६८ परिवारका २०३ जना बस्दै आएका छन् । प्रत्येक परिवारलाई स्व: व्यवस्थापनका लागि २५ हजार रुपैयाँ दिने भनिएको छ । उनीहरूलाई त्यहाँबाट हट्नुभन्दा पहिला उनीहरूको खातामा स्व: व्यवस्थापनका लागि पैसा हालिदिइने र स्व: व्यवस्थापन गर्न ५ दिन समय दिइएको सूचनामा उल्लेख छ ।
राहत प्राप्त गर्न खाता नम्बरसहित निवेदन पेस गर्न भनिएको सूचनामा निवेदन प्राप्त हुनसाथ स्व: व्यवस्थापनका लागि २५ हजार दिइने र त्यसपछि वास्तविक सुकुम्वासी प्रमाणित भएमा मात्रै मासिक १५ हजार दिइने भनिएको छ ।
नदी किनारमा बसेका सुकुम्वासीहरूलाई उचित व्यवस्थापन गर्ने भन्दै डोजर चलाएर उठाइएको सरकारले उनीहरूको उचित व्यवस्थापनका नाममा यो रकम दिएर अस्थाई रूपमा राखिएका भवनसमेत खाली गर्न भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ