अष्ट्रियाविरूद्धको खेलमा मेसीले बनाएका चार गिनिज वर्ल्ड रेकर्ड्स
nagariknews.nagariknetwork.com · Tue Jun 23 10:07:13 GMT 2026

अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीले विश्व फुटबलमा फेरि नयाँ इतिहास रचेका छन्। गिनिज वर्ल्ड रेकर्ड्सले सार्वजनिक गरेको विवरणअनुसार मेस्सीले एकैदिन फिफा विश्वकपसँग सम्बन्धित चार महत्वपूर्ण विश्व कीर्तिमान आफ्नो नाममा दर्ता गरेका छन्।
गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार मेस्सी अहिले फिफा विश्वकप फाइनल चरणमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। उनले हालसम्म विश्वकपमा कुल १८ गोल गर्दै यो कीर्तिमान कायम गरेका हुन्।
त्यसैगरी, उनले विश्वकपमा व्यक्तिगत रूपमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी को कीर्तिमान पनि बनाएका छन्। मेस्सीले अहिलेसम्म २८ खेल खेल्दै नयाँ उचाइ कायम गरेका छन्।
मेस्सीकै नाममा अब विश्वकपमा सबैभन्दा धेरै जित हासिल गर्ने खेलाडी को कीर्तिमान पनि दर्ता भएको छ। उनले विश्वकप इतिहासमा १८ जित हासिल गर्दै जर्मनीका पूर्व खेलाडी मिरोस्लाभ क्लोजेलाई पछि पारेका छन्।
यसबाहेक, मेस्सीले फिफा विश्वकपमा सबैभन्दा धेरै मिनेट खेल्ने खेलाडी को रेकर्ड पनि बनाएका छन्। उनले कुल २,४८९ मिनेट मैदानमा बिताएका छन्, जुन विश्वकप इतिहासकै सर्वाधिक हो।
गिनिज वर्ल्ड रेकर्ड्सले सामाजिक सञ्जालमार्फत “हामी इतिहासको साक्षी बनिरहेका छौं” भन्दै मेसीको उपलब्धिको प्रशंसा गरेको छ।
३९ वर्षको उमेर नजिक पुगेका मेस्सीले अझै पनि विश्व फुटबलमा आफ्नो प्रभुत्व कायम राख्दै महानतम खेलाडी (GOAT) को बहसलाई थप बलियो बनाएका छन्।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
फिफा