सीमासम्बन्धमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे विश्वप्रकाशले मागे रास्वपाको आधिकारिक धारणा
ratopati.com · Tue Jun 23 10:20:33 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपालले भारतको सीमा मिचेकोसम्बन्धमा दिएको प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आधिकारिक धारणा माग गरेका छन् ।
मंगलबार झापामा पार्टीको कार्यकर्ता भेलामा उपसभापति शर्माले प्रधानमन्त्रीले संसद्मा ‘नेपालले भारतको सीमा मिचेको छ’ भनी दिएको अभिव्यक्तिको सन्दर्भमा रास्वपाको आधिकारिक धारणा मागेका हुन् ।
‘रास्वपा मान्दछ कि नेपालले भारतको सीमा मिचेको हो ? यदि हो भने कहाँ मिचेको छ, दस्ताबेजमा लेखियोस्। होइन भने प्रधानमन्त्रीलाई त्यो अभिव्यक्ति फिर्ता लिन किन भनिएन ? के प्रधानमन्त्रीका अघिल्तिर रास्वपाको कुनै अर्थ छैन ? शर्माले भने ।
उनले रास्वपाको महाधिवेशन केवल नयाँ नेतृत्व चयनमा मात्र सीमित हुन नहुने बताए । ‘नेतृत्वमा को आउनुहुन्छ भन्ने सबैलाई प्रस्टै छ, तर रास्वपाले देशका गम्भीर मुद्दामा कस्तो नीति लिन्छ, त्यो महत्त्वपूर्ण हो,’ शर्माले भने ।
लोकतन्त्रको दुहाइ दिने रास्वपाले आफ्ना व्यवहारहरू सच्याउनुपर्ने शर्माले बताए । शर्माले नागरिकलाई विकल्प नदिई वर्षाको समयमा घर भत्काउनु र राष्ट्रपतिले संसद्मा बोलिरहँदा उठेर हिँड्नु कस्तो खालको सुसंस्कृत व्यवहार हो भनी प्रश्न गरे । ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनालाई मात्रै बहुमत मान्ने गरी ल्याइएको अध्यादेशले लोकतन्त्रको नयाँ परिभाषा खोज्न लागेको भन्दै शर्माले आपत्तिसमेत जनाए ।
शर्माले रास्वपा सरकारमा आएपछि भ्रष्टाचारको मुद्दा लाग्दा सांसद पद निलम्बन नहुने गरी नियमावली परिवर्तन गरिएकोमा आलोचना गरे । ‘पहिले भ्रष्टाचारको मुद्दा चल्दा सांसद निलम्बन हुन्थे, अहिले किन हुनु नपर्ने ? के रास्वपाको महाधिवेशनले यो सही हो भनी ठान्छ ?’ शर्माले प्रश्न गरे । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरणमा देखिएको ‘तोलाका तोला’ सुनको स्रोतबारे पनि रास्वपाको दस्ताबेज प्रस्ट हुनुपर्ने शर्माले बताए । ‘आफ्ना मन्त्री र प्रधानमन्त्रीलाई सम्पत्तिको स्रोत प्रस्ट पार्न निर्देशन दिने आँट रास्वपाको महाधिवेशनले गर्छ कि गर्दैन ?’ उनले भने।
शर्माले रास्वपालाई केवल सत्ता र शक्तिको खेलमा मात्र नअल्झिन र नयाँ पुस्ताले गरेको अपेक्षा अनुसारको राजनीतिक चरित्र प्रदर्शन गर्न सुझाव दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
बालेन शाह